
१८ जेठ, काठमाडौं। उपत्यका विकास प्राधिकरणले तयार पारेको काठमाडौं उपत्यकाको बृहत्तर गुरुयोजनाको प्रारम्भिक प्रस्तावमा स्थानीय तहका जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन्।
प्राधिकरणले उपत्यकाको गुरुयोजनाको विषयमा काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि, शहरी विकास क्षेत्रका विज्ञ र सरोकारवालाहरुलाई जानकारी गराउन बिहीबार कार्यक्रम आयोजना गरेको थियो ।
जनप्रतिनिधिहरुले स्थानीय तहसँग छलफल नगरी र आवश्यकता नबुझए ल्याएको गुरुयोजनाप्रति आफूहरुको सहमति नभएको भन्दै विरोध जनाए। बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले राय, परामर्श नलिई गुरुयोजना ल्याउँदा कसरी लागु गर्ने भन्दै प्रश्न गरेकी थिइन् । ‘विना परामर्श, छलफल यो यहाँ बनाउने भन्दै सुनाउनुको अर्थ छैन’, लामाले भनिन् ।
चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपत्यका विकास प्राधिकरणले ल्याएको अगाडिका अयोजनाहरु अलपत्र परिरहेको अवस्थामा नयाँ योजनाको ल्याउन नमिल्ने बताए ।
‘प्राधिकरणले पहिले योजना बनाएको स्मार्ट सिटी नै अलपत्र अवस्थामा छ, फेरि यो गुरुयोजना भनिएको छ, लागु कसरी हुन्छ ?’ खत्रीले प्रश्न गरे। उनले स्मार्ट सिटीको नाममा उपत्यका विकास प्राधिकरणले जग्गा रोक्ने र पर्दा पछाडि खोल्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे।
गोदाबरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गुरुयोजनाको प्रस्ताव अगाडि जनप्रतिनिधिहरुसँग छलफल गर्नुपर्ने बताए। ललितपुरका बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले उपत्यकाले गरेको प्रदूषित बागमती नदीको असर गाउँपालिकामा पर्ने भएपनि गुरुयोजनामा गाउँपालिका समेट्न नखोजेको बताएका थिए।
‘उपत्यकामा ३ वटा गाउँपालिका पनि छ, नगरहरुको मात्रै कुरा गरेर हुँदैन, गाउँपालिकाहरुलाई समेट्न नै खोजिएको छैन, यसरी गुरुयोजना आउनु हुँदैन’, लोप्चनले भने ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गुरुयोजनाबारे पालिका पिच्छे नै अन्तर्क्रिया हुनुपर्ने बताए । उनले भने, ‘गुरुयोजना ल्याउनु भयो, ठीक छ, अगाडि बढाउनुस तर त्यो काम गर्ने र रिजल्ट आउने खालको हुनुपर्छ । यसको लागि पालिका, पालिकामा गएर छलफल गर्न पनि पर्छ ।’
उनले गुरुयोजनाले दिगो उपत्यकाका विषयमा सोच्नुपर्ने बताए । ‘मेलम्चीको पानी ल्याएर काठमाडौंमा कति दिगो हुन्छ, भुकम्पीय जोखिम यस्तो छ, गुरुयोजनाहरुमा यो विषय प्रवेश गर्नप¥यो नि’, उपत्यका मेयर्स फोरमका अध्यक्ष रहेका महर्जनले भने । उनले सम्पदा र विकाससँग सँगै जानुपर्ने तर्क गरे ।
शहरी विकास मन्त्री सीता गुरुङ पनि प्राधिकरणको गुरुयोजनाप्रति सकारात्मक भइनन् । उनले टिप्पणी गरिन् ‘सुन्नको लागि मात्रै सुन्दर भएर हुँदैन, कार्यान्वयन हुँदा पनि सुन्दर हुुनुपर्छ । बनाउनको लागि मात्रै बनाएको जस्तो देखिएको छ,’ मन्त्री गुरुङले टिप्पणी गरिन् । पहिलेको काठमाडौं र अहिलेको काठमाडौं अब बन्ने काठमाडौं उपत्यकाको विषयमा थप अध्ययनको आवश्यकता रहेको बताइन् ।
शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले गुरुयोजनाको बारेमा छलफल गर्न ढिला भएको बताए । ‘काठमाडौं उपत्यकाका ठाउँ अहिले खाली नै छैन, यतिबेला कस्तो बनाउने भनेर गुरु योजना आउँदा ढिला भइसकेको छ । अब व्यवस्थापन सहितको योजनातिर ध्यान दिनुपर्ने हुन्छ’, सचिव श्रेष्ठले भने ।
अब चरणबद्ध छलफल गर्छौं : आयुक्त
उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले चरणबद्ध रुपमा वडादेखि पालिका र प्रदेश तथा संघका जनप्रतिनिधिहरुसँग पनि छलफल गरिने बताएकी छिन् ।
‘हामीले अहिले भर्खरै सुझावको लागि अन्तर्क्रिया गरेका हौं, यो नै अन्तिम रुप होइन’, ढकालले अनलाइनखबरसँग भनिन् ‘काठमाडौं उपत्यकाको दीर्घकालीन रुपमा कसरी व्यवस्थापन गर्ने भनेर हामीले परामर्शदाता मार्फत बृहत्तर गुरुयोजना बनाउन छलफल थालेका हौं । पालिकासम्म छलफल गरेर मात्रै टुंग्याउँछौं ।’
प्रतिक्रिया 4