
२४ असोज, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यका भित्र प्रयोग भइरहेका सार्वजनिक संरचनाको नाप नक्सासहित ७ दिनभित्र उपस्थित हुन सरोकार पक्षलाई निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामूहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्था लगायतका सार्वजनिक प्रयोग भइरहेका भवनसँग सम्बन्धित जग्गा तथा नक्सा लगायतका कागजात सहित ७ दिनभित्र प्राधिकरणलाई उपलब्ध गराउन सरोकार पक्षलाई प्राधिकरणले भनेको छ ।
काठमाडौं उपत्यकाको शहरीकरण विषयमा मापदण्ड तय गर्ने, त्यसको कार्यान्वयन भए नभएको विषयमा निषेध गर्ने र नियन्त्रण समेत गर्ने अधिकार रहेको प्राधिकरणका प्रवक्ता नवराज प्याकुरेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणका एक कर्मचारीका अनुसार काठमाडौं महानगरले अनधिकृत संरचना हटाउन चलाएको अभियानसँगै प्राधिकरणलाई दबाव परेकोले सूचना निकालेर काम गर्न थालेको हो । ती कर्मचारीले भने, ‘हाम्रो कार्यालय सुतेकै जस्तो थियो, अब ब्युँझियो भन्ने बुझ्नुस् । काम गर्नका लागि सूचना निकालेका छौैं ।’
प्रतिक्रिया 4