
३० असार, काठमाडौं । जन्मने वित्तिकै बालबालिकालाई लगाइने क्षयरोग विरुद्धको ‘बीसीजी’ खोप ७८ प्रतिशतसम्म खेर गएको पाइएको छ ।
बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बीसीजी मात्रै होइन अन्य नियमित खोप पनि लाखौं संख्यामा खेर गएका छन् ।
आर्थिक बर्ष २०७७/७८ मा ‘बीसीजी’ खोप २० लाख ९५ हजार ३९८ डोज (७८.८) प्रतिशत, दादुरा रुवेला ९ लाख २७ हजार ५३३ डोज (४८.३) प्रतिशत, जेई ४ लाख ३६ हजार ४४६ डोज ( ४६.५) प्रतिशत, टीडी ४ लाख १३ हजार ३३३ डोज (३६) प्रतिशत, पेन्टा डीपीटी ४ लाख ६४ हजार १४२ डोज ( २२. २) प्रतिशत, पोलियो (ओपीभी ) ४ लाख ६३ हजार ५१४ डोज (२३. २) प्रतिशत खोप खेर गएको छ ।
महालेखा परीक्षकको ५९औं प्रतिवेदनले खोप कार्यक्रम मितव्ययी र कुशल रुपमा सञ्चालन नभएका कारण प्राप्त भएको खोप अस्वभाविक रुपमा खेर गएको औल्याएको छ । तर, बालबालिका लागि नियमित खोप लगाउँदा एकभन्दा बढी डोज भएको भाइल खोलेपछि उपयोग नभएका कारण ठूलो परिमाण खोप खेर गइरहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल बताउँछन् ।
बीसीजी २० डोजको भाइल, एमआर १० डोजको भाइल, जेइ ५ डोजको भाइल, पोलियो १० डोजको भाइल र टीडी १० डोजको भाइलमा आउने गरेको छ ।
खोप प्याकिङ गरेको भाइल खोलेपछि केहीघण्टा भित्र नै उपयोग गर्नुपर्ने उक्त खोप डोज अनुसार खपत नभएपछि धेरै संख्यामा खेर जाने गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
उनीहरुका अनुसार २० र १० डोज भएका भाइल उपयोग गरेर एक जनालाई मात्र खोप लगाउँदा क्रमशः १९ र ९ डोज खेर जाने गरेको छ । ‘खोप लगाउने बालबालिकाको अधिकार हो । खोप केन्द्रमा एक जना मात्रै खोप लगाउन आएमा फर्काउन मिल्दैन,’ डा. दाहालले भने,’ बीसीजी खोप २० डोजको भाइलमा आउँछ । एक–दुई जना बच्चा आए पनि बाँकी रहेको खोप खेर जान्छ ।’
उनका अनुसार सरकारको नीतिअनुसार खोप केन्द्रमा एउटा बच्चा आए पनि भाइल खोल्नुपर्ने हुन्छ । ‘खोप खेर जाने संख्यालाई कम गर्नुपर्ने हुन्छ । तर, नेपालको भौगोलिक अवस्थाको कारण खोप केन्द्रमा भाइल पठाउनुपर्ने भएकाले खेर गएको देखिन्छ’ दाहालले थपे ।
त्यसैगरी, बाल स्वास्थ्य तथा खोप शाखाका पूर्वप्रमुख डा. झलक शर्मा गौतम भौगोलिक विकटताको कारणले शहरी क्षेत्रको तुलनामा हिमाली तथा पहाडी क्षेत्रमा धेरै संख्यामा खोप खेर जाने गरेको बताउँछन् । ‘खोप खेर जान्छ भनेर बालबालिकालाई फर्काउन मिल्दैन । खोप समयमै पाउनु बालबालिकाको अधिकार हो,’ डा. शर्माले भने, ‘बालबालिकाको नियमित खोपमा एक भाइलमा २० डोजसम्म हुन्छ । जति धेरै डोज भएको भाइल भयो । त्यति नै बढी खेर जाने सम्भावना हुन्छ ।’
स्वास्थ्य सेवा विभागको अनुसार हाल नेपालमा १६ हजारभन्दा बढी खोप केन्द्र रहेका छन् । ‘बीसीजी खोप विश्व स्वास्थ्य संगठनले धेरै मात्रामा खेर जाने औल्याएको छ । यसरी हेर्दा खोप किन धेरै खेर फालेको जस्तो लाग्छ । तर, यसको वैज्ञानिक र व्यवहारिक पक्षलाई हेर्दा अस्वभाविक होइन’ डा. शर्मा थप्छन् ।
डा.गौतमका अनुसार नेपालको भौगोलिक अवस्थाका कारण जति धेरै खोप केन्द्र चलाइयो, त्यति धेरै खोप खेर जाने दर जान्छ । ‘बालबालिकाको नियमित खोप भाइल खोलेको ६ घन्टा भित्रमा लगाइसक्नुपर्छ,’ डा. शर्मा थप्छन्, ‘एक जना पनि बालबालिका खोपबाट बञ्चित नहुन भन्ने उदेश्यले भाइल खोल्नुपर्छ । बीसीजी २० डोजको भाइल बनाइएको छ, एक जनालाई खोप दिँदा १९ डोज खेर जान्छ ।’
महालेखा परीक्षकको प्रतिवेदनले खोप अस्वभाविक खेर गएको औल्याउँदै विगतका बर्षदेखि खोप लिने तालिका बनाई व्यवस्थापन गर्नुपर्ने औल्याउँदै आएको छ । ‘बालबालिकाको नियमित खोप अस्वाभिवक रुपमा खेर गएको छ । यस वर्ष पनि यो संख्यामा सुधार भएको छैन । यस्तो नोक्सानीलाई नियन्त्रण गरी स्रोत र साधनको मितव्ययी रुपमा परिचालन गर्नुपर्दछ’ प्रतिवेदनमा उल्लेख छ ।
खोप खेर जाने दर घटाउन लागि ‘मल्टिडोज भाइल पोलिसी’ अन्तर्गत तोकिएका केही मापदण्ड सही रूपमा कार्यान्वयन गरिएको खोप शाखाका प्रमुख दाहाल बताउँछन् ।
‘मल्टिडोज भाइल पोलिसी’ अन्तर्गत खोलिएको भाइल फिर्ता ल्याएर पाँच वटा मापदण्ड पूरा अवस्थामा केही घन्टापछि पुन प्रयोगमा ल्याउन सकिन्छ । यस्तो गाइडलाइन बनाएर लागू गरेका छौं । तर, अझै खोप खेर जाने प्रतिशत घट्न सकेको छैन’ दाहालले भने ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाको तथ्यांक अनुसार नेपालमा वर्षेनि एक वर्षभन्दा मुनिका ६ लाख २० हजार बालबालिकालाई १२ वटा रोग विरुद्ध नियमित खोप दिइने गरिएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार बालबालिका नियमित खोपको खर्च नेपाल सरकार र ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) दुवैले व्यहोर्ने गरेको छ ।
बीसीजी, पोलियो, दादुरा र रुबेला, टिभी, जेई विरुद्धको खोप नेपाल सरकार र डीपीटी, हेपाटाइटिस बी, पीसीभी, एफआईपीभी, रोटा, टाइफाइड खोप गाभीको सहयोगमा खरिद गर्ने गरेको छ । गाभीको सहयोगमा आउने खोपमा प्रतिडोज करिब २० सेन्ट तिनुपर्ने थापाले बताए ।
प्रतिक्रिया 4