
पुरानो मैलो टिसर्ट, काठमाडौंका गल्लीहरू चहार्दा धुलाम्ये भएको पाइन्ट, खुट्टामा फित्तावाल चप्पल, काँधमा पुरानो झोला, अनुहारमा निरसता, हातमा एक थान निवेदन। दबेको मलिन स्वरमा ‘सर मेरो निवेदन’ भन्दै आउने यी र यस्तै प्रकृतिका पात्रहरू देखिन्छन् वैदेशिक रोजगार विभागको प्राङ्गणमा।
निवेदनको व्यहोरा हुन्छ-
– ‘… रकम विदेश काममा पठाइदिन्छु भनी … वर्ष अगाडि लिएको तर हालसम्म नपठाएको र रकम फिर्ता पनि नगरेको, रकम फिर्ता माग्दा उल्टै धम्क्याउने गरेको’, ‘परिवारको सदस्य वा आफन्त विदेशमा गएको तर भनेको काम र तलब नपाएको’,
– ‘… महिनादेखि विदेशमा रहेको आफन्तले खाना न पानी भई थुनिएर बसेको, यथाशीघ्र उद्दार गरेर नेपाल फिर्ता ल्याउनुपर्ने’,
– ‘एउटा काममा भनी पठाएको, अर्कै काम गर्नुपरेको’,
– ‘भनेको भन्दा थोरै तलब पाएको’,
– ‘पठाउने व्यक्ति सम्पर्कविहीन भएको, पठाउने संस्थाले वास्ता नगरेको’ लगायत।
वैदेशिक रोजगारीको लागि जान चाहने र गएकाहरू सबैले नराम्रो नियति नै भोग्नु परेको छ भन्ने होइन। अधिकांशले त विदेशमा गएर भने बमोजिकै सेवासुविधा र तलब पाएर राम्रै कमाएका पनि छन्। परिवारको भरणपोषण गरेका छन्। आफ्नो र परिवारको रहर पूरा गरेका/गराएका छन्। उनीहरूले नै पठाएको विप्रेषणले मुलुकको विदेशी मुद्राको संचिति बढाएको छ। भुक्तानी सन्तुलनलाई बचाइराखेको छ। यस्तो विप्रेषण रकम आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा रु.६ खर्ब ३१ अर्ब १९ करोड रहेको छ। जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १३ प्रतिशत हुन आउँछ (आर्थिक सर्वेक्षण २०७८/७९)। वैदेशिक रोजगारीको यस्तो सुन्दर पक्ष रहेतापनि यस आलेखमा यही सुन्दर पक्षभित्र अटाउन नसकेकाहरूको बारेमा उल्लेख गरिनेछ।
वैदेशिक रोजगारी नेपाली श्रमिकको लागि रहर नभई बाध्यता हो। स्वदेशमा रोजगारीका अवसर प्राप्त गर्न नसकेर देश, परिवार, साथीसँगी र आफ्ना रहरहरूलाई तिलाञ्जली दिएर विदेशिएका छन् कैयौं नेपाली। वैदेशिक रोजगार विभागको २०७९ जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार यो आर्थिक वर्ष मात्र श्रम स्वीकृति लिएर विदेशिने नेपाली पुरुष ५ लाख २३ हजार ९५१ जना र महिला ४३ हजार २९३ जना समेत ५ लाख ७२ हजार २४४ को संख्यामा रहेका छन् भने श्रम स्वीकृति नलिई भिजिट भिसामा गई काम गर्ने वा अन्य माध्यमबाट विदेशमा गई लुकिछिपी काम गर्नेको संख्यात्मक विवरण उपलब्ध छैन।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ जना रहेका छन्। जसमध्ये उल्लेख्य संख्या वैदेशिक रोजगारीमा आवद्ध रहेका छन् नै। यति धेरै संख्यामा रोजगारीको सिलसिलामा विदेशिएका नेपाली पौरखी युवाहरूले विदेशमा गर्नुपर्ने मिहिनेत, दु:खकष्ट, घामपानी, साहुको रुखो व्यवहार भोग्नेहरूको मनका व्यथा स्तम्भकारले कति महसुस गर्न सक्ला र अभिव्यक्त गर्ला।
आफूसँग भएको जायजेथा साहुकोमा बन्धक राखेर चर्को ब्याजमा ऋण काढेर आफ्नो सुन्दर भविष्य खोजी दिन भनी विभिन्न म्यानपावर, व्यक्ति, समूहलाई भनेको रकम बुझायो, पासपोर्ट बुझायो भोलि उडाउँछु विदेश भन्छ त्यसपछि सम्पर्कमै आउँदैन। दिन बित्यो, महिना बित्यो, वर्ष समेत बित्न लाग्यो न विदेश पठाउँछ न तिरेको रकम फिर्ता दिन्छ। साहुले घरखेत लिलाम गर्छु भन्छ। रकम मात्रै भए पनि फिर्ता देउ भन्यो उल्टै धाकधम्कीको भाषा प्रयोग गर्छ। विभागमा उजुरी त लिएर आयो रकम बुझाएको न भौचर, न लिखत, प्रमाणको रूपमा छ त दबेको आवाज, मलिन अनुहार माथि उल्लिखित हुलिया।
कतिपयलाई जेनतेन विदेश त पठाउँछन् तर विदेशमा न भनेको काम दिन्छन् न भनेको तलब। महिनौं बित्यो तलब दिंदैन। यता घरमा खाने खर्च समेत सकियो। दिनहुँ घरमा आई साहुले ऋणको भाका नाघिसक्यो, समयमै साँवा–ब्याज तिरेनौ भने घरखेत नै लिलाम गरिदिन्छु भन्दै लगाउने बचन परिवारले फोनमा सुनाउँदा के सोच्दो हो परदेशीले। अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदार (करिब ७५ प्रतिशत) अदक्ष तथा सीपविहीन हुने गरेकाले निम्न स्तरका, कम ज्याला भएका र जोखिमपूर्ण काम गर्न बाध्य भई थप समस्यामा पर्ने गरेका छन्।
यी र यस्तै ठगिएका व्यहोराको निवेदन बोकेर विभागमा आउनेहरूको उजुरी संख्या रहेको छ चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा संस्थागत ठगी विरुद्धमा ९५१ वटा र व्यक्तिगत ठगी विरुद्धमा ५९० वटा। संस्थागत ठगी भन्नाले विभिन्न म्यानपावर व्यवसायीहरूबाट ठगिएका व्यक्ति/समूह हुन् भने व्यक्तिगत ठगी भन्नाले म्यानपावर व्यवसायी बाहेक विभिन्न एजेन्ट वा व्यक्तिहरूले व्यक्तिगत रूपमा विदेश पठाइदिने भन्दै ठगेका व्यक्ति/समूह हुन्।
विभागले यस्ता निवेदन उपर सोधपुछ, सम्पर्क, छलफल, अनुसन्धान र अन्त्यमा मुद्दा दायर गरेर विभिन्न चरणबाट पीडितहरूलाई न्याय तथा राहत दिने प्रयास गरिरहेको छ। असली पीडितहरू यस्ता आउँछन् जसको हातमा निवेदनको साथमा प्रमाणको रूपमा वेदना, रोदन र भोगाइ मात्र हुन्छ अरु प्रमाण वा लिखत केही हुँदैन। यस्ता पीडितहरूलाई विभागले छिटोछरितो माध्यमबाट न्याय दिलाउन हरसम्भव प्रयास गरेको हुन्छ। वैदेशिक रोजगार ठगीका मुद्दाहरू संक्षिप्त कार्यविधिबाट फर्स्योट गर्नुपर्ने कानुनी व्यवस्था समेत रहेको छ। अर्थात् वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता भएका मुद्दाहरू ९० दिनभित्र फर्स्योट गरिसक्नुपर्ने मान्यता छ। तर विभागमा कहिलेकाहीं नक्कली पीडित समेत आउने गर्दछन्। यस्ता नक्कली पीडितको संख्या पनि ठूलो छ।
यस्ता पीडितहरू विशेषगरी घरजग्गा कारोबारको नमिलेको हिसाब मिलाउन आइरहेका हुन्छन्। कुनै व्यवसायमा फसेको लगानी उठाउन खोजिरहेका हुन्छन्। अन्य कुनै कारोबारको राफसाफ गर्न नसकी वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम लिएको तर विदेश पठाउन नसकेको भनी कागज बनाएर वैदेशिक रोजगारी सम्बन्धी ठगी गरेको। यस्तो निवेदन लिएर आउने मानिस धेरै छन्। यसको भित्री रहस्य भनेको अन्य माध्यमबाट भन्दा वैदेशिक रोजगारीको ठगी मुद्दाको माध्यमबाट उक्त फसेको रकम उठाउन छिटो/छरितो हुने ठान्दछन्। किनकि वैदेशिक रोजगारी ठगीको मुद्दा सरकारवादी मुद्दा हुने गर्दछ।
नक्कली वैदेशिक रोजगार पीडित बनेर आउनेहरू माथि कानुनी कारबाही गर्ने यथेष्ट आधार त छैन तर विभागले सचेत गराएर फर्काउने गरेको छ। यस्ता नक्कली पीडितहरूले गर्दा विभागको कार्यबोझ निकै बढेको छ भने महत्वपूर्ण समय गैरपीडितहरूमाथि खर्च भएको छ। जसले गर्दा वास्तविक पीडितहरूलाई न्याय दिलाउनमा केही ढिलाइ हुन गई उनीहरूमाथि झन् पीडा थपिएको महसुस विभागले गरेको छ।
आम मानिसमा ज्ञानको कमि हो वा बाध्यता। अधिकांशले म कुन देश जाँदैछु, कति तलब पाइन्छ, गर्नुपर्ने काम के हो, के कस्ता सुविधा पाइन्छ भन्ने विषयमा सामान्य जानकारी समेत नलिई बिचौलियाहरूलाई रकम बुझाइहाल्ने गरेको देखिन्छ। कतिपय श्रमिक पत्रपत्रिकामा प्रकाशित सूचना हेरेर सम्बन्धित म्यानपावर व्यवसायीकोमा पुग्दा उनीहरूको निवेदन समेत नलिने गुनासो गर्ने गरेको पाइन्छ।
‘यो कम्पनीको कोटा फुल भइसक्यो, उतैबाट व्यक्ति तोकेर आएको हुन्छ, तपाईंहरू जान पाउनुहुन्न’ यस्तै जवाफ बोकेर फर्किनेहरूको जमात पनि ठूलो रहेको छ। वैदेशिक रोजगारीमा जाँदा स्वेदशमै ठगिनबाट जोगिन र विदेशमा पुगेर पनि भने बमोजिमको सेवासुविधा एवं काम नपाउने अवस्थाबाट बच्न कामदार आफैं सचेत र चनाखो बन्नुपर्ने हुन्छ।
वैदेशिक रोजगार विभागको वेबसाइट https://foreignjob.dofe.gov.np/ मा गएर आफू जान चाहेको देश, सेवासुविधा र म्यानपावरको बारेमा प्रारम्भिक जानकारी लिन सकिन्छ। भने अनुसारको काम र सेवासुविधा भएको श्रम स्वीकृति आयो आएन भनेर आफैंले https://dofe.gov.np/PassportDetail.aspx वा https://feims.dofe.gov.np/Individual-Login मा गई लगइन गरेर हेर्न पनि सकिन्छ। जसले गर्दा विदेशी भूमिमा गएर दु:ख पाउने अवस्थामा केही हदसम्म न्यूनीकरण हुन्छ।
कुनै पनि व्यक्तिले म फलानो म्यानपावरको व्यक्ति हुँ, म्यानपावरको अफिस जानै पर्दैन पासपोर्ट लेउ यति रकम लाग्छ भनेको भरमा पासपोर्ट र रकम बुझाउने गर्नुहुँदैन। उसको बारेमा केही बुझेर मात्र कारोबार गर्नुपर्दछ। उक्त व्यक्ति सम्बन्धित म्यानपावरको हो वा होइन भन्ने कुरा विभागको वेबसाइट https://dofe.gov.np/Recruting-Agences.aspx# मा गई उक्त म्यानपावरको नाम सर्च गरेर हेर्न सकिन्छ। जसको view भन्ने Option मा click गरेर उक्त म्यानपावरका संचालक, श्रम प्रतिनिधि वा कर्मचारीको नामावली हेर्न सकिन्छ। यी बाहेकका व्यक्तिहरू सम्बन्धित व्यक्ति नभई बिचौलियाहरू हुन् भनेर बुझ्न सकिन्छ।
वैदेशिक रोजगारीको लागि जाँदा लाग्ने रकम बुझाउँदा सकेसम्म बैंकिङ माध्यमबाट बुझाउनुपर्दछ– स्पष्ट रूपमा वैदेशिक रोजगारीको लागि भन्ने प्रयोजन खुलाएर। यदि यसो नभएमा सम्बन्धित म्यानपावर कम्पनीमा गई आधिकारिक व्यक्तिलाई बुझाएर त्यसको भर्पाई वा रसिद लिनुपर्दछ। कुनै पनि भर्पाई वा लिखत विना रकम बुझाएमा पछि भनेको काम र सेवा–सुविधामा विदेश नपठाएको खण्डमा उक्त व्यक्ति तथा संस्था उपर वैदेशिक रोजगारी विरुद्धको कसुरमा उजुरी गर्नको लागि प्रमाण पुग्दैन र न्याय पाउन कठिन हुन्छ।
वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि भिसा आइसकेपश्चात् प्रस्थानपूर्वको अभिमुखीकरण तालिम अनिवार्य रूपमा लिनुपर्दछ। दुई दिन दिइने तालिममा विदेश जाँदा ध्यान दिनुपर्ने विषय, सम्बन्धित मुलुकमा गइसकेपश्चात् ध्यान दिनुपर्ने र पालन गर्नुपर्ने विषय, कुनै कारणले समस्यामा परेमा सम्पर्क गर्ने संस्था तथा माध्यम र त्यहाँको भाषा तथा संस्कृतिको बारेमा सामान्य जानकारी दिइन्छ। यसबाट उक्त देशको सामान्य जानकारी प्राप्त गर्न सकिन्छ भने समस्यामा पर्दा कसरी कसलाई सम्पर्क गर्ने भन्ने विषयको समेत जानकारी पाइन्छ।
यी र यस्तै विषयको अलावा वैदेशिक रोजगार विभागको वेबसाइट, विभिन्न पत्रपत्रिका, रेडियो टेलिभिजनबाट प्राप्त हुने समाचार एवं आधिकारिक सूचना तथा जानकारीहरू समय–समयमा हेर्ने र बुझ्ने गर्नुपर्दछ। यस्ता विषयहरू हेर्न नजान्ने व्यक्तिहरूले परिवारका अन्य पढेलेखेका सदस्य वा आफन्तहरूबाट हेर्न र बुझ्न लगाउनुपर्दछ र जाने बुझेकाहरूले आफ्नो कर्तव्य सम्झी त्यस्ता व्यक्तिहरूलाई यी विषयमा जानकारी दिनुपर्दछ।
यदि कोही व्यक्ति वैदेशिक रोजगारीको सिलसिलामा कोही कसैबाट ठगिन पुगेमा वा विदेश पठाइदिन्छु भनेर रकम लिई नपठाएमा वा रकम फिर्ता नदिएमा वैदेशिक रोजगार विभागमा आई उजुरी निवेदन दिन सकिनेछ। यदि कोही व्यक्ति वा संस्थाले कसैलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम लिई वैदेशिक रोजगारीमा नपठाएमा त्यस्ता व्यक्ति/संस्थाहरूले लिए खाएको रकम र त्यसको पचास प्रतिशतले हुने रकम भराई तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद सजाय हुने गर्दछ। वैदेशिक रोजगारीको सिलसिलामा ठगिएका व्यक्तिहरूलाई विभागसँगै रहेको पिपुल्स फोरमले नि:शुल्क रूपमा कानुनी परामर्श दिने गर्दछ।
नेपालको वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ कार्यान्वयनमा रहेका छन्। यही ऐन र नियमावली अन्तर्गत रहेर वैदेशिक रोजगार व्यवसाय संचालन भएको छ। श्रमिकहरूको सेवा शर्तको रक्षा पनि यही ऐन तथा नियमावलीले गरेको छ। यसको मर्म विपरित कसैबाट भए गरेका क्रियाकलापहरू वैदेशिक रोजगार विरुद्धको कसुर गरेको मानिन्छ। यसको न्यायिक निरूपण गर्नको लागि स्वतन्त्र संस्था वैदेशिक रोजगार न्यायाधिकरण रहेको छ। वैदेशिक रोजगार न्यायाधिकरणले संक्षिप्त कार्यविधिको माध्यमबाट वैदेशिक रोजगार ठगी मुद्दाको न्यायिक फैसला गर्ने गर्दछ।
(लेखक वैदेशिक रोजगार विभागमा शाखा अधिकृतको रुपमा कार्यरत छन्।)
प्रतिक्रिया 4