
४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेसियाको लगानी भित्राउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेसियाका राजदूतसँग आग्रह गरेका छन् । मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेसियाको सरकारी तथा निजी क्षेत्रको लगानी भित्राउन तथा नेपालको हिमाली पर्यटनलाई इन्डोनेसियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गरेको नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेसियाको आवासीय दूतावास स्थापना गर्न इन्डोनेसियाको सरकारलाई आग्रह गरेका छन् । देउवाले इन्डोनेसियन जनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमण गर्न समेत आग्रह गरे ।
उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको बताउदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेसिया सरकारसँग आफूले पुर्याइदिने बताए ।
राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानी बाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए ।
आगामी अक्टोबर महिनामा इन्डोनेसियामा आयोजना हुन गइरहेको ट्रेड एक्स्पोको प्रवर्द्धन गर्ने क्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेसिया बीच दुई पक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले नेपाल भ्रमणका लागि इन्डोनेसियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीलाई इन्डोनेसिया भ्रमण गर्दा सहज वातावरण बनाउन अनअराइभल भिसा उपलब्ध गराउनेसम्बन्धी काम भइरहेको जानकारी गराए ।
प्रतिक्रिया 4