+
+

थारू भाषाको गीत ‘हे जितमहान’को म्यूजिक भिडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १७:३१

१ असोज, काठमाडौं । आदिवासी थारू महिलाहरुको मौलिक पर्व जितिया नजिकिँदै गर्दा सोही संस्कृति झल्किने थारू भाषाको गीत ‘हे जितमहान’को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरी (टीएफसीए)को युट्‍युब च्‍यानलमार्फत थारू भाषामा जितियाको (तिहार)को म्‍युजिक भिडियो सार्वजनिक गरेको हो।

नवीन चौधरी (थारू)को शब्द रचना रहेको उक्त गीतमा अनुमा चौधरी र सुनिल चौधरीले स्वर दिएका छन् भने सुनिल चौधरीको संगीत रहेको छ । गीतमा समीक्षा चौधरी र सोनु कुश्मीले कोरसमा साथ दिएकी छिन् ।

उक्त गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् भने चन्द्र चौधरीको रहेको छ । यस्तै गीत म्‍युजिक भिडियो जनक चौधरीले गरेका छन् भने सम्पादन हेमन तामाङले गरेका छन् ।

यस्तै उक्त गीतको म्‍युजिक भिडियोको छायांकन थारू बाहुल्‍य जिल्ला सुनसरीको रामधुनी, परिहारपुर र मधैली गाउँमा गरिएको छ।

थारु संस्कृति झल्किने उक्त म्‍युजिक भिडियोको मूख्‍य भूमिकामा सबिता चौधरी, गोविन्द चौधरी देखिएका छन्।

पूर्विया थारू समुदायमा जितियाँ कसरी मनाइन्छ भन्‍नेबारे जानकारी तथा मौलिक संस्कृतिको जगेर्ना गर्नको यो म्‍युजिक भिडियो बनाउनु परेको थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका सचिव जनक चौधरीले बताए ।

उनले भने, ‘तराइमा थारू महिलाहरुको मौलिक पर्व जितियालाई गीतमार्पत जगेर्ना गर्नको लागि यो गीत र म्‍युनजिम भिडियो बनाएका हौं। हामीले थारू संस्कृति झल्कने अझै गीत र म्‍यूजिमक भिडियो निरन्तर बनाउने तयारीमा छौं।’ यसवर्ष जितिया पर्व असोज १३ गते बुधबार परेको छ ।

के हो जितिया पर्व ?

आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी तराइमा बसोबास गर्ने थारू महिलाहरुले मनाउने पर्व हो जितिया । असोज कष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिन नहाय खाएर यो पर्व सुरु हुन्छ ।

नहाय खाने दिन (सोमबार) वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छनन् । यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (मंगलबार) वर्तालु महिला २४ घण्टा लामो निराहार उपवास बस्ने गर्दछन् । उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ ।

यस पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरिन्छ । पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्वको समापन गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?