
१७ कात्तिक, काठमाडौं । नेपाली चलचित्रको नायकका बारेमा रहेको परम्परागत धारणामा परिवर्तन हुन थालेको सरोकारवालाहरुले बताएका छन् ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार काठमाडौंमा गरेको ‘सिनेमामा नायकत्वको प्रश्न’ विषयक भर्चुअल बहसमा सहभागी चलचित्रकर्मी, सञ्चारकर्मी तथा शिक्षाविद्हरुले नायकजस्ता पात्र निर्माण भएपनि ‘फर्मूला’मा आधारित नायक पात्रको विस्तारै अवसान हुँदै गएको बताए ।
शिक्षाविद् रेसु अर्याल ढुंगानाले गुणैगुणले भरिएको परम्परागत नायकको रुप परिवर्तन हुँदै अवगुण पनि भएको नायक चलचित्रमा देखा पर्न थालेको बताइन् । पछिल्लो समय अभिनेत्री रेखा थापा लगायतले पनि नायकत्वको गुण विकास गरेको उनको भनाइ थियो । शिक्षाविद् अर्यालले नायकलाई खडा गरेर उसको नायकत्वको लागि कृत्रिम वातावरण बनाइने गरेको र त्यसले बालबालिकामा नकारात्मक प्रभाव पार्ने बताइन् ।
बहसमा सहभागी निर्देशक दीपेन्द्र खनालले नायक सर्वगुण सम्पन्न पुरुष नै हुनुपर्छ भन्ने आम बुझाइ रहेकोमा यो समयसँगै परिवर्तन हुन थालेको बताए । आफूले अहिले चलचित्र निर्माण गर्दा हरेक पात्रलाई नायककै रुपमा बुझेको उनको भनाइ थियो ।
सञ्चारकर्मी तथा निर्देशक संगीता श्रेष्ठले राम्रो लुगा लगाउने निरीह र अबला नायिकालाई बचाउने पात्रलाई नै नायक भन्ने अवधारणा विस्तारै परिवर्तन हुँदै गएको बताइन् । ‘मिडियामा समेत कुराकानीको लागि बोलाउँदा पुरुष कलाकारलाई प्राथमिकता दिइन्थ्यो,’ उनले भनिन्, ‘बुझ्दै जाँदा नायकत्वको रुप परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो, अनि फिल्म बनाउँदा मैले मेरो मुख्य पात्रहरु सबैलाई नै नायक बनाउनुपर्छ भन्नेमा पुगें ।’
बहसमा सहभागीहरुले समाजभन्दा फरक काल्पनिक नायकको पात्र खडा गरेर सुपर हिरो जन्माउन नभई जुनसुकै पात्र पनि कथाभित्रको नायक हो भन्ने अवधारणा विकास गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4