
१२ असोज, काठमाडौं । अनलाइनखबरकर्मी विजय पराजुली ५० हजार राशीको नाफिज–सीबीफीन बैकिङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आर्थिक पत्रकारहरुको छाता संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र र बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) का अध्यक्ष पवन गोल्यानले पराजुलीलाई नगद पुरस्कार र सम्मान पत्र हस्तान्तरण गरे । पुरस्कारको राशी ५० हजार नगद र प्रमाणपत्र छ ।
यो वर्षदेखि नियमित रुपमा दुई जना बैंकिङ विधाका पत्रकारलाई प्रदान गरिने नाफिज–सीबीफीन बैकिङ पत्रकारिता पुरस्कार यो वर्ष अनलाइनखबरकर्मी पराजुली र टक्सार म्यागसिजनका अनुप आचार्यलाई प्रदान गरिएको हो । पुरस्कृत हुने दुवै जनाले नगद ५०/५० हजार र प्रमाण पत्र प्रदान गरिन्छ ।
यस्तै एक लाख रुपैयाँ राशीको यो वर्षको शारदादेवी–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९ भने बिजमाण्डका खेमराज श्रेष्ठलाई प्रदान गरियो ।
प्रतिक्रिया 4