
९ पुस, काठमाडौं । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोधको उचित सम्बोधन गर्नुपर्ने सांसदहरूले माग गरेका छन् ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरूले आवास निर्माण भइरहँदा स्थानीयको मागलाई बेवास्ता गर्न नमिल्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरूसँग आवश्यक छलफल गरेर मात्रै निर्माणाधिन आवासको कामलाई अघि बढाउन माग गरे । अर्का सांसद चक्रप्रसाद स्नेहीले स्थानीय जनताको माग अनुसार बाटो फराकिलो बनाएर सो आवास निर्माण कार्यलाई तीब्रता दिनुपर्ने बताउँदै आवास निर्माण गर्दा दीगो र भरपर्दो हुनुपर्ने कुरामा सरकारको विशेष ध्यान जानुपर्ने बताए।
सांसद कविता बोगटीले सो आवास निर्माणमा देखिएको अवरोध हटाउनका लागि स्थानीयको भन्दा पनि स्थानीय तहका जनप्रतिनिधिहरूको राय लिन उपयुक्त हुने बताइन् ।
शुक्रबार सिंहदरवारमा बसेको बैठकले सो आवास निर्माणस्थल वरपरको सबै बाटो ११ मिटर फराकिलो हुनुपर्ने स्थानीयको माग सम्बोधन गर्नका लागि सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको छ । स्थानीयको मागलाई सम्बोधन हुने गरी सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिन लागिएको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिइन् ।
बैठकमा स्थानीय मोहन खरेलले स्थानीयलाई न्याय हुने गरी सो आवास निर्माणको कामलाई अघि बढाउन आग्रह गरे । उनले बाटो साँघुरो हुँदा त्यसको असर स्थानीयलाई मात्रै नभई सरकारलाई पनि हुने बताए । समितिले यसअघि निर्माणाधिन संघीय संसद् भवन तथा मन्त्री, प्रदेश प्रमुख र मख्यमन्त्री आवासको अनुगमन गरेको थियो ।
प्रतिक्रिया 4