
१२ भदौ, जनकपुरधाम । मधेशका महिला अहिले पनि धेरै पछाडि छन् । मधेशभित्रको मुस्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किंदा बुर्का लगाउनुपर्ने क्रम केही घटे पनि मधेशमा तुलनात्मक रुपमा मुस्लिम महिला सामाजिक रुपमा पछाडि नै छन् ।
पछाडि परेको यो समुदायबाट चिकित्सा क्षेत्रमा अगाडि आएकी छिन् जेवा खातुन । जेवा हालै एमबीबीएस उत्तीर्ण भएर डाक्टर बनेकी छन् ।
सप्तरीको खडक नगरपालिका–८ कल्याणपुर निवासी खातुन ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण भएकी हुन् । उनी हाल पाटन अस्पतालमै काम गर्दैछिन् ।
सप्तरीको मुस्लिम समुदायबाट उनी पहिलो महिला चिकित्सक हुन् । गौरी सेकेण्डरी जनकपुरबाट २०६९ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण जेवाले विराटनगरस्थित अरनिको कलेजबाट प्लस टु गरिन् ।
‘मेरो अभिभावकले पढ्नुपर्नेमा जहिले पनि जोड दिइरहनुभयो, त्यही भएर लगातार पढ्ने काम मात्रै गरें’ जेवा भन्छिन्, ‘अभिभावकको सहयोगले नै एमबीबीएस पढ्ने सौभाग्य पाएकी हुँ ।’
प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेपछि जेवाले चिकित्सा शिक्षा पढ्ने इच्छा रहेको बुवाआमालाई सुनाइन् । उनीहरुले निर्णयमा साथ दिएपछि काठमाडौं गएर तयारी गर्न थालिन् ।
जेवाले छात्रवृत्तिमा नाम निकाल्न सकिनन् । यद्यपि अभिभावक पैसा तिरेरै पढाउन तयार भए । ‘अभिभावकले डोनेसन तिरेरै मलाई एमबीबीएस पढ्न लगाउनुभयो । अहिले उत्तीर्ण भएकी छु’ उनी भन्छिन्, ‘अभिभावकको लगानीको सदुपयोग भएको छ । र, उहाँहरु पनि खुशी हुनुभएको छ ।’
जेवाका पिता फिरोज खान व्यवसायी हुन् भने आमा यास्मिन सुल्तान खडक नगरपालिकाकी उपमेयर । यी दम्पतीका पाँच सन्तानमध्ये जेवा जेठी हुन् । तीन छोरीमध्ये माइली पनि एमबीबीएस प्रवेश परीक्षाको तयारीमा छन् ।
जेवाका दुई जना भाइबहिनीले ११ कक्षाको पढाइ सकेका छन् भने सानो भाइ १० कक्षामा अध्ययनरत छन् ।
सानौदेखिको सेतो कोट लगाउने इच्छा
सानैदेखि जेवाको उद्देश्य डाक्टर बन्ने थियो । नर्सरीमा पढ्दै गर्दा सेतो कोट लगाएको व्यक्ति डाक्टर हो र उसले बिरामीको उपचार गर्ने जानकारी पाएपछि ठूलो भएपछि डाक्टर बन्ने लक्ष्य राखेको उनले बताइन् ।
सानैदेखिको इच्छा पूरा भएपछि आफू एकदमै खुशी भएको उनको भनाइ छ । ‘शायद अभिभावकले यो होइन, यो पढ भन्दा इच्छा पूरा हुने थिएन’ उनी भन्छिन्, ‘अभिभावकले यही विषय पढ्नुपर्छ भनेर कहिल्यै कर गर्नुभएन ।’
अभिभावकले पढाइमा हौसला प्रदान गरेको तर कुनै कुरामा रोक नलगाएको जेवा बताउँछिन् । ‘यसैले मलाई यहाँसम्म पुर्याउनुमा आमाबुवाकै सबैभन्दा बढी योगदान छ’ उनी भन्छन् ।
छोरीलाई विश्वास गर्नुस्, शिक्षा दिनुस्
मुस्लिम समुदायमा सानै उमेरमा विवाह गर्ने चलन अझै छ । जसका कारण महिलाहरु पढ्न पाउँदैनन् । जेवा भने छोरीहरुलाई पढ्न दिनुपर्ने बताउँछिन् ।
‘मुस्लिम महिलालाई पनि अगाडि आउन शिक्षा ग्रहण गर्नु जरुरी छ’ अभिभावकलाई उनको आग्रह छ, ‘छोरीलाई शिक्षा दिनुहोस् । छोरीमाथि विश्वास गर्नुहोस् ।’
अभिभावकले छोरीको विश्वास गरेमा छोरीले त्यो विश्वास नतोड्ने उनी बताउँछिन् । ‘मलाई आज अभिभावकले विश्वास नगरेको भए म डाक्टर बन्ने थिइनँ’ उनी भन्छिन्, ‘अरुले पनि यो कुरा बुझ्नुपर्छ र, छोरीलाई पढाउनुपर्छ ।’
प्रतिक्रिया 4