+
+

माओवादीको बैठकमा दस्तावेज विनै छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १८:१६

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको बुधबार सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लिखित दस्तावेज विना नै छलफल सुरु भएको छ ।

पटकपटक तोकेर पनि बस्न नसकेको केन्द्रीय समिति बैठक बुधबारदेखि बस्ने लामो समयअघि नै निश्चित भएको थियो । तर पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारीको सहयोगमा तयार पार्दै गरेको राजनीतिक र सांगठनिक दस्तावेज विना नै केन्द्रीय समिति बैठकमा छलफल सुरु भएको छ ।

बैठकमा सहभागी सबै केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न विभाग र आयोगका पदाधिकारीले बोल्न चाहेमा समय माग गरेर पाँच मिनेट समय बोल्न पाउने व्यवस्था गरिएको छ । बैठक सुरु भएपछि महासचिव देव गुरुङले पेस गरेको एजेन्डा र पार्टी अध्यक्ष प्रचण्डले राखेको दस्तावेजको मौखिक स्वरूपकै आधारमा केन्द्रीय समितिमा छलफल सुरु भएको छ ।

बैठकको पहिलो दिन ७४ जना सहभागीले बोल्नका लागि नाम टिपाएकामा १८ जनाले धारणा राखेका छन् । बैठकमा दस्तावेजले अझै पूर्णता नपाएको भन्दै दोस्रो दिन लिखित दस्तावेज सबैलाई उपलब्ध गराउने भनिएको छ ।

प्रतिवेदनहरू मस्यौदा गर्नका लागि पदाधिकारीहरूलाई जिम्मेवारी दिएको भए पनि अध्यक्षले सरकारको समेत काममा ध्यान दिनु परेकाले पूर्णता पाउन समय लागेको नेताहरूको भनाइ छ ।

पदाधिकारी बैठकले प्रतिवेदनमा सुझाव संकलन र टिपोटका लागि पदाधिकारीहरूमा उपाध्यक्ष र उपमहासचिवलाई जिम्मेवारी दिएको थियो । राजनीतिक प्रतिवेदनका लागि उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्नि सापकोटा र उपमहासचिव वर्षमान पुनलाई जिम्मेवारी दिएको थियो । यस्तै सांगठनिक प्रतिवेदनका लागि महासचिव देव गुरुङ र उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मालाई जिम्मेवारी दिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?