+
+

अमेरिकी पार्टी प्यालेसमा झल्किएको नेपालीपन र मन

राजेन्द्र पन्थी राजेन्द्र पन्थी
२०७९ भदौ ३ गते १२:३३

अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत फेयरफ्याक्स काउन्टीको स्प्रिङ्फिल्ड शहरमा बस्ने एक नेपाली मित्रका सुपुत्रको उपनयन संस्कारको रिसेप्सन पार्टीमा सहभागी हुने अवसर पाएँ। उक्त पार्टीमा सहभागी भइरहँदा अमेरिकामा नेपाली डायस्पोराले जोगाएको आफ्नो मौलिकता र नयाँ पुस्तामा यसको प्रभावलाई पर्गेल्ने प्रयास गर्दैछु।

हाम्रो पूर्वीय सनातन धर्म–परम्परा अनुसार पालन गर्दै आएका १६ संस्कारमध्येको एउटा संस्कार उपनयन संस्कार हो। धर्मशास्त्र अनुसार आठ वर्षको उमेरमा ब्राह्मण, क्षत्री र वैश्य जातिले शास्त्रमा बताइएको विधि विधान अनुसार यज्ञोपवीत धारण गर्नुपर्छ भनिएको छ। तर अहिले आठै वर्षमा नगरेर विवाह पूर्व अनुकूल समय मिलाई गर्ने गरेको पाइन्छ।

आफ्नो कर्मभूमि अमेरिका बनाएका ती मित्रले सनातन धर्मशास्त्रमा बताइए अनुसार सम्पूर्ण विधिविधान पूरा गरी कर्म गरे। उनले धेरै नेपालीलाई निमन्त्रणा गरी बडो भव्य तरिकाले आफ्नो छोराको उपनयन संस्कार सम्पन्न गरे। नेपाली परम्परा, संस्कार र संस्कृतिको रक्षा, विकास र निरन्तरताको लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

उक्त रिसेप्सन पार्टीको उपस्थिति हेर्दा नेपालमै रहेको अनुभूति भयो। भूगोल अमेरिका भए पनि पार्टी प्यालेसभित्र नेपाल र नेपालीपन र नेपाली मन नै थियो। यहाँको उपस्थिति देख्दा जहाँ नेपाली त्यहाँ नेपाल भन्ने अनुभूति भयो। पाहुनाको लागि नेपाली गीत र संगीतमार्फत स्वागत सत्कार गरिएको थियो भने परिकार पनि नेपाली मौलिक हुनाले नेपाल नै पुगेको अनुभव गर्न पाइएको थियो। कुनै पनि देशको मौलिकता र पहिचान भनेको धर्म, भाषा, संस्कार, परम्परा, चालचलन नै हुन्।

आज नेपाली जाति नेपालमा मात्र सीमित नभई संसारभर नेपाली महाजाति भएर फैलिएको छ। संसारभर छरिंदा नेपाली पहिचान पनि फैलिएको छ र नेपाल र नेपालीको पहिचान पनि विस्तारित भएको छ। संसारको जुनसुकै कुनामा नेपाली पुगे पनि आफ्नो देशको मौलिक सामाजिक, सांस्कृतिक, धार्मिक र सांस्कारिक परम्परालाई निरन्तरता दिनु नै नेपाली हुनुको गौरव हो।

यस्ता विभिन्न किसिमका जमघट र सामाजिक, धार्मिक कार्यले विदेश बस्ने नेपालीलाई नेपालको झल्को र सम्झना दिने काम गर्छ। यसले नयाँ–नयाँ पुस्तालाई आफ्नो वास्तविक नेपालको मौलिक पहिचान जान्ने अवसर मिल्ने गर्छ।

संसारको सबैभन्दा पुरानो धर्म भनेको हामीले मान्दै आएको सनातन धर्म हो। सनातन धर्मलाई धेरैले अहिलेसम्म हिन्दु धर्म भनिए तापनि हिन्दु शब्द आयातित मानिन्छ। हाम्रो धर्मलाई हिन्दु धर्म भन्नुभन्दा सनातन धर्म भन्नुपर्छ भनेर धेरै विद्वानले भनेको पाइन्छ। सनातन धर्मका आफ्नै मूल्य, मान्यता, परम्परा र संस्कार छन्। सनातन धर्ममा पौराणिककालदेखि धेरै संस्कार मानिंदै पनि आइरहेको छ। त्यसमध्ये एउटा संस्कार हो- उपनयन संस्कार।

हामीले मान्दै आएका शास्त्रहरूमा बताइए अनुसार गर्भधारणदेखि मृत्युसम्मका मुख्य रूपमा जम्मा १६ संस्कारको पालना गर्नुपर्ने भनी उल्लेख गरेको छ। ती हुन्– गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडा, कर्णवेध, विद्यारम्भ, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह एवं अन्त्येष्टि।

शास्त्रहरूमा यी संस्कारको यथोक्त नियमपूर्वक पालना गर्नुपर्छ र यस्ता संस्कारहरूलाई वैदिक नियमद्वारा सम्पन्न गर्नु नै सनातनीहरूको मुख्य कर्म हो भनी उल्लेख गरिएको छ। यी संस्कारहरू कतिपय वैज्ञानिक छन् भने कतिपय परम्परा र विश्वासका आधारमा चलेका छन्। कतिपय संस्कारहरू हाम्रो संस्कृतिको रूपमा निरन्तर रहिरहेका छन् भने कति नाममा मात्र सीमित रहेका छन्।

कतै यिनैबाट विकृति पनि जन्मिएका छन्। हाम्रा यी सनातनीय संस्कारमा कहीं कतै कुनै जात र लिङ्ग भनी छुट्याइएको छैन भनिएको छ। समय वित्दै जाँदा कसैले आफू अनुकूल हुने गरी व्याख्या र विश्लेषण गरिएको पनि पाइन्छ। कुनै पनि धर्ममा रहेका संस्कार र संस्कृति भनेका विज्ञानको तुलोमा जाँचिने कुरा पनि होइनन्। यस्ता परम्पराले पुस्ता र समाजलाई जोड्न महत्त्वपूर्ण योगदान दिएको हुन्छ। विज्ञानको पछाडि अन्धो भएर दौड्नु भन्दा आफ्नो संस्कार र सभ्यतालाई पनि जोगाउनुतिर लाग्नुपर्छ।

समयले आफसेआफ स्वतस्फूर्त नै चाहिनेलाई राख्दै जान्छ भने नचाहिनेलाई छोड्दै जान्छ। आधुनिकताका नाममा नेपाली जहाँसुकै पुगे पनि हाम्रो सभ्यता र परम्परालाई मेट्नुहुँदैन। प्रवासमा अरु अभिभावकले पनि आफ्ना छोराछोरीको सबै किसिमका सांस्कारिक काम गर्‍यौं भने हाम्रो धर्म र परम्परा बाँचिरहन्छ।

आज पश्चिमी सभ्यताको प्रभावले कतिपय नेपाली संस्कार लोपोन्मुख हुँदै गएका छन् भने कतिपयलाई पैसाको लोभमा लोप पनि गराउँदै गएको देखिन्छ।

उपनयन संस्कारलाई व्रतबन्ध पनि भनिन्छ। धर्मशास्त्र अनुसार एउटा निश्चित बन्धन वा अनुशासनमा बाँधिनु नै व्रतबन्ध हो। हामीले मान्दै आएको परम्परागत मान्यता र विश्वास अनुसार शिक्षा, ज्ञान सीप प्राप्तिको लागि गुरु वा शिक्षकको समीपमा रहेर अध्ययनको सुरुवात गर्न मान्यता पाउनु नै उपनयन संस्कार वा व्रतबन्ध हो। व्रतबन्ध पछि के के गर्न हुने र नहुने भन्ने विधि र अनुशासनहरू रहेका छन्।

उपनयन संस्कार छोरा मान्छेले मात्र गर्ने चलन रहेको छ। यसमा जनै लगाउने र गुरुबाट दिएको विधान अनुसार गुरुमन्त्र सुन्ने गरिन्छ। जनै लगाउनुका थुप्रै वैज्ञानिक महत्त्व पनि रहेका छन्। संस्कृतमा जनैलाई यज्ञोपवीत भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको। जनै पौराणिक कालमा सुनको बनाउने गरिन्थ्यो कालान्तरमा चाँदीको र अहिले आएर धागोको बनाउन थालिएको भन्ने भनाइ रहेको छ।

जनै धारण गर्दा नाभि भन्दा माथि अथवा तल हुनुहुँदैन ठिक्क नाभिसम्म मात्र हुनुपर्छ भनिएको छ। सनातन दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो भनिन्छ।
जनैको बनोट र यसको धार्मिक र पौराणिक अर्थ अनुसार जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।

उपनयन भनेको जीवनलाई अनुशासित र मर्यादित रूपमा राख्नको लागि गरिएको शपथ पनि हो भनिन्छ। यो संस्कार नेपालमै पनि कतिपयले निरन्तरता दिएको पाइन्छ भने कतिपयले मान्न छोडेको पनि देखिन्छ।

सबै किसिमका जातजाति र सम्प्रदायले आफ्ना परम्परागत मौलिक मान्यतालाई संरक्षण गर्नुपर्छ। यस्ता मौलिकता भनेका देशका पहिचान हुन्। आजको २१औं शताब्दीलाई आधुनिक र वैज्ञानिक युग हो भनेर चिनिन्छ। आधुनिक युगका नाममा हाम्रो पहिचान र आस्थालाई हामीले गुमाउनुहुँदैन।

आज पश्चिमी सभ्यताको प्रभावले कतिपय नेपाली संस्कार लोपोन्मुख हुँदै गएका छन् भने कतिपयलाई पैसाको लोभमा लोप पनि गराउँदै गएको देखिन्छ। विदेशिएका नेपालीले आफ्नो धर्म र परम्परा रक्षार्थ समय मिलेसम्म र सामग्री पाएसम्म नेपाली धर्म, परम्परा र संस्कारलाई विधिसम्मत तरिकाले नै सम्पन्न गरेको पाइएको पनि छ।

प्रवासमा प्रायःजसो कुनै मेलापर्वमा भेला हुँदा लोग्नेमान्छेहरू नेपाली पहिरन दौरा, सुरुवाल, ढाकाटोपी र आइमाईहरू टीका, पोते, चुरा, ब्लाउज र साडीमा सजिनुले पनि नेपालीको संस्कारलाई बचाउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

नेपालबाट धेरै नेपाली संयुक्त राज्य अमेरिका आएर स्थायी अस्थायी रूपमा बसोबास गरेका छन्। नेपालीसित नेपाली पन र संस्कार आउने हुनाले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिलाई जोगाउने, बचाउने र मनाउने गर्नु सबैको दायित्व र कर्तव्य हो। यस विशाल अमेरिकामा नेपालीहरूले आफ्नो पहिचान र मौलिकतालाई अत्यन्तै सुझबुझ तरिकाले संरक्षण गरेको देखिन्छ। अमेरिकी बजारमा नेपालीका मौलिक खाद्य पदार्थ र लगाउने हरेक किसिमका कपडाहरू सहज रूपमा पाउने अवस्था छ।

प्रायःजसो ठूला शहरहरूमा नेपाली पसलहरू खुलेका छन्। ती पसलहरूमा गुन्द्रुकदेखि लिएर हरेक किसिमका नेपाली अचार, कोदाको पीठो, कर्णालीको चामल र दालसमेत पाइन्छ। नेपालीका पसलबाहेक यहींका पसलमा समेत नेपालको केही मौलिक उत्पादनले अमेरिकन बजार पाएको देखिन्छ। नेपालीको ज्ञान, सीप र क्षमता साथै नेपालको मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्ने हो भने यसको प्रशस्त बिक्री हुने सम्भावना देखिन्छ।

नेपाली नबोलेर अङ्ग्रेजी बोल्नुले र नेपाली धर्म नमानेर आयातित धर्म मानेर नेपाली बन्न सकिन्न। नेपालमा अझै पनि छोराछोरीलाई पनि निजी बोर्डिङ पढाउनुको मूल उद्देश्य भनेको अङ्ग्रेजी बोल्न सकून् भन्ने छ। तर यता अमेरिकामा बस्ने नेपालीहरूलाई आफ्ना छोराछोरीले नेपाली बोल्न सिकून् र जानून् भन्नका लागि अभिभावकहरूले नेपाली विद्यालयहरू सञ्चालन गरेका छन्।

स्वाभाविक रूपमा बच्चाबच्चीलाई नेपाली प्रयोग गरिएन वा सिकाइएन भने कतै बोल्न र बुझ्न नजानेर आफ्नो बाबुआमा र छोराछोरी बीचको नेपाली भाषामा कुराकानी नै नहुने हो कि भन्ने आशंका लागेर बच्चालाई नेपाली भाषा पढाएको पाइन्छ। अमेरिकाको टेक्सास, सिकागो, कनेक्टिकट, ओहायो, मेरिल्याण्ड, भर्जिनियामा संस्थागत रूपमा नेपाली समुदाय मिलेर नेपाली पाठशालाहरू सञ्चालन गरिएका छन्।

आजको नेपालको शैक्षिक विकासको पृष्ठभूमि निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष अन्धापण्डित स्व. केशवराज पौडेलको अत्यन्तै ठूलो भूमिका रहेको छ। मान्छेलाई चाहिने सबभन्दा ठूलो कुरा शिक्षा हो।

यी पाठशालाहरूमा आफ्नै पाठ्यक्रम र श्रव्यदृश्य सामग्री बनाएर नेपाली विद्यार्थीलाई नेपाली भाषाको साथै धर्म, संस्कार र संस्कृतिका बारेमा अध्ययन गराइन्छ। नेपाली पाठशालामा समय–समयमा नेपालका विभिन्न जातजातिले मान्ने सांस्कृतिक पर्वहरूको प्रस्तुति र प्रदर्शनी पनि गरिएको हुन्छ।

व्रतबन्धमा सहभागिता हुँदै गर्दा आयोजक कृष्णजीका पूजनीय हजुरबुवा प. केशवराज पौडेलको सम्झना मेरो मनमा आइरहेको थियो। यहाँ पनि उहाँको योगदानलाई स्मरण र चर्चा नगर्दा लेखनीको पूर्णता नहोला जस्तो पनि लाग्यो र लेख्ने प्रयास गरें। केशवराजले नेपालको गुरुकुल शिक्षा प्रणालीलाई विकास र विस्तार गर्न ठूलो योगदान दिएको देखिन्छ। वास्तवमा अहिलेको आधुनिक शिक्षाले जे जस्तो फड्को मारेको छ त्यसमा प्राचीन सनातन गुरुकुलीय शैक्षिक इतिहासको ठूलो भूमिका पक्कै रहेको छ।

केशवराज पौडेलको जन्म वि.सं.१९६५ को असारमा अर्घाखाँचीको मेहेलपानीमा (म्यालपानी) भएको हो। उहाँका पिताको नाम देवीराम र माताको गङ्गादेवी पौडेल हो। केशवराजको औपचारिक शिक्षा नभए पनि अनौपचारिक रूपमा खास मापदण्ड नभए पनि अहिलेको शिक्षासँग तुलना गर्दा संस्कृत कर्मकाण्ड र भागवतमा प्रखर विद्वान थिए। उनलाई सबैले गुरु भन्थे र अन्धापण्डितबाट प्रख्यात थिए।

नेपालको पश्चिम गुल्मी, अर्घाखाँची, प्युठान आदिमा केशवराजको योगदान रहेको देखिन्छ। केशवराजको चर्चा गर्दा खासगरी नेपालको गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ र दाङमा त्यसबेलाको शैक्षिक प्रणालीको विकासमा अहम् भूमिका देखिन्छ। ती जिल्लाका विद्यार्थीलाई जम्मा गरी शिक्षाको ज्योति फैलाई शिक्षाको जग बसाल्न महत्त्वपूर्ण भूमिका केशवराजको देखिन्छ। उनले औपचारिक रूपमा विद्यालय नै खोली शिक्षा प्रदान नगरे पनि त्यसको लागि गुल्मी, अर्घाखाँची र प्युठानका विभिन्न गाउँमा केन्द्र बनाई विद्यार्थी जम्मा गरी गुरुकुल र दलाने शिक्षा प्रदान गरेको पाइन्छ।

पुराणका प्रखर वक्ता पौडेलले लघुकौमुदी, कर्मकाण्ड, ज्योतिष आदि विद्या सिकाउनुहुन्थ्यो। नेपालमा त्यसबेला भर्खर आधुनिक शिक्षाको सुरुवात भए तापनि गाउँगाउँमा आधुनिक सरकारी विद्यालय नपुगेको अवस्थामा यस्तै किसिमको शिक्षा दिइन्थ्यो।

आफ्नै पिता देवीरामबाट अक्षरारम्भ गरेका केशवराजले अमरकोष, सप्तसती, रुद्री, लघुकौमुदी अध्ययन गरेका थिए। वि.सं. १९९० मा केशवराज अर्घाखाँचीको मेहेलपानीबाट बसाइँसराइ गरी गुल्मीको भन्भनेको नेटाखर्क आएका थिए। उनी २१ वर्षको उमेरमा पुराणका प्रखर वक्ता भइसकेका थिए। केशवराजले गाउँगाउँमा वैतनिक अवैतनिक रूपमा तत्कालीन समयमा विद्यार्थीलाई अक्षरारम्भ र कर्मकाण्ड सम्बन्धित कुराहरू सिकाएको उनकै चेलाहरूबाट सुन्न पाइन्छ।

उनकै कारण त्यसबेला शिक्षा प्रदान गरेका ठाउँहरू अहिले पनि शिक्षाको केन्द्र बनेको देखिन्छ। उनकै अर्ति–उपदेश र नैतिक शिक्षाले गर्दा समाजमा शिक्षाको महत्त्वको आवश्यकता महसुस भयो। चेतनाको विस्तार हुन थाल्यो। पढ्ने र पढाउने वातावरणको सुरुवात हुन थाल्यो। उनले त्यसबेलाको गुरुकुलीन शिक्षा प्रणाली अनुसार चण्डी, रुद्री, अमरकोष, लघुकौमुदी र पुराण साथै व्यावहारिक, नैतिक र धार्मिक शिक्षा सिकाउँथे।

बहुमुखी प्रतिभाका धनी केशवराजले पौराणिक र धार्मिक शिक्षा मार्फत चेतना जागृत गराउन ठूलो भूमिका निर्वाह गरेको देखिन्छ। आज पूर्वीय र पौराणिक साहित्यको प्रभाव र महत्त्व पुनः जागृत हुँदैछ। यसले आधुनिक वा पश्चिमी साहित्यसँग प्रतिस्पर्धा गर्दैछ। वेद, पुराण, भागवत र कर्मकाण्डका कुराहरू वैज्ञानिक आधारमा नै सत्य पुष्टि भइसकेको वर्तमान परिप्रेक्ष्यमा हिजोका यी र यस्ता विषयहरूको अध्ययन परम्परालाई इतिहासका सामग्री बनाउनुपर्ने देखिन्छ।

यस्ता विषय पढाएर समाजलाई आँखा देखाउने र पौराणिक र धार्मिक शिक्षामार्फत चेतना र व्यावहारिक संस्कार प्रदान गर्ने विशिष्ट प्रतिभाको राज्यले नै अनुसन्धान गरी सम्मान गर्नुपर्ने देखिन्छ। लामो समयसम्म गुरुकूल परम्परामा रहेर गुरुकुल शिक्षा दिएका शिक्षाका प्रेरणाका स्रोत केशवराजका १९९६/१९९७ सालमा मोतिबिन्दु लागेर दुवै आँखा बन्द भए।

त्यसपछि उनी अन्धापण्डितका नामले चिनिन थाले। उनी ज्ञानचक्षु पण्डित भए। ३२ वर्षको उमेरमा अन्धा भए पनि भागवतदेखि कर्मकाण्ड सबै कण्ठ थियो। २००३ देखि २०१५ सम्म केशवराज गुल्मीको भन्भने गैराखर्कमा बसेर गुरुकुल परम्परामा रही लामो समयसम्म शिक्षा दिए। त्यहाँ टाढा टाढाका विद्यार्थी गुरुसँग पढ्न आउँथे।

२००७ सालमा प्रजातन्त्र आए पनि शिक्षाको विकास २०१५ सम्म गाउँमा पुगेको थिएन। गुरुकुलीन शिक्षा नै प्रमुख शिक्षा थियो। पछि क्रमशः गाउँगाउँमा आधुनिक सरकारी विद्यालय खोलिन थालियो र आधुनिक शिक्षाको विस्तार हुन थालेको देखिन्छ र गुरुकुलीन शिक्षा प्रणाली केही ओझेल पर्‍यो। आधुनिक पश्चिमी शिक्षाको प्रभाव बढ्न थाल्यो। साँच्चै त्यस्ता मूर्धन्य प्रतिभाको योगदानका बारेमा धेरै अनुसन्धान गर्नुपर्ने देखिन्छ। इतिहास र परम्परा खोजिएन भने वर्तमान अपूर्ण हुन्छ र यस्ता प्रतिभाको शोधखोज गर्नु वर्तमान पुस्ताको कर्तव्य पनि हो।

प्राचीन शिक्षा प्रणाली र आधुनिक शिक्षा प्रणालीलाई जोड्न र तुलना गर्न कुनै व्यक्तिविशेषको योगदानको चर्चा गर्नुपर्ने देखिन्छ। नेपालको पश्चिमका विभिन्न जिल्लामा शिक्षाको जग नै नबसेको अवस्थामा आफूले अनौपचारिक शिक्षा प्राप्त गरेर अरूलाई पनि शिक्षित गराउनुपर्छ भनेर तत्कालीन परिवेश अनुकूल शिक्षा प्रदान गर्नु सामान्य पक्कै होइन। आजको नेपालको शैक्षिक विकासको पृष्ठभूमि निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष अन्धापण्डित स्व. केशवराज पौडेलको अत्यन्तै ठूलो भूमिका रहेको छ। मान्छेलाई चाहिने सबभन्दा ठूलो कुरा शिक्षा हो।

शिक्षाले मान्छेलाई चेतना दिन्छ र अवसरको खोजीमा जागृत गराउँछ। यस्ता ज्योतिपुञ्ज केशवराजको मृत्यु २०४१ को असोजमा रूपन्देहीको मक्रहरमा भएको थियो।
केशवराजका पनाति साइमन शर्मामा पनि जिजु हजुरबुवाका विद्वताका धेरै गुण र विशेषता स्वाभाविक रूपमा झल्किएको देखिन्छ। उनी सानै उमेरमा अङ्ग्रेजी भाषामा लेखिएको एउटा कथा सङ्ग्रहको कथाकारको रूपमा परिचित भइसकेका छन्। उनले लेखेको कथासंग्रह हो- सेभेन्टिन पेटल्स।

कृष्ण शर्माको उक्त निमन्त्रणामा केवल निमन्त्रणा मात्र मान्ने काम नभएर नेपाली डायस्पोराको अध्ययनको लागि संस्कृत साहित्यका प्रकाण्ड विद्वान पण्डित केशवराज र अङ्ग्रेजी भाषी नेपाली अमेरिकी कथाकार साइमन शर्माका बीचमा देखिने वंशानुगत गुणको विशेषता, पुस्तागत भाषाको प्रयोग, धार्मिक-सांस्कृतिक मान्यता, पूर्वीय र पश्चिमी सभ्यताको मिश्रित रूपमा देखिने स्वरूप शैली, विशेषता लगायतका थुप्रै विषय अध्ययनका सामग्रीहरू प्राप्त गर्ने मौका पनि मिल्यो।

(भर्जिनिया, अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?