
१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न नेपाली उत्पादन बढाउने र त्यसलाई स्वदेशमै उपभोगको व्यवस्था मिलाउने चुनावी प्रतिबद्धता जनाएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९ का लागि गत शनिबार कांग्रेसले सार्वजनिक गरेको आफ्नो घोषणा पत्रमा यस्तो प्रतिबद्धता जनाइएको छ ।
नेपाली उत्पादन वृद्धि गर्ने भौतिक पूर्वाधार विकास, नवीन प्रविधिको आन्तरिकीकरण, व्यावसायिक सहजीकरण र आद्यौगिक नियमनबारे स्थायी रणनीति अवलम्बन गरी आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गरिने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।
‘आयात प्रतिस्थापन तथा निर्यात प्रबर्द्धन गर्न नेपाल सरकारले हालै नेपाली उद्योग, नेपालमै रोजगार, आफ्नो उत्पादन, आफ्नै व्यापार भन्ने नाराका साथ सुरु गरेको नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमका प्रभावकारी कार्यान्वयन र विस्तार गरिने छ,’ घोषणा पत्रमा भनिएको छ, ‘मुलुकभित्र पाइने कच्चा पदार्थमा आधारित औद्योगीकरण आर्थिक वृद्धिको एउटा आधार बन्न सक्छ । स्वदेशी सिमेन्ट उत्पादनको वृद्धिले इङ्गित गरेझैं पानी, वन–जंगल र खनिजका सम्भावना नयाँ चरणबाट नै खोजिने छ ।’
कांग्रेसले उच्च लागतका कारण आयातित कच्चा तथा अर्ध–प्रशोधित पदार्थमा आधारित औद्योगीकरणबाट लाभ लिनसक्ने आधार कम रहेको पनि घोषणा पत्रमा औल्याएको छ । जमिनको मूल्य र ज्याला उच्च, कमजोर जनशक्ति, नीतिगत अनिश्चितता जस्ता विविध कारणले स्वदेशी र विदेशी लगानी निरुत्साहित भएको पनि कांग्रेसको ठहर छ ।
वस्तु निर्यातबाट भन्दा पनि अनलाइन करारमा आधारित सफ्टवेरमार्फत श्रम बिक्री गरेर नेपालले अधिक विदेशी मुद्रा आर्जन गर्न सकिने घोषणा पत्रमा उल्लेख छ । ‘गिग इकोनमी’सँग जोडिएर सफ्टवेर क्षेत्रमा टेकेर नेपालको डिजिटल रुपान्तरण गरिनु आवश्यक छ । सीमारहित नियमन खाका ल्याएर स्थानीय टेक कम्पनीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार हुन सहजीकरण गर्दै डाटा संग्रहकेन्द्र, डिजिटल नक्सा, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता क्षेत्रमा दूरगामी रणनीति बनाउने छौं’ कांग्रेसले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।
प्रतिक्रिया 4