१. (अ) कविहरुलाई
ओ कविहरू ! ओ अकविहरू !
म तिमीलाई मेरो महान् अनुष्ठानमा आमन्त्रण गर्छु, आहवान गर्छु । कवितालाई कविहरुवाट बचाऔं ।
यति कुरा त हेक्का राख कि– जहाँ कवि हुन्छ, त्यहाँ कविता हुनै सक्दैन । अनि जहाँ कविता उपस्थित छ, त्यहाँ कविको प्रत्येक व्यक्तित्वका मुखौटाहरू खरानी भएर हावामा उडिरहेका हुन्छन् । तिमीहरु कस्तो कवि हौ, आफूलाई आफ्नै कठघरामा उभ्याएर हेर त । कवि हौ भने कविताको आरधनाका लागि कविता लेख । कविका लागि कविता लेख्नु कवितालाई बदनाम गर्नु होइन र !
म यो किन भनिरहेको छु –
ओ अकविहरु ! कल्पनाको सागरमा डुबुल्की मार्दा मार्दै डुबी मरेका निर्जीव लासहरु ।
हातखुट्टा गलेपछि सागरको सतहमा उत्रिने बुद्धिमत्ता पनि त राख ।
एकचोटि समयको यो क्षणलाई मजाले स्पर्श गर, यसको सुगन्धलाई नासिकामा भर, अँगालोभरि यो समयका प्रत्येक चोइटाहरूलाई बाँधी हेर ।
किन जीवनदेखि अनावश्यक भयभीत भइरहेको ?
जीवनको कठोरतासँग किन चाहिने भन्दा बढी गनगन गरेको ?
कुनै एक सेकेण्ड टक्क अडिएर अघाउन्जेल बाँचेका छौ, जसको आयतनमा तिम्रो जस्तो हजारौं जिन्दगी भरिएको हुन्छ ।
त्यो पल, त्यो अनमोल क्षण जहाँ तिम्रो कुरूप स्वप्नलाई सन्ध्याको लालिमाले रंग्याइदिन्छ । त्यही सन्ध्या जहाँ सूर्य थकाइ मार्न आउँछ , चन्द्रमा आकाशको डिल चढ्ने तरखरमा हुन्छ अनि त्यही क्षण दिन र रात्रिको सुन्दर सम्मिलन हुन्छ ।
तिम्रो त्यो गनगन भरिएका पृष्ठ च्यातेर डस्टबिनमा फालिदेऊ ।
म तिमीहरू सम्पूर्ण अकविहरुलाई पर्खिरहेको छु, आउ सूर्यास्त हेर्न जाउँ ।
२. नेताहरूलाई
मलाई सुन्दा पनि खित्का छोडी छोडी हाँस्न मन लाग्छ।
अपरिचित महोदयहरू ! यो हाँसो उपहासको हाँसो हो । यो अन्तर्मन आल्हादित भएर निस्किएको हाँसो होइन, तिमीहरूको झुटको श्रेष्ठतामा हाँसेको अनि म जस्ता हजारौं हाँस्नेहरूको मूर्ख्याइँ देखेर हाँसेको हो, अनि हामी हजारौंको हाँसोको अर्थ नबुझी आफ्नो अज्ञानताको भयले हाँसिरहेको करोडौं मानिस देखेर हाँसेको हो ।
एकछिनलाई मान कि एउटा समारोह छ । समारोहको उच्चासनमा एउटा व्यक्ति उभिएको छ, जो आफूभन्दा निचो स्थानमा बसेका मनुष्यहरूको मूर्खतामा मनमनै खिल्खिलाउँछ । त्यहीं जीवातको नाम राजनेता हो।
जसले आजसम्म आफ्नो सानो संवेदनालाई पराजित तुल्याउन सकेको छैन, स्वयंसँगको प्रतिद्वन्द्वितामा बारबार हार भएको छ, उसले ऊ जस्ता अनगिन्ती मानिसलाई कसरी विजयी बनाउन सक्छद !
हरेक मनुष्यको अन्तर्यमा फूलका जरा गाडिएर बसेका छन् अनि हरेकको फुल्ने प्रकृति पृथक् पृथक् छ । सबै जना पृथक् पृथक् संसारको मालिक छन् ।
एउटा क्षुद्र मनुष्यले कसरी सबै फूललाई एउटै तरिकाले फुलाउने मूर्खतापूर्ण सोच राख्छ ? सबै मनुष्यलाई उनीहरुको संसारबाट विच्छेदित गराएर, आफ्नो अक्षर अक्षरशः पालना गर्ने कठपुतली निर्माण गरेर कसरी उत्थानको दिवास्वप्न देख्छ ?
अनि तिमी मानिसहरू झुट बोल्न अभ्यस्त मुखबाट उछिट्टिएका थुकका विन्दुलाई के ब्रह्मविन्दु भन्ठान्छौ ?
म सबैभन्दा बढी त तिमीहरुको मुर्खतामा हाँस्छु ।
ध्यान रहोस् । यहाँ म मुर्खता शब्द प्रयोग गर्दैछु । अब तिमीहरु अवोध र निर्दोषको भनिने स्तरमा रहेनौ । कारण तिमीहरू एउटै गल्ती बारम्बार दोहोऱ्याइ राख्छौ – उच्च आसनमा बसेर चर्को चर्को स्वरमा गुञ्जिरहेका सहस्र ध्वनिले असत्य वचन फलाक्दै मा त्यो सत्यतामा परिवर्तित हुँदैन ।
आफ्नो मुर्ख्याइँले गर्दा नै दुर्दशा निम्तिन्छन् । आफ्नो दुर्दशाको भारी आफ्नो काँधमा बोकेर हिँड्ने बानी बसाल । यो नै तिम्रो प्रायश्चित हुनेछ।
जबसम्म ‘पछि लाग्नेहरू’ जन्म लिइरहन्छन्, तबसम्म ‘सबैलाई अघि लगाउने’ जागिर खुलिराख्छ अनि यी जागिरदारहरू तिम्रो उत्थानको परियोजना बोकेर हिडिराख्छन् ।
३. मुमुक्षुहरूप्रति
मेरा प्यारा मुमुक्षुहरू !
सर्वप्रथम त म तिमीहरुलाई तिमीहरूको परिचय गराउन चाहन्छु ।
तिमीहरू तिनै देहातहरू हौ जो मुक्ति प्राप्त गर्ने अपरिमेय अभिप्सा बोकेर हिँडिरहेको छौं । अर्थात् तिमीहरू मुक्ति – चाहनाको वासनाले ग्रसित छौ । निश्चिन्त होऊ, तिमी र ममा केही फरक छैन, हामी एउटै रोगबाट ग्रसित छौं ।
हामी दुवै आरोग्यताको महत्वकांक्षाले दिनदिनै रुग्ण बन्दै गइरहेका छौं ।
तिम्रो र मेरो मृगतृष्णामा कुनै आधारभूत भिन्नता छैन, फरक यत्ति हो तिम्रो मृगतृष्णाको श्रृङ्गार मेरो साधारण साजसज्जाभन्दा अधिक सुन्दर देखिन्छ।
तिमी यो सत्यसँग परिचित छौ कि छैनौं श्रृङ्गारका पत्रहरू जति उक्किदै जान्छ त्यति नै वितृष्णाका गर्तहरूको गहिराइ बढ्दै जान्छन्।
ओ मुमुक्षुहरू !
यो प्रकाशित पथलाई बेवास्ता गरेर अन्धकारको ब्रह्माण्डमा किन हाम फालेको ?
कुन लाभको लोभमा तिमीले यो अपरिचित बाटो चयन गर्यौ ? के अँध्यारोको यात्रा गर्दैमा, अन्धाधुन्ध आफ्नो पैताला घिसार्दैमा, आफूलाई ठेस पुर्याउदैमा तिम्रा खतको लम्बाइ र गहिराइको मापनको आधारमा तिम्रो जीवन सार्थक हुन्छ भन्ठानेको ?
धिक्कार छ तिमीलाई । तिम्रो आततायी दिमागलाई ।
तिम्रो पाइला प्रलय नै किन नहोस्, नियतिको स्वभाविक चालमै तिम्रो पाइला अवरूद्ध हुन्छ ।
तिमी पनि मूढतापूर्वक हाम फाल अन्धकारमा जसमा कुनै टेक्ने माटो छैन ।
पौडिरहुँ त्यही समुद्रमा जसको कुनै किनारा छैन ।
सावधान ! तिम्रो चिल्लो टाउको लुकाउनका लागि उमारिएका कपालले खप्पर चिथोर्नेछन् ।
सतर्क ! तिम्रो दिमागले तिम्रो मुटुसँग जोडिएका नशाहरु चुँडालेर फ्याँकिदेला ।
ध्यान देऊ ! मन्दिर भत्काएर ईश्वर भेटिदैन, मन्दिर नै ईश्वर हो।
तिम्रो शरीरलाई धेरै व्याकुल नराख, तिम्रो आत्माको आँत सुकेर जाला।
ओ मुमुक्षु ! ओ स्वप्नदर्शी !
जबसम्म सकिँदैन तिम्रो ढुकढुकी,
जबसम्म सेलाउँदैन तिम्रो कृत्रिम स्फूर्ति,
त्यतिन्जेलसम्म पर्खिउँला तिमीलाई । ब्रम्हनालमा हाम्रो जम्काभेट हुनेछ । म आफूलाई सर्वाङ्ग नग्न पाएर अबेरसम्म हाँस्नेछु । म अझ बढी हाँस्ने छु – जब तिमी आफ्नो नग्नतामाथि रोइरहेको हुनेछौ ।
४. प्रियतमलाई
ओ प्रियतम ! मेरो मनले खाएकी प्रियतम । मेरो मनलाई खाएकी प्रियतम ।
सुरुसुरुमा म तिम्रो बदनस्वरूप एउटा नगमा गाउँथे – ये चांद सा रोशन चेहरा, जुल्फो का रंग सुनहरा..
अब म हाम्रो बयानस्वरूप एउटा नगमा सुन्छु– बढ़ी धूप है तो, तेरे आंचल के साया चुराके जीना है जीना, जीना जिंदगी।
अब यौटा यात्रा गर्नुपर्ने छ, जसरी एउटा कलाकार यात्रा गर्छ। जिन्दगीमा कलाको प्रदर्शन गर्न जान्नु सर्वश्रेष्ठ उपलब्धि हो।
अब तिमी पनि खोज्न थाल भत्किएका घरहरूमा एउटा सग्लो घर । तिमी पनि सौन्दर्य उमार्न थाल यी मरुभूमिको तातो बालुवाहरूमा ।
अनि बेलाबेला मूर्छित भइरहने तिम्रो हृदयलाई पानीका छिटाहरूले अभिषेक गरिरहु ।
अब यहाँ एउटा काँडैकाँडा उम्रिएको भूलभुलैया छ । त्यसलाई तिम्रो पवित्र पाउले कुल्चिएर हाम्रो यात्राको शुभारम्भ गर । निसन्देह, तिम्रो देहलाई यी काँडाहरूबाट यति दंशित तुल्याऊ कि तिम्रो मूर्छित आत्मा पनि गहिरो चोटको आहतमा पटक पटक झस्किरहोस् ।
चन्द्रस्वरुपा ! हृदयकी नृत्याङ्गना!
जो मेरो निर्जन द्वीपमा उजेली प्रदीप बनेर आएकी छौ । तिमी यो यात्रापश्चात् मात्र स्वप्न देख – गुल ए गुलज़ार।
५. पथिकहरूलाई
ओ पथिक!
किन आँशुलाई यतिबिघ्न श्राप दिएको ? किन आँशुको बहाबलाई अपशकुन मानेको ?
किन बिर्सिएको, आँशु तिम्रो मनमा गुम्फित किस्सा हो । किन नबुझेको, आँशु तिम्रो जीवनको अप्रतिस्थाप्य हिस्सा हो ।
आँशु तिम्रो कठोरताको अभिनय समापन भएको प्रमाण हो, त्यसैले यि आँशुलाई बहन देऊ ।
आँशु तिम्रो नयन प्रक्षालनार्थ प्रस्फुटित भइरहेको छ ताकि तिमी आँशुपश्चातको निर्विकार मनमा विलय हौं । आँशुले धोएको आँखाले संसार पनि नयाँ देखिन्छ ।
खैर ! तिमी बुझ्न चाहँदैनौं यस्तो कुरा ।
तिम्रा खुट्टाहरूले कुल्चिरहु भुइँमा झरेका आँशुका थोपाहरू ।
म भविष्यवक्ता, यस्तो बोल्छु –
जीवनमा यस्तो पनि दिन आउने छ : तिम्रो मथिंगललाई तिम्रो दिनहरुले रात दिन कोर्रा लगाइरहने छ, तिम्रो नशा नशा फुल्लिने छन्, छातिभरि पत्थरको पर्वत एकत्रित हुने छन्, हरेक अङ्गबाट स्वेतकर्ण निस्किएला तर आँशु निस्कने छैन ।
त्यतिबेला तिमी ईश्वरसँग आशुको भिख माग्ने छौं ।
त्यतिबेला याद गर्ने छौ, मेरा यी वाक्यहरू। तिमीले बुझ्ने छौं छातीभित्रका क्षतिहरू आँशुले मात्र पखाल्न सक्छ।
शायद तिमी त्यही एउटा व्यक्ति जस्तै हौ जो आफ्नो यौवनभरि मृत्युलाई तिरस्कार गरिरह्यो र जीवनको उत्तरार्धमा मृत्युको भिख मागिरह्यो।
६. आफ्नै लागि
र यो अन्तिम अनुच्छेद लेखक स्वयंका लागि।
म निश्चिन्त छु कि म गलत बुझिने छु राजनेताको अभिमानयुक्त मगजमा, अकविहरूको सस्तो भावनामा, प्रियतमको अबोधतामा, मुमुक्षुको तथाकथित चैतन्यमा अनि पथिकहरुको कायरतामा ।
जब म मानिसको मस्तिष्कका गलत रूपमा प्रविष्ट हुनेछु, तब मेरा यी अक्षरहरू मतिर दृष्टि दिँदै कुटिल मुस्कान मुस्कुराउनेछन् अनि काँधमा हात राख्दै भन्नेछन् – ‘बधाई छ। अन्तिममा तैले नै जितिस् ।’
तर मेरा अक्षरहरूलाई पुनः कटाक्ष गर्नेछु – अकिवचहरुको स्थिरतामा हारजित खोज्ने तँ कस्तो राक्षस होस् ?
प्रतिक्रिया 4