+
+

देवी प्रतिभा जी भन्नुहुन्छ, प्यार से बोलो ना !

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ साउन १४ गते १८:४९

कथाबाहेक संसारमा अर्थोक केही छैन । मान्छे यस्तो प्राणी हो, जो आफ्नो पक्षधरता अनुसारका कथा सुन्न मन पराउँछ ।

साम्यवादको कथा, उदारवादको कथा, भूमण्डलीकरणको कथा, टिनाको कथा, निटाको कथा । टिना अर्थात् देयर इज नो अल्टरनेटिभ । पूँजीवाद निर्विकल्प छैन भन्ने मार्गरेट थ्याचरको ‘टिना’ कथा ।

पुँजीवादभन्दा अर्को पनि विश्व सम्भव छ– मात्रै होइन म त त्यसको श्वासप्रश्वास नै सुनिरहेको छु भन्ने अरुन्धती रायका कथा । सबै कथाहरु हुन् । सोफिज् वर्ल्ड लेख्ने जोस्टिन गार्डर हुन् या अहिले चल्तीका युवल नोअ हरारी– अर्कैको दर्शनलाई आफ्नो भाषामा कथाजस्तो गरी सर्सती भन्न सकेकाले त यी विख्यात हुन सके ।

प्रजातन्त्रको कथा हालेर बीपी जन्मे । जनवादको कथा हालेर मदन भण्डारी । गणतन्त्रको कथा हालेर प्रचण्ड । सुशासनको कथा हालेर यति बेला को जन्मिने भन्ने बहस छ । सबैले पत्याउने गरी कथा भन्न जसले सक्छ, त्यो माथि गयो, जसको कथावाचन क्षमता छैन, त्यो तलै रह्यो ।

तर यसरी कथा भन्नेहरु तथ्य वा तर्कमा आधारित मात्रै हुँदैनन् । कथाले जहिले पनि कल्पनाशक्तिको लागि ठाउँ खाली राखिदिन्छ । यस्तैमा यति बेला काठमाडौंमा चलिरहेको छ एउटा कोटिहोम, जहाँ धर्म, परोपकार, आइटी सेक्टर, कर्पोरेट, संसदीय राजनीति सबै जोडिएको छ ।

‘काभ्रेली चेली’ भनेर पुकारिएकी देवी प्रतिभाजी अश्रुधारामय कथा सुनाइरहेकी छन् । हामीलाई उनको कथाका आँशुले पनि तान्छ, उनको सुरक्षा दलबलले पनि । सेना, प्रहरी, सशस्त्र प्रहरी बल, अझ नगर प्रहरीसमेत हुँदाहुँदै काठमाडौंमा सुरक्षाको कमी त छैन ।

तैपनि सिक्स प्याक, एट प्याक हालेका बलियाबांगा कमान्डोबीच एउटी अति–कोमल स्वरकी प्रतिभाजी आँशु र ममताका जुन रेशमी कथा हाल्छिन्, त्यो हेर्न पशुपतिनाथ जानेहरुको कमी छैन । यसै त साउनको महिना छ ।

आयोजक मानवसेवा फाउन्डेसनले ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग उठाउन भनेर पशुपतिनाथ क्षेत्रमा साउन महिनाभरि कोटिहोम लगाएको हो । दिनबन्धु पोखरेललगायत धेरै कथावाचक रहे पनि काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मेकी प्रतिभा पराजुली यति बेला आकर्षणको केन्द्रमा छिन् । यो आकर्षक छवि निर्माणमा सामाजिक सञ्जालको भूमिका कम आँक्न मिल्दैन ।

अब हामीलाई देवी प्रतिभाले सुनाउने कथामात्रैमा होइन, स्वयं कथा बनिरहेकी देवी प्रतिभाबारे नै चासो बढिसकेको छ । उनी विवाहित हुन् कि अविवाहित– बहस अघि नै तथ्य र कल्पनाभन्दा पर निर्मित कथाहरुमा आधारित छन् । उनले सुनाउने कथाहरुमा मात्रै हाम्रो चासो हुन्थ्यो भने हामीलाई प्रतिभाको निजी कथामा खायस हुने नै थिएन ।

साधुराम पराजुली र इन्दिराकी माइली छोरी हुन् प्रतिभा । साधुरामले राससलाई बताएअनुसार छोरीले सानै छँदा आफूलाई कुनै दिन श्रीमद्भागवतको कथा सुनाउने प्रण गरेकी थिइन् । गाउँको बोर्डिङ स्कुल हुँदै वाल्मीकी विद्यापीठमा उनको पढाइ चल्यो । पछि उनले वृन्दावनमा संस्कृत व्याकरण पढिन् ।

‘स्टोरीलाइन, क्यारेक्टराइजेसन, प्लट र सेटिङ’ अर्थात् फिक्सनका आधारभूत तत्वमा छिर्नुअघि यो बुझौं, यति बेला देवी प्रतिभा कथा र संगीतलाई जोडिरहेकी छन् । उनको नाम धार्मिक वा साहित्यिक सुनिन्छ । कहिलेकहीँ कथावाचकलाई ‘प्रतिभा पराजुली’ मात्रै भएर पाठक–दर्शकको मनमा घर बसाउन सम्भव हुँदैन ।

सबै साहित्यकार वा कलाकारलाई बाबुआमाले राखिदिएको वंशज नामले मात्रै सधैं पुग्दैन । गायक ‘पल डेभिड ह्युसन’ भन्दा सायद कसैले चिन्दैनन्, तर यु टु ब्यान्डका आइरिस कलाकार ‘बोनो’ नचिन्ने स्रोता कमै होलान् । के इन्द्रबहादुर राई, के आहुति । के ध्रुवचन्द्र गौतम, के धच गोतामे । मुर्धन्य नाम र उपनामका दृष्टान्त जति पनि दिन सकिन्छ ।

यसरी देवी प्रतिभा जी भनेपछि एउटी तिख्खर कथावाचकको छवि निर्माणमा सहज हुन्छ । उनी भागवत पुराण भन्छिन्, रामचरित मानस सुनाउँछिन् । अनि त्यसको उल्था गर्दै भन्ने क्रममा उनी सन्तानले आमासँग के चाहन्छन्, बासँग के चाहन्छन् भन्ने पुरुषवादी सामाजिक मान्यतामा आधारित विश्वास कति मिठोसँग सुनाउँछिन् । उनका कतिपय सन्देश त आधुनिक समाजको सोचसँग अमिल्दा पनि लाग्छन् ।

देवी प्रतिभाका अनुसार पूर्वीय सभ्यताकी सुशील आमा आफ्ना सन्तानले के खाए के लाए भन्नेमा पूरा ख्याल राख्छिन्, अनि बुवाले चाहिँ छोरीले कुन स्कुलमा पढ्न सकिन्, भविष्यको तयारी कस्तो गरिरहेकी छिन् भन्ने ख्याल राख्छन् । आदि–आदि ।

रुनेको कुनै कमी छैन । कर्णप्रिय कथामा को भन्दा को बढी रुने, स्रोताको लगन र क्षमतामा निर्भर गर्छ । अब्बल आख्यानले तपाईंलाई सुन्छ । तपाईंको गुप्तचरी गर्छ । देवी प्रतिभाको कथामा ताली बजाउनेको कुनै कमी छैन । तालीमा उँचनीच भयो भने उनी हिन्दीमा जोडले माइकबाट कराउँछिन्– प्यार से बोलो ना !

कथामा बेजोड शक्ति हुन्छ । साना बच्चाहरुलाई सुरुमा चकलेट मिठाइका कथाले आकर्षित गर्छन् । बच्चाले हाल्ने कथाका माछा, बाघ, हात्ती जोसुकै पात्र आफ्नो कथाको अन्तिममा ममीको बुबु खान कुदिरहेका छन् । हुर्किदै गएपछि तिनलाई भुत, डायनका कथाले छुन थाल्छ ।

किशोरकालमा मन पर्ने कथा, युवाकालका संघर्ष, साहस, रोमान्सका कथा र बुढेसकालका अतितगामी जीजिविषायुक्त कथाका ढाँचा एउटै हुँदैनन् । तर परिवार नामक संस्थामा बस्न थालेपछि हामीले एक अर्काका कथामा आफूलाई ‘एडजस्ट’ गरेर बाँच्न सिकेका हुन्छौं ।

हामीलाई कार्टुनका कथादेखि भागवतपूराण, त्रिपिटक, मुन्धुम वा आ–आफ्नो विश्वास पद्दति अनुसारका कथा सुन्न मन लाग्छ । जन्ममृत्यु संस्कार जातिपिच्छे छन् । प्रत्येक संस्कारमा कथा छन् । हामी चरु पोल्छौं, सत्यनारायणको पूजा लगाउँछौं, कसैको शव जलाउँछौं, कसैको गाड्छौं । किरातहरुले आफ्नो सभ्यतामा वर्णित कथा अनुसार शव पोल्न नपाउँदा काठमाडौंको किरातेश्वर क्षेत्रमा गरेको आन्दोलन धेरैलाई सम्झना होला । अहिले पाथिभरा सही कि मुक्कुमलुङ भन्ने अतितगामी बहस चर्चामा छ ।

आस्थाले अगाध विश्वास त कहिले अन्धतामा पुर्‍याउँछ । कथाहरुमा अक्सर अतीतको वर्णन हुन्छ । कहिलेकाहीँ त मन्दिर मस्जिद उठाउने कि भत्काउने विवाद नरसंहारसम्म पुग्छ । अतितमा कसैले कल्पेको कथालाई शाश्वत सत्यजसरी ग्रहण गर्दा वर्तमानमा जुन क्षति हुन्छ, त्यसको मूल्य चाहिँ भावी पुस्ताले चुकाइरहेको हुन्छ ।

प्रतिभा जीले कोटिहोममा भनेको एउटा कथा १६०६ विक्रम संवत्बाट सुरु हुन्छ । अर्थात् साढे चार सय वर्षअघिको भारतखण्डे कथाका पात्रहरुलाई उनी यस्तरी कथामा ल्याउँछिन्, हामी तिनलाई सत्य झैं गरी पत्याएर सुन्छौं ।

साहित्य वा आख्यानको पात्र सम्झेर ती कथा सुन्न थाल्ने हो भने रमाइला छन् । देवी प्रतिभा जीले संस्कृत साहित्य पढेकी छन् । उनमा कथावाचनको क्षमता विकास गर्न त्यो साहित्यले योगदान गरेको छ ।

कथावाचन क्षमताकै कारण आज उनको जीवनवृत्ति समेत राम्रोसँग चलेको छ । उनी सयौं वर्षअघिका काल्पनिक कथाहरु पनि कति राम्रोसँग आँखैअगाडि चित्रित भएझैं गरी दृश्यवर्णन गर्न समर्थ युवती हुन् । हामी कथाहरुमा लठ्ठिन्छौं, मन्त्रमुग्ध हुन्छौं । मोटिभेसनल स्पिकरदेखि बागेश्वर बाबासम्म हामीलाई सम्मोहित गर्न आइरहन्छन् । उनीहरुले नयाँ पुस्ताको रुचि निर्माण समेत गर्दैछन् ।

त्यसलाई युट्युबले अझ सजिलो पारिदिएको छ । इन्टरनेट कम्पनीदेखि सिमेन्ट कम्पनीसम्मले त्यसलाई प्रायोजन गरेका छन् । सिनेमा र संगीत अपलोड गर्ने बुढासुब्बा म्युजिकले अब भजनकीर्तन र कथावाचन पनि हाल्न थालेको छ । आफ्नो घर मण्डनदेउपुर पुग्दा उनलाई गाउँमा स्वागत गर्न प्रतिनिधिसभा सांसद गोकुल बाँस्कोटा पुगेका छन् ।

अर्थात् कथावाचनका कारण सिर्जित माहोलमा यति धेरै जनता मिसिइसकेका छन् कि कर्पोरेसनले त्यहाँ आफ्ना सम्भावित उपभोक्ता भेट्छ । नेताले मतदाता भेट्छ । पुरानो स्कुलले नयाँ विद्यार्थी तान्न देवी प्रतिभाको पुरानो शैक्षिक बखान गर्छ । यसरी यी सबै कुरा पुराण, धर्मशास्त्रमा लेखिएका कथाहरुलाई मिठोगरी भन्न सक्ने युवतीको कलाले जोडेको छ ।

केवल यत्ति कुरा छ– कथा भन्नेलाई फूलको माला यस्सै भनिएको होइन । भारतका चर्चित कथावाचकबीच देवी प्रतिभाजीले आफ्नो सुनाम चम्काएकी छन् । कम्तीमा कथा सुनाउनेलाई राम्रोसँग थाहा हुन्छ– म जे सुनाउँदैछु, यी सब काल्पनिक हुन् र यस क्षमताको कुशल प्रस्फुटनकै कारण मेरो करिअर अघि बढ्दो क्रममा छ ।

यदि विश्वास कहीँ छ भने वाचकको कथावाचन क्षमतालाई गरे हुन्छ । किनभने व्यक्तिमा कथा वाचन क्षमता छ भने फूलको मालालाई सुनको मालाभन्दा पनि मूल्यवान देखाउन सक्छ । कथालाई सरस बनाउने नाममा उनले फैलाएका कतिपय रुढीवादी तर्कहरुलाई जस्ताको तस्तै मान्दा भने आफ्नै चेतनशीलताकाे अवमूल्यन पनि हुन सक्छ ।

भनिन्छ, चराचर जगतमा मान्छे आफूभित्रको कथावाचन क्षमताकै कारण अरु प्राणीभन्दा ‘अगाडि’ गएको हो । मान्छेभित्र पनि उन्नत कथावाचकहरुले पाउने सुनको वा फूलको माला नै हो । देवी प्रतिभाजीलाई फूलका असंख्य माला, अनि पुष्पवृष्टिले शोभायमान तुल्याइसकिएको छ ।

तर कथाको पनि सीमा हुन्छ । कथालाई कल्पनाकै संसारमा कावा खान दिउञ्जेलसम्म तपाईंको जय हुन्छ, कल्पनालाई आफ्नो स्वार्थवश शक्तिशालीसँग जुधाउन थाल्नुभयो भने तपाईंको खतिसिवाय केही हुँदैन ।

नपत्याए झापाका पुष्कर खतिवडाको अवस्था हेर्नुस् । यमपूजा जस्तो प्राचीनकालीन वैदिक अनुष्ठानका नाममा कलियुगे नेपालखण्डे नेताहरुको तस्वीर राखेर काण्ड मच्चाउने हुँदा उनी यतिखेर काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् ।

स्टन्ट पनि मिलाएर गर्न जान्नुपर्छ । समाजको यथास्थितिवादी चेतनासँग ठ्याक्क फिट हुनेगरी कथा भन्न जानियो भने आँशु, हाँसो, ताली सबै पाइन्छ । अचेलको भाषामा भन्नुपर्दा सेलेब्रिटी नै भइन्छ । नत्र जुग नसुहाउँदो हास्यको पात्र मात्रै भइन्छ ।

किनभने अचेलको व्यवहारिक विज्ञानवादले विमानस्थलमा नयाँ प्लेनको उद्घाटनमा बोका काटेकोसम्म मान्छ । किनभने विमानलाई विज्ञानले उडाए पनि शुभ लच्छिन र स्वस्ति शान्तिको पुरातन कथा पत्याउने चाहिँ मान्छे आफू हो ।

पुष्पक विमान आफैंमा कथाकारको कल्पनाशीलता थियो । धर्म र सभ्यतापिच्छे यस्ता कथाहरु हुन्छन्, जसले हामीलाई समाजमा जोड्न, कहिलेकाहीँ त पुनर्स्थापित हुनसमेत सघाउँछन् । तर प्लेन कुन मितिमा खस्छ भनेर भविष्यवाणी नै हान्दिन थाल्दा भने टिभीमै धार्मिक कथाहरु भनिरहने खतिवडा ब्रदरसमेत हिरासत पस्नुपर्छ ।

बाँकी त, भन्नुपर्ने केही छैन । कथाको शक्ति अपरम्पार छ । हामीलाई स्कुलका ती शिक्षक अझै पनि सम्झनामा आउँछन्, जसले मिठोगरी कथा भन्न सक्थे । वा गणितकै फर्मुलालाई पनि कथाझैं बुझाउन सक्थे ।

युट्युबमा हामीले छान्ने अधिकांश कन्टेन्ट वा ‘स्टोरी’ मा कथातत्व छ । पशुपतिनाथ तीर्थाटनका लागि वा मन बहलाउनका लागि सधैं प्रिय छ । साउन त कथाकै महिना भइहाल्यो । देवी प्रतिभाजी दलबलसहित आए पनि कथा भन्नुहुन्छ । कथालाई कल्पनाको संसारमा छाडिदिउँ त, कति श्रुतिमधुर सुनिन्छ ! बाँच्नु त हामीले यथार्थमै पर्छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?