
४ साउन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाको अर्खाबाङ्गमा उत्पादित रैथाने आलुलाई ब्राण्डिङ, लेवलिङ र प्याकेजिङ गरी बजारमा ल्याइएको छ । परम्परात रुपमा पुरानै शैलीमा उत्पादित स्थानीय जातको आलुलाई व्यवस्थित रुपमा बजारीकरण गर्न ब्राण्डिङ, लेवलिङ र प्याकेजिङ गरी बजारमा ल्याइएको हो ।
‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने नाराका साथ गाउँपालिका र कृषि ज्ञानकेन्द्रले प्रवर्द्धन गरी आलुको ब्राण्डिङसहित सार्वजनिक गरिएको हो । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला ससन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्रीले आलुको ब्राण्डिङ, लेवलिङ र प्याकेजिङ सर्वजनिक गरे ।
आलुको प्याकेज सार्वजनिक गर्दै समन्वय प्रमुख खत्रीले गाउँपालिकाले अब दीर्घकालीन योजना बनाएर आलुखेती र बजारीकरणमा ध्यान दिनुपर्ने बताए । स्थानीय जातको रैथाने आलुलाई मालिकाको पहिचान रैथाने र अर्गानिक आलुको उत्पादन भन्ने ब्राण्ड राखेर ५ केजी, १० केजी र २० केजीका बोरामा प्याकेज गरेर बजारमा ल्याइएको छ ।
हाल मालिकाको आलु गुल्मी जिल्लासँगै बुटवल काठमाडौंसम्म पुर्याउने लक्ष्य लिइएको छ । आलुको ब्राण्डिङसँगै किसानहरुमा उत्साह जगाएको अगुवा कृषक ज्ञानकुमार बुढामगरले बताए । आलुलाई ब्राण्डिङ गरी बजारमा पुर्याउँदा कृषकले कहाँ लगेर बेच्ने भन्ने चिन्ता पनि अत्य भएको बुढामगरले बताए । मालिका गाउँपालिकाको अर्खबाङ्ग क्षेत्र आलुका लागि प्रसिद्ध ठाँउ हो ।
आलुको लागि उपयुक्त हावापानी हुदाँ यहाँ थोरै मेहनतमा धेरै आलु उत्पादन हुदैं आएको छ । अर्खाबाङ्गका स्थानीयले वषौंदेखि बारीमा बिउ नरोपी फलाउँदै आएको वर्षे आलु कृषिको आधुनिकीकरण नाममा लोप हुने अवस्थामा पुगेपछि त्यसलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
रैथाने सेतो आलु एक वर्ष लगाएपछि वषौं लगाउन नपर्ने यस ठाउँको विशेषता रहेको छ । अर्खाबाङ्गका कृषकले उत्पादन गर्दै आएको रैथाने आलुलाई स्थानीय पहिचाहनका लागि ब्राण्डिङ गरेर बजारमा ल्याइएको भण्डारीले बताए ।
कृषकहरुलाई उत्पादनसँग जोडिरहन र उपजको मूल्य वृद्धि गर्न स्थानीय जातको आलु प्याकेज गरिएको मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए । स्थानीय जातको आलुलाई ब्राण्डिङ गरेर बजारमा ल्याउँदा बजारीकरणमा सहज हुने र परनिर्भरता घटाउन मद्दत पुग्ने अपेक्षा ज्ञानकेन्द्रले लिएको छ ।
आलु खेतीमा राम्रो सम्भावना देखेपछि मालिका गाउँपालिकाले यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरी विभिन्न किसिमका कार्यक्रम अगाडि बढाइएको छ । पालिकाको वडा नम्बर ३ ह्वाङ्दी र वडानम्बर ४ अर्खबाङ्गसँगै गाउँपालिकाका अन्य वडाका केही स्थानलाई लक्षित गर्दै यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरिएको हो ।
यस वर्ष मालिका गाउँपालिकाको करिब ६६० रोपनी आलु पकेट क्षेत्रमा ३ सय टन भन्दा धेरै आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र गुल्मी, मालिका गाउँपालकाले किसानलाई आलु खेती तर्फ आकर्षित गराई व्यावसायिक बनाउन अनुदानमा बीउ वितरण गर्ने, विषादी तथा औजार उपलब्ध गराउने काम गर्दै आएको छ ।
प्रतिक्रिया 4