नेपाली साहित्यको आजको अवस्था के कसो छ, विविध विचारहरु बेलाबेलामा प्रवाहित भइरहेका देखिन्छन्। पुस्तकको बिक्री घटेको, पठन संस्कृति ह्रास हुँदै गएको जस्ता गुनासाहरु अलि ठूलो स्वरमा सुनिन थालेको छ । एकातिर यो अवस्था छ भने, अर्कोतिर प्रत्येक हप्ता नेपालका राजधानी सहित विभिन्न शहर तथा नेपाल बाहिर पनि पुस्तक विमोचन, नव प्रकाशित पुस्तकको चर्चा परिचर्चा कार्यक्रम, साहित्यिक गोष्ठी र साहित्यिक पुरस्कारहरुको घोषणा र वितरणका समाचारहरु पनि यथेष्ट रुपमा देख्न पाइन्छ। त्यसो भए सही के हो त ? नेपाली साहित्यमा सङ्कट मडारिइरहेको छ कि वसन्त बहारले हराभरा छ !
आफ्नो जीवनकालको अन्त्यतिर प्राध्यापक मोहनराज शर्माले भनेका थिए- “नेपाली साहित्य विषयगत हिसाबले फैलिएको छ। सीमान्तीकृतदेखि जातीय लगायत यसअघि नछोइएका विषयमा लेख्ने काम भएको छ, तर गहिराइ छैन।” साहित्यमा गहिराइ नहुनु चिन्ताको विषय हो। साहित्यको गहिराइ गद्यले भन्दा पद्यले बढी बोक्दछ, तर कविता भावको गहिराइतर्फ उन्मुख देखिंदैन । प्रा.डा. दयाराम श्रेष्ठको विचार छ- “कविता पढेर चाहिं अहिले म सन्तुष्ट हुन सक्दै सकिनँ, पटक्कै। किन–किन मैले त्यसमा गहिराइ नै भेट्टाउन सकिनँ। खालि बाहिरी कुराहरु मात्रै जोडजाम पारेर तुक जोड्यो अनि कविता भनिदिने!” दृष्टान्तका यी दुई विचार नेपाली साहित्यका गम्भीर समालोचकका हुन्, जसले साहित्य गहिराइउन्मुख हुन छाडेको बताउँछ। जब साहित्य गहिराइउन्मुख हुन छाड्दछ, त्यो साहित्यको लागि पनि गम्भीर सङ्कट हो।
नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा ठूलो भौतिक नेटवर्क भएको साझा प्रकाशन हो। तर साझा प्रकाशनको आफ्नो नियमित प्रकाशन सङ्ख्या एक हजारभन्दा बढी कहिल्यै भएन। त्यो एक हजार प्रति बिक्न पनि धेरैजसो कृतिले कैयन् वर्ष कुर्नुपर्ने नियति बदलिएन । निजी क्षेत्रको जेठो र लामो समय वर्चस्व कायम राख्न सफल रत्न पुस्तक भण्डारको नेटवर्क पनि राम्रो रहेको छ । तर पछिल्लो समय साहित्य प्रकाशनमा यो प्रकाशन त्यति अग्रसर छैन। पछि नेपालमा देखिएका प्रकाशन संस्थाहरुले पुस्तकको बिक्रीलाई नै पहिलो उद्देश्य र मानक बनाएका छन् ।
यद्यपि पछिल्लो चरणमा आएका यी प्रकाशन गृहहरुले पुस्तकको गेटअप राम्रो र सुन्दर शैलीमा प्रस्तुत गर्ने काम गरे। तर साहित्यिक मर्म एवम् साहित्यको गहिराइको सन्दर्भमा पुस्तकको रूप र बिक्रीको आँकडा नितान्त फरक पक्ष हुन् । बिके पनि नबिके पनि साहित्यिक मू्ल्यमा अन्तर आउँदैन, गहन अध्ययनकर्ताहरु गहन साहित्यकै खोजीमा हुन्छन् र त्यसले नै साहित्यलाई जीवित राख्छ, बिक्रीको आँकडाले होइन ।
प्रा.डा. गोविन्दराज भट्टराई भन्छन्, “प्रकाशकमा गुणको मूल्याङ्कन गर्ने क्षमता र आवश्यकता दुवै कुरा छैन, छ त केवल उत्तेजना उत्पन्न गर्ने निडरता, कहिलेकाहीं निर्लज्जताको स्तरमा पनि ओर्लेर।” यो भनाइ आफैंमा यौटा डरलाग्दो विस्फोट हो, नेपाली साहित्यका प्रसिद्ध विद्वान् प्राध्यापकको। उनी सशङ्कित हुँदै भन्छन्, “जसले जोरसित कराउन सक्छ, उसको आवाज धेरै टाढासम्म सुनिन्छ। मानिस कान थापेर त्यतै दौडिन्छ ।”
यी कुराहरु सत्य हुँदाहुँदै पनि ध्रुवसत्य त के हो भने हल्लाको आयु लामो हुँदैन। जतिसुकै चिल्लो र टलकदार बनाए पनि फलाममा ढिलो–चाँडो खिया लाग्छ । तर यो हल्लाले पाठकलाई दिग्भ्रमित बनाउने र समय र पैसाको नष्ट हुने अवस्थाको भने सिर्जना गरिदिन्छ । डा. भट्टराईको आजको ज्वलन्त चिन्ता हो ।
साहित्यिक पुस्तक पढ्ने सबैले पढेको जानकारी दिन्छन् भन्ने जरूरी छैन। गम्भीर पाठक अध्ययनमै केन्द्रित हुन्छन्। तर पनि पछिल्लो समय पठन संस्कृतिमा ह्रास पक्कै आएको छ। प्रकाशकहरु पुस्तक बिक्रीको आँकडा ओरालो लागेकोमा चिन्तित छन्। तर सामाजिक सञ्जालमा पुस्तक क–कसको हातमा पुगेको छ त्यसको फोटो प्रदर्शनको आत्मरति अर्को रोगको रूपमा देखिन्छ।
फेरि लेखकहरु आफ्नो कृतिको कुनै पनि कमी, कमजोरी, त्रुटि मरिगए मान्न तयार नदेखिनु झन् डरलाग्दो अवस्था हो। तारिफ मात्र प्रकाशित होओस्, आलोचना गरिएको छ भने सक्दो प्रकाशन हुनै नदिन समेत लेखकहरु लाग्ने गरेको देखिन्छन्। यसको मतलब उनीहरु सच्चिन नचाहेको, गल्ती महसुस गर्न नचाहेको भन्दा अरु के हुन सक्छ ? त्यति मात्र होइन, साहित्यकार र बुद्धिजीवीहरु समेत पठनमा भन्दा अरुथोकमै बढी केन्द्रित देखिन्छन् ।
“यति वर्ष भो लेखेको मेरो नामले चिन्छन् तर साँच्चै मेरा पुस्तक पढ्ने चाहिं कोही छैन जस्तो लाग्छ किनकि भेट्नेहरु पढेका कुरा गर्दैनन्।” यो चिन्ताजनक अभिव्यक्ति हो आजको समयका सिर्जनशील साहित्यकार डा. ध्रुवचन्द्र गौतमको। धेरैजसो लेखकले भोगेको यथार्थ पनि यही हो ।
नेपाली भाषा साहित्यको प्रवर्धनमा नेपाली साहित्य अध्यापन हुने विश्वविद्यालयको ठूलो हात छ। तर विशेषगरी एम.ए. तहमा हुने शोधपत्र लेख्ने अधिकांश विद्यार्थीहरु परीक्षा पास गरेर प्रमाणपत्र लिनमै बढी केन्द्रित देखिनाले तिनले गम्भीरतापूर्वक अध्ययन अनुसन्धान गरी गहिराइमा पसेर कृति र योगदानको विश्लेषण गर्न लागिपरेको पाइँदैन । कतिपय शोध निर्देशकहरु पनि उतिसारो गम्भीर भएर तिनलाई निर्देशन गर्न सक्षम देखिंदैनन्। फलतः ती शोधपत्रहरु परीक्षा पासका कर्मकाण्ड मात्र देखिन्छन् । २–४ वटा शोधपत्रबाट तानतुन पारेर लेखेर वा लेखाएर सो कर्मबाट पार पाउने मनसायमा ती अडिग हुन्छन् । एकातिर यो अवस्था छ भने कतिपय लेखकहरु शोधपत्र लेखाउन मरिहत्ते गरेर लाग्ने र तिनलाई सामाजिक सञ्जालमा प्रतिष्ठा प्रदर्शनको आत्मरतिमा लटपटिएका देखिनु, साहित्यिक गम्भीरताको बिजोकीकरणको भद्दा दृश्य बाहेक अरू केही ठहरिंदैन ।
साहित्य व्यवसाय हुन सक्छ कि सक्दैन ? यो अर्को ज्वलन्त प्रश्न हो । नेपालमा डायमण्डशमशेर राणा ‘लेखेको पैसाले बाँचेको हुँ’ भनेर खुलेरै भन्थे । तर मैले कहिल्यै विश्वास गरिनँ। उनको लेखकस्वले उनको जीविका चल्ने कुरामा किन विश्वास लागेन भने उनको जीविका चलाउने पारिश्रमिक दिने प्रकाशकहरु अपरिचित थिएनन् र उनको रहनसहन र खानपान लेखकस्वले नि:सन्देह पुग्ने कुरा थिएन ।
पछिल्लो समय केही नयाँ पुस्ताका लेखकहरु लेखस्वले नै बाँचेको भन्दछन् । यौटा हातको औंलाभन्दा कम लेखक त्यसरी बाँच्दछन् भने पनि त्यसले समग्र नेपाली साहित्यको प्रतिनिधित्व गर्दैन । पछिल्लो समय त प्रकाशकले लेखकलाई पारिश्रमिक दिने कुरा त परै जाओस्, लेखकसितै पैसा लिने प्रकाशकहरु समेत देखिएका छन् । तिनीहरुको जगजगी बढ्दै गएको साहित्यिक जगतमा खासखुस चल्छ। तर लेखकहरु मैले ‘राम्रो रोयल्टी’ पाएँ भनेर ‘सफेद झूट’ बोलेर आत्मरतिमा रमाइरहेका देखिन्छन् । रोयल्टी दिन नपर्ने भएपछि र लगानी समेत गर्नु नपर्ने भएपछि त्यस्ता प्रकाशकले कृतिको गुणवत्तालाई प्राथमिकतामा राख्नुपर्ने अवस्था नरहँदा साहित्यको नीलो आकाशमा कालो बादल मडारिएको भन्नु अन्यथा ठहरिन्न ।
नेपाली साहित्यमा सबल र नेपाली साहित्यलाई काँधमा बोक्ने, साहित्यिक युग निर्माता साहित्यिक पत्रिकाको सङ्ख्या अति अल्प छ। फलानो पत्रिकामा छापिन पाउनु गर्वको कुरा हो भन्ने खालका साहित्यिक पत्रिकाहरु नगण्य सङ्ख्यामा छन्। नयाँ साहित्यिक पत्रिकाको प्रकाशन दुर्लभ झैं भएको छ । जसले गर्दा साहित्यकारहरुको अभ्यासकालीन समय सीधै सामाजिक सञ्जालमा निर्बन्ध, निर्बाध प्रकाशन गर्न सकिने भएर र जे पस्किदिए पनि पढ्दै नपढी ‘वाह् ! उहु’ गर्ने जमातले तिनलाई स्तर वृद्धिमा तगारो लगाइदिएका छन्। पारिश्रमिक दिने साहित्यिक पत्रिका दुर्लभ छन् ।
साहित्यिक पत्रिकालाई आफ्नै खुट्टामा उभिने ‘संस्था’ बनेका साहित्यिक पत्रिका दुर्लभ छन्। त्यसैले साहित्यिक पत्रिकाको सम्पादन भनेको आएको सामग्री, पाएको सामग्री सङ्कलन र मुद्रण गरिदिने माध्यम बन्नाले साहित्यिक स्तरवृद्धितर्फ ध्यान पुग्न सकेको छैन। बहुसङ्ख्यक अनलाइन मिडिया पाएको सामग्री जस्ताको तस्तै प्रस्तुत गरिदिन्छन्, किनभने उनीहरुलाई छिटोछिटो नयाँ सामग्री पस्केर पाठक तान्नु छ। यद्यपि अनलाइनका पाठक धेरैजसो शीर्षक मात्रै हेर्नेको बाहुल्य देखिन्छ। बरु लेखक साहित्यकारहरु सीधै पुस्तक प्रकाशनमा ‘हाम्फाल्ने’ परम्पराको विकास भएको छ। लामो समय अभ्यासकालीन प्रक्रियामा लागेर पहिचान बनाएपछि पुस्तक प्रकाशनमा जाने परम्पराको अन्त्य भएको छ ।
एकातिर आकर्षक पारिश्रमिक दिने साहित्यिक पत्रिका प्रकाशन गर्ने संस्थाको अभाव छ भने, अर्कोतिर पुरस्कार र सम्मान दिने संस्थाहरु भने दिनानुदिन बग्रेल्ती देखा परेका छन् । साहित्यिक क्षेत्रमा पुरस्कार, सम्मानको स्थापना हुनु एकदमै उचित र स्वागतयोग्य कुरा हो । तर अधिकांश पुरस्कार, सम्मान दिने कुनै मापदण्ड नहुनाले दाताले दिन चाहेकोलाई पुरस्कृत गर्ने, दिलाउन सक्नेले दिलाउने, लिन सक्नेले लिने, नदिलाउन प्रयत्न गर्नेले नदिलाएर बहादुरी गर्ने वस्तुको रुपमा कुख्यात हुनु चिन्ताको विषय हो । स्पष्ट मापदण्ड भएकै पुरस्कारमा समेत बेलाबखत प्रश्नचिह्न लाग्ने गरेको सन्दर्भमा विना मापदण्डका पुरस्कारहरुको हरिबिजोक देखिन्छ। अझ कतिपय संस्थाहरु त पुरस्कार के हो, सम्मान के हो समेत छुट्याउन असमर्थ देखिन्छन् । कतिपय पुरस्कार पुस्तकको विमोचनअघि नै घोषणा भएका पनि देखिएका छन्। पहिला कनिष्ठलाई दिएर पछि वरिष्ठलाई पुरस्कृत सम्मानित गरिएका दृष्टान्त त धेरै संस्थाहरुमा बग्रेल्ती देखिन्छन्।
पछिल्लो समय केही नेपाली साहित्यकारहरु ‘विधा निर्माण’ मा ज्यान दिएर लागेका छन्। हो, साहित्यमा प्रयोग हुन्छ । नयाँ कुराको थालनी हुन्छ। हुनु पनि पर्दछ। तर त्यसको मूल शर्त त साहित्य नै हो। ती लेखन साहित्यिक गुणवत्तायुक्त त हुनै पर्दछ। अक्षर गनेर, शब्द गनेर, हरफ गनेर साहित्य हुँदैन। साहित्य भनेको अक्षर र शब्दहरुबाटै निर्माण हुन्छ । तर अक्षर र शब्दको थुप्रो भने साहित्य होइन। अझ एकै व्यक्ति एकभन्दा बढी ‘उपविधाका जनक वा निर्माता’ बनेका समेत देखिएका छन् । यस्तो आत्मरतिले साहित्यमा खासै योगदान पुग्ने कुनै दृष्टि वा दृष्टिकोणबाट देखिंदैन ।
कुनै पनि साहित्यलेखन अनुवाद गरेर अर्को भाषामा जाँदा पनि साहित्य हुन सक्यो भने त्यसको मूल्य रहन्छ। दृष्टान्तको लागि जापानी कवि माचुओ वाशोको एउटै हाइकुले उनलाई विश्वले चिन्दछ। उनको त्यो हाइकु विश्वभरि अनुवाद भएको छ र त्यस हाइकुले बोक्ने अर्थ संसारका सबैले बुझेका छन् । व्याख्या, विश्लेषण गरेका छन्। त्यसको लागि चाहिने चिन्तन, अध्ययन, मनन, व्याख्या, विश्लेषणको जरूरी हुन्छ। तर हामीकहाँ देखिएका यी विधा, उपविधा निर्माण फगत सस्तो फेसन र साहित्यिक सिद्धान्तको जगविहीन एक प्रकारको गाईजात्रा झैं देखिएको छ।
पठन संस्कृतिका पहिलो पाठक लेखकहरु नै हुन् । भनिन्छ, यौटा लेखकले एक पुस्तक लेख्नुअघि सयौं पुस्तकको अध्ययन गर्नुपर्दछ । ती पुस्तकहरुको अध्ययनको मूल कारण समसामयिक लेखनमा कस्तो प्रवृत्ति छ त्यसको जानकारीको लागि हो। त्योभन्दा पनि आफूले जुन विधामा लेख्ने हो त्यो विधामा आफ्ना अग्रजका पुस्तक अध्ययन नगरी लेख्नु त्यति उपयुक्त होइन । आफ्ना अग्रजहरुले कुन विषय र शैलीमा आफूअघि के कस्ता रचना लेखिसकेका छन् त्यो जान्नु कुनै पनि नवलेखकको ‘आवश्यक न्यूनतम योग्यता’ हो । कथा विधामा लेख्नेले गुरुप्रसाद मैनाली, गोविन्द गोठाले, भीमनिधि तिवारी, पारिजात, प्रेमा शाह, इन्द्रबहादुर राई, ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा आदिका कथा पढेका छैनन् वा ती लेखकका लेखनसँग परिचित छैनन् भने, उनीहरुको कथामा के नै आशा गर्न सकिन्छ । यो पुस्ताभन्दा पछि कथा लेख्ने अरु कथाकारहरु पनि प्रशस्त छन्। सबैका पुस्तक बजारमा सहज नहुन सक्ला, तर पुस्तकालयमा त छ नि ! आज कति लेखक आफ्नो लेखन तिखार्न पुस्तकालयमा अध्ययन गर्न जान्छन् ? यो अति गम्भीर र सोचनीय प्रश्न हो । आफ्नो भाषाको साहित्य नित्य निरन्तर पढ्नाले ‘शब्द शक्ति’ मा वृद्धि हुन्छ। शब्द शक्ति ह्रास हुँदै गएपछि लेखनको स्तर निरन्तर ओरालो लाग्नुको विकल्प छैन ।
घोष्ट राइटिङ अथवा प्रेत लेखन विश्वमै चलेको एक प्रवृत्ति हो । विशेषगरी आत्मकथात्मक कृतिहरु सम्बन्धित व्यक्तिले टेप गरिदिने वा खेस्रा लेखेर दिएपछि प्रेत लेखकले त्यसलाई सग्लो र पठनीय रुपमा प्रस्तुत गरिदिने प्रचलन हुन्छ । कतिपय यस्ता पुस्तकहरुमा ‘फलानाले भने अनुसार’ भनेर जताइएको हुन्छ । कतिपयले साथमा ‘फलानो’ भनेर लेख्ने प्रचलन पनि हुन्छ । नेपालमा पनि घोष्ट राइटिङ नेपाल नामको संस्था नै खोलेर औपचारिक रुपमा प्रेत लेखन सार्वजनिक रुपमै देखा परेको हो । तर यस्तो प्रेत लेखन ‘सिर्जनात्मक लेखन विधा’ मा भने गरिंदैन। कथा, कविता, उपन्यास, निबन्ध जस्ता सिर्जनात्मक विधाका रचना लेखकको मौलिक नै हुनुपर्दछ। त्यसमा लेखकको निजी शैलीको खोजी गरिन्छ । सिर्जनात्मक लेखनको मन र मुटु नै निजत्व हो ।
तर नेपालमा यस्ता सिर्जनात्मक कृतिहरुको पनि प्रेत लेखन गोप्य रुपमा हुने गरेको छ। यसरी प्रेत लेखन हुँदा एउटा लेखकको फरक–फरक पुस्तक फरक–फरक भाषा शैलीमा देखिएका छन्। गम्भीर पाठकले सहजै यो थाहा पाउन सक्दछन् । यस्तो प्रेत लेखन नेपाली साहित्यमा ‘सम्पादन’ को नाममा ‘लुतो रोग’ झैं फैलिंदो छ र विशेषगरी नेपाल बाहिरका लेखकहरुमा यो फैलिंदो छ । पैसाको ढाडमा चढेर लेखक हुनेहरुले साहित्यमा प्रदूषण फैलाइरहेका छन् भने ‘सम्पादन’ को नाममा प्रेत लेखन गरिदिनेहरुले यसलाई मलजल गरिरहेका छन् ।
यी र यस्ता अरु पनि समस्या र सङ्कटले नेपाली साहित्य अहिले जकडिएको छ। तर पनि निराश भने भैहाल्नुपर्ने देखिन्न । वर्षाको भेल जतिसुकै मैलो र बाढी प्रभावकारी देखिए पनि बाढीको आयु लामो हुँदैन । बाढी निख्रिएपछि त सङ्लो पानीको नदीले आफ्नो अनुहार देखाउन पाउँछ । रूख जतिसुकै मोटो भए पनि त्यसमा धमिरा लागे पनि ‘चुरो’ चाहिं भित्र हुन्छ, सानो नै किन नहोस्! त्यसको आयु लामो हुन्छ। संसारमा सबैभन्दा बलवान् समय हो। यसको बाढीले धेरै बलिया संरचना र कृतिहरु बेपत्ता बनाइदिन्छ। तर जुन बच्छ, त्यसले युगको प्रतिनिधित्व गर्छ । ती बढारिएका कुराहरु पनि त्यो बाँचेको अवशेषको साथमा तपसिलमा आउँछ नै। साहित्यिक युगको प्रतिनिधि पात्र बन्ने कि तपसिलको हुलमा, त्यसको रोजाइ लेखक साहित्यकारको आफ्नै हातमा छ, आफ्नै चिन्तनमा छ, आफ्नै रोजाइमा छ ।
फल्स चर्च, भर्जिनिया अमेरिका
प्रतिक्रिया 4