+
+

कम पूँजी भएका कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १८:४६

३२ जेठ, काठमाडौं । सेयर बजारमा ‘स्पेकुलेटिभ’ प्रवृत्ति हाबी बन्दै गएको छ । यो साता सेयर बजारमा सूचीकृतमध्ये सप्लाई थोरै भएका कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव देखिएको छ ।

सेयर बजारमा कम्पनीको फन्डामेन्टल अवस्थाभन्दा सेयर सप्लाई कम भएको र सानो पूँजी भएका कम्पनी पालैपालो कर्नरिङ गरेर मूल्य बढाउने र मूल्य माथि पुगेपछि समूह नै बाहिरिने प्रवृत्ति देखिएको छ ।

साताको पाँच कारोबार दिनमध्ये तीन दिन बजार परिसूचक नेप्से बढेर तथा दुई करोबार दिन घटेर बन्द भएको छ । साताभरि समग्रमा बजार परिसूचक नेप्से १.६६ प्रतिशतले बढेर २११२.२९ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार पनि सकारात्मक देखिन्छ । आइतबार ४.५९ अंक र बिहीबार ९.३२ अंकले गिरावट भएको थियो । सोमबार ८.९० अंक वृद्धि भएको नेप्से मंगलबार ३३.१५ अंक र बुधबार ६.३७ अंकले बढेर बन्द भएको थियो ।

साताको पाँच कारोबार दिन ५ अर्बभन्दा माथिको कारोबार भएको बजारमा साताभरि २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।

‘ट्रेडिङ’ हाबी भएको बजारमा लघुवित्त, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक उच्च दरमा बढेका छन् भने साताभरि कारोबारमा समेत सोही क्षेत्रले लिड गरेको छ ।

नयाँ सूचीकृते हाइड्रोपावर कम्पनीमा लकइन नखुल्दा सेयर सप्लाई कम हुने र ट्रेडरलाई मूल्यमा कर्नरिङ गर्न सहज हुने गर्छ । त्यस्तै साना पूँजी भएका लघुवित्त र वित्त कम्पनीको समेत सेयर सप्लाई कम हुँदा कर्नरिङ गरेर मूल्य बढाउन सहज हुने भएकाले सीमित अवधिमा धेरै प्रतिफल खोज्नेहरू समूह नै बनाएर यस्ता कम्पनीमा लगानी गरिरहेका छन् ।

एउटा मूल्यमा पुर्‍याएपछि उक्त कम्पनीबाट सेयर बिक्री गर्ने र पुनः अर्को कम्पनीमा त्यसरी नै कर्नरिङ गर्दा उक्त समूहको कम्पनीको सेयर मूल्यमा पनि धेरै उतारचढाव भएको छ भने सेयर कारोबार रकम समेत उच्च छ ।

यो साताभरि नेप्सेका उपसूचकमध्ये लघुवित्त उपसूचक सर्वाधिक ८ प्रतिशतले बढेको छ । यस्तै विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै रहेको व्यापार उपसूचक ७.२१ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ६.१२ प्रतिशतले बढेको छ ।

यस्तै हाइड्रोपावर उपसूचक ५.१३ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक २.२१ प्रतिशत, अन्य उपसूचक १.९६ प्रतिशतले बढेको छ । यता उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक २.२९ प्रतिशतल गिरावट हुँदा अन्य उपसूचक ०.४८७ प्रतिशतले घटेको छ ।

बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ उपसूचकमा ०.२६ प्रतिशतको सामान्य वृद्धि हुँदा अरू उपसूचक उल्लेख्य बढे पनि नेप्से परिसूचक भने खासै बढ्न सकेको छैन ।

यो साता बजारमा कुल २८ अर्ब ५७ करोड २२ लाखको कारोबार हुँदा त्यसको एक तिहाइभन्दा धेरै कारोबार हाड्रोपावर कम्पनीको मात्रै छ । हाइड्रोपावर कम्पनीहरूको मात्रै ९ अर्ब ७२ करोड ७० लाखको कारोबार भएको छ ।

यसतै लघुवित्त कम्पनीहरूको सेयर करिब १७ प्रतिशतले हुने ४ अर्ब ७९ करोड ३२ लाख र फाइनान्स कम्पनीको १२ प्रतिशतले हुने ३ अर्ब ४६ करोड ८७ लाखको कारोबार भएको छ ।

बजार पूँजीकरण, सेयर सप्लाईका हिसाबले सबैभन्दा ठूलो बैंकिङ क्षेत्रको भने कुल कारोबारमा ३.७५ प्रतिशत हिस्सा मात्रै छ । यो साताभरि वाणिज्य बैंकहरूको सेयर कारोबार १ अर्ब ७ करोड १७ लाख रुपैयाँको मात्रै भएको छ ।

साताभरि सबैभन्दा धेरै सेयर कारोबार हुने कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी हो । यसको मात्रै १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै सीईडीबी हाइड्रोपावर कम्पनीको ७९ करोड २५ लाखको सेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ७८ करोड २३ लाखको कारोबचर भएको छ ।

सेयर मूल्य धेरै बढ्ने र घट्ने कम्पनीमा पनि सेयर सप्लाई र पूँजी कम भएका कम्पनी छन् । यो सता सबैभन्दा धेरै सेयर मूल्य बढेको कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर सप्लाई १ लाख कित्ता मात्रै छ । कम्पनीको पब्लिक सेयर २ लाख ४४ हजार कित्तामध्ये योजना प्रभावित स्थानीय र कर्मचारीलाई जारी गरिएको आईपीओको लकइन खुलेको छैन । कम्पनीको सेयर मूल्य सातामै ४२ प्रतिशतले बढेको छ ।

यस्तै एक सातामा करिब ३२ प्रतिशत सेयर मूल्य बढेको मनकामना स्मार्ट लघुवित्तको साधारण सेयर करिब ४ लाख ७७ हजार कित्ता मात्रै छ ।

करिब ३१ प्रतिशतले सेयर मूल्य बढेको बरुण हाइड्रोपावरको संस्थापक र साधारण सेयर समेत गरी करिब ५० लाख कित्ता छ । करिब २२ प्रतिशतले सेयर मूल्य बढेको समृद्धि फाइनान्सको सेयर सप्लाई करिब ३३ लाख कित्ता मात्रै छ ।

यता सेयर मूल्य घट्ने कम्पनीमा पनि गत साता मूल्य बढेका लघुवित्त कम्पनीको पर्चश्व छ । बुद्धभूमि हाइड्रोपावरको संस्थापक सेयरको लइकन नखुल्दा सेयर सप्लाई सीमित छ । जाल्पा सामुदायिक लघुवित्तको पनि सेयर सप्लाई कम छ भने यो किसान लघुवित्तसँग मर्जर हुँदैछ । जानकी फाइनान्स, लक्ष्मी लघुवित्त, हिमालयन लघुवित्त एक चरण मूल्य बढिसकेर करेक्सन आएका कम्पनी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?