
२१ मंसिर, काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुलाई दिइएको सुन ल्याउने सुविधा दुरुपयोग गर्दै एक सातामा ५७ करोड ३४ लाख २१ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको छ ।
मंसिर १३ गते सोमबारदेखि १९ मंसिरसम्मको ७ दिनको अवधिमा एक हजार ५३० यात्रु सुन बोकेर नेपाल आएका थिए । उनीहरुले ७२ किलो ७ सय ग्राम छापावाल सुन नेपाल भित्र्याएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
फेला परेका सुनको भन्सार तिराएर यात्रुलाई नै फिर्ता दिइएको छ । तर यो सुन यात्रुले व्यक्तिगत प्रयोजनका लागि ल्याएका हुन् वा तस्करले भन्ने पहिचानमा भने सरकारले थप काम गरेको देखिन्न । अवैध भन्दै झिटिगुण्टा सुविधामा कर लगाउने तर सुन ल्याउने वास्तविक श्रमिक हुन् वा तस्कर भन्ने थप छानबिन नगर्ने सरकारी नीतिले थप संशय पैदा गरेको छ ।
एक सातामा भित्रिएको सुन
भन्सार विभागले अगि्रम जानकारी गराएर सुनमा थालेको कडाइका बाबजुत पनि विमानस्थलबाट सुन भित्रिन रोकिएको छैन । भन्सारको एक साताको तथ्यांकले औसत दैनिक १० किलो सुन झिटिगुण्टा सुविधा दुरुपयोग गर्दै नेपाल भित्रिएको देखिन्छ ।
दुबई, मलेसिया र कतारबाट मंसिर १३ देखि १९ गतेसम्म सुन बोकेर १५ सय ३० यात्रु नेपाल आएका थिए । मंसिर १३ गते ४ सय १५ जनाले २१ किलो, १४ गते २२१ यात्रुले ११ किलो सुन बोकेर नेपाल आए । मंसिर १५ गते ३२६ यात्रुले १५.१६ किलो सुन नेपाल भित्र्याए भने १६ मंसिरमा २११ यात्रुले ९.७७ किलो सुन बोकेर आए ।
यस्तै १७ मंसिरमा १५० यात्रुले ६.२५ किलो सुन ल्याएका थिए भने १८ र १९ गते ११० यात्रुले ५.२५ किलो सुन नेपाल लिएर आएका थिए । एक सातामा भित्रिएको कुल ७२.७ किलो सुनमध्ये विमानस्थल भन्सार कार्यालयबाट १३ सय ४१ जना यात्रुले ५६.३ किलो सुन भन्सार तिरेर लगेका छन् । अझै १८९ यात्रुले १६.४ किलो सुन भन्सार तिरेर लैजान बाँकी छ ।
आइतबार राति मध्यरातसम्मको विवरणअनुसार सुनको कडाइ गर्दा कुल ७ करोड रुपैयाँ राजश्वमा योगदान पुग्ने अनुमान गरिएको छ ।
राजश्व तिराउँदा पनि सुन ल्याउनेलाई केही नाफा कायमै रहनु, नियमित रुपमा सुन भित्रिरहनु र आएकामध्ये पनि अधिकांश यात्रुले सुनको भन्सार तिरेर फिर्ता लैजानुले विमानस्थलबाट सुन भित्राउने क्रम कम हुने देखिन्न ।
भन्सार तिराउँदा पनि सरकारलाई घाटा
नेपालीले सुन भित्र्याउने मुलुकमा नेपालमा भन्दा सुन प्रतितोलामा १० हजार रुपैयाँ सस्तो पाइने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बैंकबाट नेपाल भित्रिने सुनमा भन्सार, भ्याट र व्यापारीले तिर्ने आयकर गरी सरकारलाई तीन प्रकारको आर्जन हुन्छ ।
तर, भिटिगुण्टाबाट आउने सुनमा भन्सार मात्रै सरकारको राजश्वमा जान्छ । खरिद गर्ने मुलुकमै १० हजार रुपैयाँ सस्तो परेको सुनमा भन्सार लगाउँदा पनि सुन नेपालको मूल्यभन्दा केही सय सस्तो पर्ने महासंघले जनाएको छ । अहिले विमानस्थलले ५० ग्रामसम्मको सुनमा प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ राजश्व तिराउने गरेको छ ।
नजिकबाट नियालीरहेका छौं : अर्थमन्त्रालय
विमानस्थलबाट भित्रिएको सुन वास्तविक यात्रु वा तस्करको प्रयोजनमा भित्रिएको भन्नेबारे अध्यन भइरहेको दाबी अर्थ मन्त्रालयले गरेको छ । एक हप्ताको सुन भित्रिने ट्रेण्डलाई नियालीरहेको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । यात्रु र तस्करी प्रयोजनबारे कस्तो प्रकारको अनुसन्धान कसरी भइरहेको भन्ने खुलाउन नचाहेका उनले झिटिगुण्टा सुविधा समीक्षासम्मको विषय मन्त्रालयले अध्ययन गरिरहेको दाबी गरे ।
‘नजिकबाट भन्सारले अध्ययन गरिरहेको छ, हामी यो सुबिधाबारे निर्मम समीक्षा गर्छौं । यो सुविधा यात्रुले लिए वा तस्करीमा प्रयोग भयो हेरिन्छ,’ प्रवक्ता शाक्यले भने । भन्सारले गर्ने सिफारिसमा मन्त्रालयले थप निर्णय लिने दाबी उनको छ ।
प्रहरी भन्छ ‘सुन तस्करीकै हो’
विमानस्थलबाट भित्रिएको सुन वैधानिक र तस्करी प्रयोजनका लागि हो भन्ने बुझेको नेपाल प्रहरीले भने यस प्रकरणमा आफनो थप सक्रियता देखाएको छैन ।
तस्करी प्रयोजनमै सुन आएको पुष्टि पछि सरकारी संयन्त्रको आन्तरिक सल्लाहमा भन्सारमा कडाइ गरेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।
विमानस्थलबाट सुन ल्याउने यात्रुबाट बाहिर कसैले संकलन गरेर सुनको कारोबार गर्ने विभिन्न घटनापछि यस्तो कडाइ गरिएको प्रवक्ता कुँवरले बताए । अहिले भन्सारमै कडाइ गर्न थालेपछि सुन आउने क्रम घटेको भन्दै उनले तत्कालै यात्रु र तस्करी प्रयोजनबारे भने थप छानबिनको अवस्था नरहेको उनको भनाइ छ । ‘भन्सार तिरेर लिएका सुन वैध हुन्छ, अब यसमा हामीले यो सुन तस्करी वा यात्रुले व्यक्तिगत प्रयोजनका लागि ल्याए भन्दै खोज्न मिल्दैन,’ प्रवक्ता कुँवरले भने । सुनकै कारण अर्थतन्त्रमा ठूलो असर पर्यो र सरकारले थप खोजी गर्नुपर्ने देख्यो भने प्रहरीले अनुसन्धान अघि बढाउने उनले बताए ।
‘सुन आयातको उद्देश्य पहिचान गरिनु पर्छ’
विमानस्थलबाट भित्रिएको सुनको उद्देश्य पहिचान गर्न नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघले माग गरेको छ । वास्तविक श्रमिकका लागि दिइएको सुविधाको दुरुपयोग गर्नेलाई कानुनी कठघरामा उभ्याउनु पर्ने महासंघका महासचिव किसान सुनार बताउँछन् ।
‘विमानस्थल भन्सारले थालेको काम गलत काम गर्नेका लागि सह्रानीय भए पनि दुई-चार पैसा कमाउने विदेशिएका श्रमिकका लागि ठीक होइन,’ महासचिव सुनार थप्छन् ‘गलत उद्देश्यले श्रमिकलाई भरिया बनाउनेलाई सरकारले कानुनी दायरामा ल्याउनै पर्छ ।’ तस्करी प्रयोजनमै आउने सुनका कारण राज्यले ठूलो आम्दानी गुमाइरहेको र व्यवसायमा पनि अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्ने जोखिम उनले औंल्याए ।
प्रतिक्रिया 4