
१२ भदौ, काठमाडौं । नेपाली हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कार शुक्रबार राजधानीमा वितरण गरिएको छ ।
२०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशी शाहलाई प्रदान गरिएको छ । त्यस्तै २०७७ सालको हास्यव्यङ्ग्य अभिनय तर्फको पुरस्कार किरण केसी (रातामकै) लाई प्रदान गरिएको छ ।
यी दुवै पुरस्कारको राशी एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ । वरिष्ठ साहित्यकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीहरूको उपस्थितिमा शाह र केसीलाई पुरस्कार प्रदान गरे ।
घिमिरेले पुरस्कृत वरिष्ठ कलाकार शशी शाहको नेपाली आधुनिक कलासँगसँगै हास्यव्यङ्ग्य चित्रकलामा पनि विशिष्ट योगदान रहेको बताए । पुरस्कृत अर्का स्रष्टा किरण केसीको हास्यव्यङ्ग्य अभिनय जीवन्त रहेको घिमिरेले बताए ।
स्रष्टा केसीले पुरस्कार स्वरुप आफूले पाएको रकममध्ये ९० प्रतिशत समाजसेवामा खर्चने जानकारी दिएका छन् । सोही अवसरमा गुठीका अध्यक्षसमेत रहेकी लुइँटेलकी छोरी डा. सुष्मा आचार्यका कृति ‘कसले सुन्छ मेरो आवाज’ (उपन्यास) र सोहीको अङग्रेजी अनुवाद ‘हु विल हियर माई भोइस’ को वरिष्ठ साहित्यकार घिमिरे र पुरस्कृत स्रष्टाद्वयले विमोचन गरे ।
प्रतिक्रिया 4