
३० चैत, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले हिन्दु धर्मको फेरो समातेर फासीवादको यात्रामा अघि बढेको बताएका छन् ।
बुधबार बुटवलमा पार्टीको स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले भारतीय संस्थापन पक्षले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न एमालेको नेतृत्वमा हिन्दु धर्मलाई प्रयोग गर्ने प्रवृत्तिको विकास भएको टिप्पणीसमेत गरेका छन् ।
हिन्दु धर्मको आडमा एमालेले अघि बढाउन खोजेको राजनीतिक यात्राले एमालेलाई भारतीय संस्थापन पक्षको रणनीतिको नजिक पुर्याएको केसीले बताए ।
केसीले एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसंग गोप्य भेट गरेको भन्दै त्यही बेलादेखि एमालेले हिन्दु धर्मको एजेण्डा बोकेर हिँड्न थालेको टिप्पणी गरे ।
यसको परिणाम एमालेलाई नेपालका राजावादी शक्तिहरुको राजनीतिक लाइनको नजिक पुर्याएको केसीको दावी छ । नेपालमा हिन्दु राज्य र राजतन्त्र ब्यूँझाउन चाहेको भारतीय संस्थापनको रणनीतिमा एमाले सहयोगी बनेको केसीले बताए ।
अध्यक्ष केसीले स्थानीय तहमा एमालेलाई जिताउन भारतीय संस्थापन पक्षको सहयोग रहने समेत दावी गरे । एमालेबाट प्रतिगमनको खतरा कायमै रहेको भन्दै केसीले संविधान र गणतन्त्रको रक्षा तथा प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन बनेको बनेको स्पष्ट पारे ।
२८ बुँदे घोषणापत्रमा ग्रामीण विकास मन्त्रालय स्थापना, भ्रष्टाचारको रोकथाम, एकीकृत बस्ती विकास, भूउपयोग नीति निर्माण, सामाजिक सुरक्षा, स्रोत साधनको न्यायपूर्ण वितरण, इन्धन आपूर्तिको वैकल्पिक ब्यवस्था, स्थानीय तहको बेरुजु घटाउन, ग्रामीण पर्यटन विकास लगायतका विषय घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4