
२२ कात्तिक, डोटी । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि डोटी जिल्लामा एक हजार ४२२ जना कर्मचारी मतदान केन्द्रमा खटिने भएका छन् ।
जिल्लाका १७८ मतदान केन्द्रमा ८ जना जगेडा कर्मचारीसहित एक हजार ४२२ जना कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जानकारी दिएको छ । जगेडा कर्मचारीहरूमा चार जना मतदान अधिकृत र चार जना सहायक मतदान अधिकृत रहेका छन्् ।
जिल्लामा एक सय १५ मतदान स्थल रहेका छन् । एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको डोटीमा एक सय ७८ मतदान अधिकृत, एक सय ७८ सहायक मतदान अधिकृत, आठ सय ८८ सहायक कर्मचारी र एक सय ७८ सहयोगी कर्मचारी मतदान गराउन खटाउन लागिएको हो ।
कर्मचारीहरुका असन्तुष्टि
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका विपरी कर्मचारी खटाउन लागेको भन्दै केही कर्मचारीहरुले असन्तुष्टि पोखेका छन् ।
निर्देशिकाले राजपत्र अनंकित पाँचौं र चौथो श्रेणीको कर्मचारीलाई मात्र सहायक कर्मचारी खटाउन सकिने व्यवस्था गरेको छ । यस्तै स्थायी कर्मचारी नभएमा मात्र करार तथा ज्यालादारीका कर्मचारी खटाउन सकिने, त्यतिले नपुगेपछि शिक्षक खटाउन सकिने व्यवस्था छ ।
तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यालय सहयोगीलाई सहायक कर्मचारी बनाएको, स्थायी कर्मचारीलाई नखटाएर जुनियर करार र ज्यालादारीका कर्मचारीलाई खटाएको आरोप कर्मचारीहरुले लगाएका छन् ।
कर्मचारीहरुले निजामती कर्मचारी हुँदाहुँदै शिक्षकहरुलाई खटाएको समेत आरोपसमेत लगाएका छन् ।
मुख्य निर्वाचन अधिकृत एवं डोटी जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले अपवादका रुपमा मतदान अधिकृतको सहजताका लागि मतदान अधिकृत कार्यरत कार्यालयका हलुका सवारी चालक सहायक कर्मचारीमा परेको हुन सक्ने बताए ।
प्रतिक्रिया 4