
काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना गर्ने भएको छ । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा २९ पुसदेखि १ माघसम्म एक्सपो आयोजना हुने भएको छ । एक्स्पोको अघिल्लो दिन बिहीबार ज्वेलरी फेशन शो समेत आयोजना गरिने संघले जानकारी दिएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् ।
ज्वेलरी फेशन शोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले नेपाली पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिने संघले जनाएको छ । होटल याक एन्ड यतिमा बिहीबार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ गर्न लागेका हुन् । निःशुल्क रुपमा प्रवेश पाइने जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रबार होटल याक एन्ड यतिमा १२ः ३० मा हुने तय भएको छ । एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चालु रहने छ ।
एक्स्पो संयोजनक शक्तिकुमार बेगानका अनुसार ज्वेलरी फेशन शो’ मा भारतीय सिने अभिनेतृ मलैका अरोरा नेपाली पोशाक र आभूषणमा र्याम्पमा प्रस्तुत हुँदा आरबी डाइमण्ड ज्वेलर्स प्रालि, गणपति ज्वेलर्स नेपाल प्रालि, सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्वीन्स ज्वेल्स् प्रालि, धनश्री ज्वेलर्स, डीसी डाइमण्ड प्रालि आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरुले फेशन शो गर्नेछन् ।
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले चालु पूँजी कर्जा संशोधनले तात्विक असर नगरेको र कर्जा ब्याजदर एकल बिन्दुमा झारेमा मात्र गरगहनाको लागतमा कम पर्न गइ मूल्य घट्न जाने बताए । १५ लाख जना यो व्यवसायसँग अप्रत्यक्ष रुपमा आश्रित रहेको र २५ हजारवटा आउटलेट रहेको यो व्यवसायले वार्षिक १० अर्बको राजस्व बुझाउँदा पनि अनुत्पादक क्षेत्र भनेकोमा उनले गुनासो गरे ।
हिरा, जवाहरात आदि बहुमूल्य रत्न तथा पत्थरको वहुमूल्य आभूषण उत्पादन एवं कारोवार गर्ने नेपाल रत्न तथा आभुषण संघ (नेग्जा) ले नेपाली पत्थरको प्रबर्द्धनका लागि पनि एक्स्पो सहायक सिद्ध हुने जनाएको छ । काइनाइट, ट्रुमिलिन जस्ता नेपाली पत्थरका साथ नेपाली शैलीका नेपालमा उत्पादिन गरगहनाको माग विदेशमा वढाउन र विदेशमा छरेर रहेका नेपालीहरुको ध्यानआकृष्ट गराउनका लागि एक्स्पोको आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रतिक्रिया 4