
१ पुस, चितवन । चितवन गार्डेन रिर्सोटलाई ३ लाख रुपैयाँ जरीवाना गर्न जिल्ला बजार अनुगमन समितिले सिफारिस गरेको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको अनुगमन समितिले सो रिसोर्टलाई ३ लाख जरीवाना गर्न सिफारिस गरेको हो ।
समितिले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६(२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेको सोही ऐनको दफा ३९ को १ (ख)अनुसार अधिकत्तम ३ लाख जरीवाना तिराउन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष सिफारिस गरेको हो ।
उक्त सिफारिसबारे आइतबार चितवनका प्रजिअ आस्मान तामाङले यसबारे निर्णय लिने समितिले बताएको छ ।
अनुगमन समितिले होटलले गरेको लापरबाहीपूर्ण कार्यका ७ बुँदे कैफियतका आधारमा जरीवाना सिफारिस गरेको हो । अनुगमन समिति समक्ष होटल सञ्चालकहरुले सिल खोलिदिन र ७ दिनको समय दिन माग गरेको शर्माले बताए ।
गत २३ मंसिरमा आयोजित बिहेभोजमा सहभागी भएका दुवै पक्षका झण्डै ३ सय जनाले खाना खाएपछि बिरामी भएका थिए ।
भरतपुरको नेशनल सिटी अस्पतालमा झाडापखला, बान्ता तथा रिगंटा लागेर भर्ना भएका बिरामीहरुबाट गरिएको नमूना परीक्षणमा उनीहरुले दिसामा पाइने इकोलाई भन्ने ब्याक्टेरिया पाइएको पुष्टि भएको शर्माले बताए ।
‘होटलले खानामा गम्भीर लापरबाही गरेको रहेछ, दिसामा पाइने ब्याक्टेरिया नै भएको पुष्टि भयो’ सहायक प्रजिअ शर्माले भने, ‘नपाकेको खाना, दही, सलाद, पानीपुरी, अचार आदीमा त्यस्तो ब्याक्टेरिया भएको हुनसक्छ ।’
फिजिसियन डा. भोजराज अधिकारीले इकोलाई ब्याक्टेरियाले आन्द्रामा भएको म्यूकोजालाई असर गर्ने त्यसले झाडापखला लाग्ने कार्य गराउने बताए ।
होटलले बिरामी भएर अस्पताल भर्ना भएकाहरुको उपचार गर्दै आइरहेको छ । धेरै जसो बिरामीहरु उपचार पछि घर फर्किएका छन् । होटललाई गत २७ मंसिरमा सिल गरिएको छ ।
प्रतिक्रिया 4