
८ असार, सप्तरी । सप्तरीको राजविराजमा भारतीय दूतावासको सहयोगमा निर्माण सुरु भएको कन्या छात्रावासको भवन डेढ दशकभन्दा बढी भइसक्दा पनि तयार भएको छैन । भवन निर्माण अन्तिम चरणमा पुगेपछि रोकिएको छ ।
२०६२ सालमा भारतीय दूतावासको सहयोगमा राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छात्रालाई लक्षित गर्दै छात्रावासको निर्माण सुरु भएको थियो । २०६४ सालमै सम्पन्न गर्नुपर्ने ५५ कोठे छात्राबासको भवन निर्माण अन्तिम चरणमा पुगेर डेढ दशकदेखि रोकिएपछि यसबारे बुधबार सरोकारवालाले छलफल गरेका छन् ।
छलफलका सहभागीले निर्माणको अन्तिम चरणमा आएर काम रोकिनु र भारतीय दूतावासले समेत ध्यान नदिनु बिडम्बना भएको बताए ।
आर्थिक सहयोग गर्ने दूतावासले आफैं निर्माण समितिका संयोजक शेखर सिंहलाई तोकेको थियो । सिंह अहिले राष्ट्रिय सभा सदस्य छन् । दूतावासले निर्माणका लागि १ करोड ९६ लाख रुपैयाँ बजेट तत्कालिन जिल्ला विकास समितिमा पठाएको थियो ।
निर्माण समितिले तोकिएको बजेटभन्दा बढी खर्च भइसकेको जनाएको छ । भवनको झ्याल ढोका थप्न र रंगरोगन गर्न बाँकी रहँदा समितिले ३४ लाख रुपैयाँ बक्यौता रहेको र उक्त रकम आएलगत्तै भवन तयारी गरेर हस्तान्तरण गर्ने बताएको छ ।
सभासद् रञ्जित कर्णको अगुवाइमा बसेको बैठकमा अर्का सभासद रञ्जु ठाकुर, मविव क्याम्पसका प्रमुख राजीब मिश्र, पूर्व प्रमुख सर्वेशचन्द्र मिश्रसहित बिभिन्न राजनीतिक दलका नेताहरुले ठूलो लगानीमा बनेको भवन सञ्चालनमा ल्याउन आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4