 
																			१६ फागुन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।
सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’
बुधबार नवलपरासी औद्योगिक व्यापार मेला तथा कृषि, पर्यटन व्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
‘एकथरिले सहकारी र लघु वित्त पीडितलाई उपयोग गरेर राजनीतिकको रोटी सेकाउन थालेका छन्, मेरो पछि लाग्यो भने ऋण तिर्नुपर्दैन, माफी पाइन्छ भनेर एकथरिले लघु वित्त पीडितलाई बोकेर हिडेका छन्,’ उनले भने, ‘साँच्चै तिर्नुपर्दैन भनेर पीडित पनि पछि लागेर हिँडेका छन्, स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन ।’
उनले लिने र दिने दुवैको गल्ती भएको समेत बताए । ब्याजदर घटाइएको र अझै घट्ने क्रममा रहेको भन्दै उनले भने, ‘जसले ऋण लिएको छ, उहाँहरुलाई ब्याजदरमा राहत दिन सकिन्छ । ऋण तिर्नेलाई समय दिन सकिन्छ, त्यो राहत हो । ऋण लिएर तिर्दैतिर्दिन भन्न पाइँदैन ।’
ऋण तिर्न राहत दिन सकिने भए पनि ऋण माफी नहुने उनले बताए । धेरै ऋण लिने समस्यामा परेको हुनाले ब्याजदर घटेको भन्दै उनले भने, ‘हिजो ऋण लिएकाहरुले अहिले ऋण लिन सक्ने स्थिति भएन, नयाँ ऋण लिन चाहनेहरु पहिलाको समस्या देखेर तर्सिरहेका छन् । यही कारण बैंकमा तरलता भए पनि ऋण प्रवाह हुन सकेको छैन । तर विस्तारै यसमा सुधार आउँछ ।’
व्यवसायी ढुक्क भएर लगानी गर्न आग्रह
अर्थमन्त्री डा. महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गरे । उनले भने, ‘आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन । विस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट, रडको माग बढेको छ, नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरु ढुक्क भएर लगानी गर्नुहोस् ।’
कार्यक्रममा मन्त्री डा. महतले ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताए ।
उनले एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीलाई आग्रह गरे ।
‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजस्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ,’ मन्त्री डा. महतले भने, ‘आत्मविश्वास जगाऔं, विचार पुर्याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजस्व बढ्छ । राजस्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’
उनले मूल्यवृद्धि पनि नियन्त्रणमा रहेको बताए । मन्त्री डा. महतले भने, ‘म अर्थमन्त्री भएका बेला मूल्यवृद्धि सालाखाला ८ प्रतिशतभन्दा माथि थियो, अहिले साढे ६ प्रतिशतभन्दा तल झरेको छ । यसले उपभोक्तालाई राहत दिन्छ,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4