
२५ जेठ, काठमाडौं । दाङको जिल्ला समन्वय समिति (जिसस) निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् ।
कांग्रेसले प्रमुख, उपप्रमुख र ५ सदस्यमा उम्मेदवारी दिएको छ भने नेकपा माओवादी केन्द्रले २ सदस्यमा उम्मेदवारी दिएको छ ।
प्रमुखका लागि कांग्रेसका नित्यानाथ शर्मा र उपप्रमुखमा चेतना चौधरीले उम्मेदवारी दिएका छन् । जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने जिल्ला समन्वय समिति निर्वाचनबाट प्रमुख र उपप्रमुखसहित ९ जना चयन हुनेछन् ।
दाङको जिल्ला समन्वय समितिमा कांग्रेसको एकल बहुमत भए पनि गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएको कांग्रेस जिल्ला सभापति शंकर डाँगीले बताए । कांग्रेसले एक नगरपालिका र चार गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने दुई गाउँपालिकामा उपाध्यक्ष जितेको छ।
नेकपा एमालेले भने जिसस निर्वाचनमा उम्ममेदवारी नदिने भएको छ । घोराही र तुलसीपुर उपमहानगरपालिका मात्र जितेको एमालेले उम्मेदवारी नदिने भएको जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले बताए । दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका रहेका छन् । जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते तोकिएको छ ।
प्रतिक्रिया 4