
६ असोज, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम राइसीले इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको चर्को आलोचना गरेका छन् ।
पहिलोपटक राष्ट्रसंघको महासभामा भाग लिएका राइसीले अमेरिकाले ‘युद्धको संयन्त्र’को रुपमा इरानमाथि प्रतिबन्ध लगाएको बताएका छन् ।
मंगलबार महासभामा बोल्दै राइसीले अमेरिकाले विश्वका मुलुकहरुसँग लड्नका लागि अमेरिकाले नयाँ किसिमको युद्धको रुपमा प्रतिबन्धलाई लिएको राइसीको आरोप छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको समयमा पनि यस किसिमको प्रतिबन्ध जारी राख्नु ‘मानवताविरुद्धको अपराध’ भएको बताएका छन् ।
अमेरिकाले लगाएको प्रतिबन्धमा मानवीय सहायता कार्यक्रमलाई रोकिएको छैन । यद्यपि इरानले औषधि र उपकरण खरिदमा भने धेरै कठिनाइको सामना गर्नुपरेको छ । इरान मध्यपूर्वमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकमध्येको एक हो ।
अमेरिकाको चर्को आलोचना गरेपनि राइसीले वार्ताको लागि भने तयार रहेको बताएका छन् । उनले सबै किसिमको प्रतिबन्ध हटाउने गरी वार्ता हुने हो भने त्यसमा बस्न तयार रहेको बताएका छन् । उनले थपे, ‘हामी अमेरिकी सरकारले गरेको वाचामा कुनै विश्वास गर्दैनौं ।’
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4