
सुवासजी र मेरो २०३० साल साउनताका पहिलो भेट भएको हुनुपर्छ । उहाँ र मैले आ–आफ्नो ढंगले विभिन्न क्याम्पसबाट स्नातक गरेका थियौं । हामी दुवै जना त्यतिबेला प्रदर्शनीमार्गको नेपाल ल क्याम्पसमा पढ्न आएका थियौं ।
करिव एक/दुई सातामै हाम्रो घनिष्ठ मित्रता भइसकेको थियो । त्यतिबेला टेकबहादुर चोख्याल (पूर्वमन्त्री), भरतराज उप्रेती(दिवंगत), वेदप्रसाद शिवाकोटी, बिए कुमार शर्मा, जगदीश शर्मा पौडेल, नारायण दाहाल लगायतको टोली थियौं । अर्को प्रविणकुमार ढुंगाना हुनुहुन्थ्यो, जो ठेक्कापट्टातिर लाग्नुभयो ।

हामी भन्दा ६ महिना पहिले सर्वोच्च अदालतमा अर्को ब्याच भर्ना भएको थियो, त्यो टोलीमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ हुनुहुन्थ्यो । पछि दुवै व्याचलाई मिसाएर एउटै बनाइयो, हामीले करिव एक वर्ष सँगै पढ्यौं । उहाँहरु १२/१५ जना हुनुहुन्थ्यो, हामी पनि त्यस्तै नै थियौं । उहाँहरु र हामी एउटै बेञ्चमा बसियो, एउटै डेस्कमा राखेर लेखियो ।
कानूनको अरु कोर्स ३ वर्षको थियो । तर हामीहरु विभिन्न विषयमा स्नातक गरेर आइसकेका कारण कतिपय विषय दोहोर्याएर पढ्नुपरेन र हामीहरुलाई ६ महिना छुट भयो । तर त्यही बेलामा विद्यार्थी आन्दोलन र राजनीतिक हड्तालहरु शुरु भयो ।
जेलले एक वर्ष ढिलो
विद्यार्थी आन्दोलनका दौरान सुवासजी जेल पर्नुभयो । उहाँले कानूनको अन्तिम परिक्षा दिन पाउनुभएन । जेलबाट छुटेपछि मात्रै उहाँ जाँच दिन पाउनुभयो अनि पास हुनुभयो । हामीले २०३२ सालको शुरुवाततिर अध्ययन सकाएका थियौं, उहाँको एक वर्ष ढिलो भयो । २०३३/३४ ताका त हामीले कानून व्यवसाय शुरु गरिसकेका थियौं ।
उहाँ २०३६ सालमा सर्वोच्च अदालत बार एसोसिएसनको सचिव हुनुभयो, त्यो कार्यसमितिमा गणेशराज शर्मा अध्यक्ष हुनुहुन्थ्यो । २०३७ सालको कार्यसमितिमा म सदस्य थिए । सँगै पढेका उहाँ र बैजनाथ उपाध्याय सदस्य हुनुभयो । २०४२ देखि ४५ सालसम्म नेपाल बार एसोसिएसनको महासचिव हुनुभयो, त्यो कार्यसमितिमा लक्ष्मण अर्याल अध्यक्ष हुनुहुन्थ्यो ।
पेशा शुरु गरेको एकाध वर्षमा हामीले ल क्याम्पसमै पढाउन शुरु गर्यौं । एक दशकभन्दा बढी अध्यापनमा हाम्रो सहकार्य भयो । उहाँले २०४८ सालको आम निर्वाचनताका प्राध्यापन छाड्नुभयो । २०४६ सालको परिवर्तन र त्यसपछि संविधान जारी भएपछि पार्टीले उहाँलाई राजनीतिमा आउन आग्रह गरेको थियो ।
राजनीतितिर….
आफूलाई प्रस्ताव आएपछि उहाँले सहकर्मीहरु भरतराज उप्रेती र मलाई पार्टीले गरेको अफरवारे बताउनुभयो । हामी नजिकैको कुनै मिठाई पसलमा जेरी, स्वारी खाएर कुरा गर्दै थियौं ।
भरतराज उप्रेतीले भन्नुभयो, ‘यता(ल क्याम्पस) चलिरहेको छ, वकालत पनि जमिरहेको छ । किन छाड्न खोजेको ?’
नेम्वाङले भन्नुभयो, ‘अहिले जान्छु, बरु त्यताको कार्यकाल सकिएपछि फर्किएर वकालतमा आउला ।’
त्यसपछि मैले थपे, ‘गएपछि आउने कुरा हुदैन, राजनीति भनेको नशा हो, त्यहाँ गएपछि फर्किने कुरा मैले सम्भव देख्दिन ।’ हुन पनि राजनीतिमा सक्रिय भएपछि एकाध वर्ष अक्कलझुक्कल बाहेक उहाँ कानून व्यवसायमा फर्किनु भएन ।
उहाँले फौजदारी कानूनी(क्रिमिनल ल) पढाउनुहुन्थ्यो, भरतराज उप्रेतीले कर्पोरेट कानून । मैले नेपालको कानूनी इतिहास पढाएँ । विद्यार्थीले हरेक अध्यापकलाई पढाउने विषय जोडेर ‘….सर’ भन्थे । प्रमाण कानून पढाउनेलाई एभिडेन्स सर भन्थे ।
उहाँले फौजदारी कानून पढाउने भएकाले सबैले ‘क्रिमिनल सर’ भन्थे । उहाँले पढाएका विद्यार्थीवर्गमा अहिले पनि ठट्टा वा हासिमजाकको रुपमा उहाँलाई ‘क्रिमिनल सर’ भनेरै सम्झन्छन् ।
उहाँ राजनीतिमा प्रवेश गर्नकै लागि ल क्याम्पसबाट राजिनामा दिनुभयो । तर हामी(भरत र मैले)ले भने २०५५ सालको हाराहारीसम्म पढाइरह्यौं । हामी कानून व्यवसायमा व्यस्त थियौं, हामी दुवैको पेन्सन पनि पाक्यो ।
कुनै मुद्दाको मिसिल र भोली पढाउनुपर्ने नोटमध्ये मुद्दाको मिसिल प्राथमिकतामा पर्दै जान थाल्यो । अब भने विद्यार्थीलाई अन्याय गर्न हुदैन, अरुले अवसर पाउनुपर्छ भनेर हामीले ल क्याम्पस छाड्यौं ।
ल क्याम्पसमा अध्यापन शुरु गरेपछि भरतराज उप्रेती, बैजनाथ उपाध्याय, सुवास नेम्वाङ, कनक थापा मिलेर २०३६/३७ सालतिर पायोनियर ल फर्म स्थापना गर्नुभयो । त्यतिबेला नेम्वाङले फौजदारी कानूनमा आफ्नो दख्खल र क्षेत्र बढाउद जानुभयो । भरतराज उप्रेतीले व्यवसायिक र कर्पोरेट क्षेत्र हेर्नुभयो । अनि बैजनाथ उपाध्यायले देवानी मुद्दा र कनकले प्रशासनिक कानूनमा आफूलाई केन्द्रित गर्नुभयो ।
प्रधानन्यायाधीशका गुरु
उहाँले पढाएका विद्यार्थी प्रधानन्यायाधीश भइसकेका छन् । बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उहाँको विद्यार्थी हो । श्रेष्ठ मात्रै किन ? सर्वोच्च अदालतमा बहालवालामध्ये २०४८ सालपछि ल क्याम्पसमा भर्ना भएका बाहेक सबैजसो नेम्वाङका विद्यार्थी हुन् ।
हाम्रो टोलीले उत्पादन गरेका विद्यार्थी अहिले सबैजसो ठाँउमा न्यायाधीश छन् । गोपाल पराजुली, दिपराज जोशी लगायतका पूर्वप्रधानन्यायाधीश विद्यार्थी हुँदा हामी त्यहाँ पढाउथ्यौं । अहिले ल क्याम्पसका कनिष्ठतम न्यायाधीश पनि हामीले पढाउदाताका विद्यार्थी थिए ।
२०३६ सालदेखि २०४८ सालसम्म हामी कानून व्यवसायमा पनि सक्रिय रह्यौं । उहाँमा फौजदारी कानूनको ज्यादा रुचि थियो । मैले देवानी विषयहरु हेर्ने गरेको थिए । कतिपय मुद्दा एकआपसमा सँगै हेर्ने र फरवार्ड गर्ने काम पनि हुन्थ्यो । उहाँले पनि राजनीतिक प्रकृतिका मुद्दाहरु पनि हेर्नुभयो ।
हामी आ आफ्नै तरिकाले अगाडी बढ्दै गएका थियौं । उहाँ राजनीतिमा लागेपछि भने दुई फरक पेशा र धारमा लाग्यौं । तर अक्कलझुक्कल भेटघाट र कुराकानी हुन्थ्यो ।
सुवासजीका केही गुणहरु उहाँको अवसानसँगै हामीले गुमायौं । उहाँले कसैलाई पनि बिझाउने गरी बोलेको मलाई थाह छैन । त्यतिबेलै कसैले पनि ‘सुवासले आज यस्तो नराम्रो व्यवहार गर्यो’ भन्यो र त्यो यथार्थ रहेछ भनेपनि पत्याउने अवस्थै हुदैनथ्यो । उखान नै छ, ‘आँखाभित्र राखे पनि नबिझाउने….’ भन्ने । त्यो भनाई उहाँकै लागि बनाइएको हो कि जस्तो लाग्छ । उहाँले आफ्नो व्यवहारका कारण कसैको चित्त दुखाउनुभएन ।
म अरु दुई कारणले सुवासलाई सम्झिन्छु । सर्वोच्च अदालतको अस्थायी न्यायाधीश हुँदा स्थायी नगरी मलाई अवकाशको अवस्थामा पुर्याइयो । त्यतिबेला उहाँ सभामुख हुनुहुन्थ्यो । उहाँले गर्नसक्ने केही थिएन, तर म भन्दा बढी दुःखी उहाँ हुनुभयो ।
उहाँलाई पछिल्लो पटक सभामुखका लागि अफर थियो, जुन अस्विकार गर्नुभयो । स्विकार गर्नु, अस्विकार गर्नु आफ्नो ठाउँमा छ । तर आजका मितिमा पनि उहाँ सभामुख भएको भए अहिलेको राजनीति र संसदिय अभ्यासमा यस्तो गतिरोध हुने थिएन । उहाँमा सबैलाई मिलाएर लैजानसक्ने खुवी थियो ।
उहाँलाई गरेको फोन कुनै स्वकीय सचिव र सहायकहरुले दिनु परेन, सिधै आफै उठाउनुहुन्थ्यो । उहाँ जुनसुकै पदमा हुँदा पनि फरक व्यवहार देखिएन । एकआपसमा नियमित गफ र सञ्चोबिसञ्चो हुन्थ्यो । गत जेठमा उहाँ राष्ट्रपतिको उम्मेद्वार हुनुभयो । त्यतिबेला हाम्रो कुराकानी भएको थियो ।
निर्वाचित हुने परिस्थिति थिएन, तर पार्टीले जिम्मेवारी दिएपनि अस्वीकार पनि मिलेन । त्यही अवस्थाका वारेमा हामीविच कुराकानी भयो । तर त्यो पदका लागि उहाँ उपयुक्त व्यक्ति हुनुहुन्थ्यो । जुन भूमिकामा हुनुभयो, इमान्दार बनेर निष्ठापूर्वक रहनुभयो । उहाँप्रति श्रद्धाञ्जली ।
(सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीसँगको गरिएको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4