
काठमाडौं । नेवार सुन्दरीले यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका छन् । नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेवाः नेपाल, लिटिल नेवाः र किड क्वीनका सुन्दरीले यसरी यो पर्व मनाएका हुन् ।
बिहीबार दिनभर चामलको पिठो मुछेर, रोटी बनाई चाकु र खुवा राखेर यःमरि बेरेको दृश्य निकै रमाइलो देखिन्थ्यो । प्रशिक्षण हलमा नै बफ्याएर यःमरि पकाई एकअर्काका साथमा अतिथिहरुलाई चखाएका थिए ।
कहिले मिस नेवाः नेपालका विजेताले मिस लिटिल नेवाः र किड क्वीनहरुलाई यःमरि बनाउन सिकाएको र कहिले उनीहरुले मिस नेवाः नेपालहरुलाई सिकाएको दृश्य रोचक लाग्थ्यो । बीचबीचमा आयोजक समूह र अभिभावकले पनि उनीहरुलाई यःमरि बनाउन सिकाएको देखिन्थ्यो । भिन्नभिन्न समूहले बनाएको यःमरिको आकार पनि फरक-फरक बनेको देखिन्थ्यो ।
आयोजक हेमा मानन्धरले यःमरि पुन्हि नेवारी चाडपर्वमध्येको महत्वपूर्ण भएकाले हरेक वर्ष यःमरि पुन्हिका अवसरमा नेवार सुन्दरीलाई यःमरि बनाउन सिकाएर र एकअर्कालाई खुवाएर यो दिवस मनाउने गरेको बताइन् । यःमरि संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न आफूहरूले यो कार्यक्रमलाई निरन्तरता दिएको उनको भनाइ छ ।
‘हिजोआज कतिपय नेवारको घरमा यःमरि बनाउँदैनन् । जसले गर्दा यो संस्कृति नै लोप हुने खतरा बढेको छ । संरक्षणका लागि हामीले हरेक वर्ष यो कार्यक्रम गर्दै आएका हौं,’ मानन्धरले भनिन् ।
प्रतिक्रिया 4