काठमाडौं । शुक्रबार प्रदर्शन तयारीमा रहेको फिल्म ‘द रेड सुट्केस’ले क्यूएफएक्स चेनमा फिल्म रिलिज नगर्ने घोषणा गरेको छ । निर्माता कम्पनी आइसफल प्रोडक्सनले आइतबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा क्यूएफएक्स बाहेकका हलमा मात्र फिल्म ल्याउने जनाएको हो ।
देशी-विदेशी फिल्मको चापको कारण उचित शो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने आशयको इमेल क्यूएफएक्सले लेखेपछि आफूहरुले ‘भद्र अवज्ञा’को निर्णय लिनुपरेको कम्पनीले जनाएको छ ।
देशलाई फिल्मको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने फिल्मलाई व्यापारको नाममा विभेद गरेको फिल्मको आरोप छ । विदेशी फिल्म सेन्सर नभएको झोंकमा यसअघि पनि क्यूएफएक्सले कम्पनीकै अघिल्लो फिल्म ‘ऐना झ्यालको पुतली’को निर्धारित समयमा बुकिङ नखोलिएको स्मरण निर्माताले विज्ञप्तिमा गराएका छन् ।

‘चाडपर्व र बिदाका समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिंदो गरी सिनेमा घरले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य निर्माण गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यस्ता असहिष्णु व्यवहारको भद्र अवज्ञा गर्न चाहन्छौं ।’ हलमा फिल्म नलागुञ्जेलसम्म फिल्मको व्यापारको भविष्यवाणी नगर्न पनि निर्माताले क्यूएफएक्सले आग्रह गरेको छ ।
फिडेल देवकोटा निर्देशित ‘द रेड सुट्केस’ यस वर्ष नेपालको प्रतिनिधित्व गर्ने विश्वचर्चित फिल्म हो । यसैवर्ष भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्मको युरोपको प्रदर्शन अधिकार एचबीओले किनेको छ ।
यसैबीच, चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै १५ युरोपेली मुलुकका लागि एचबीओले नेपाली फिल्म ‘द रेड सुट्केस’को ओटीटी अधिकार खरिद गरेको कुराप्रति बधाई दिएको छ । यसलाई विदेशी बजारमा नेपाली फिल्मको बजार विस्तार गर्ने ठोस सुरुवातको रुपमा लिएको बोर्डले जनाएको छ ।
‘नेपाली चलचित्रलाई गुणात्मक उचाइ दिने द रेड सुट्केसलाई हामी आगामी यात्राका लागि शुभकामना दिन चाहन्छौं,’ बोर्डले भनेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4