
१० फागुन, काठमाडौं । युक्रेन संकट थप चर्किन थालेपछि चीनले सबैलाई संयमित हुन आग्रह गरेको छ ।
मंगलबार अमेरिकी विदेशमन्त्रीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ यीले युक्रेनमा विकसित घटनाक्रमबाट आफूहरू चिन्तित भएको भन्दै सबैलाई संयमित हुन आग्रह गरेका हुन् । जारी विवादलाई शान्तपूर्ण तरिकाले समाधान गर्नुपर्ने पनि यीको भनाइ थियो ।
त्यस्तै, यीले एन्टोनी ब्लिङ्केनसँगको कुराकानीमा कुनै पनि मुलुकको वैध सुरक्षा चासो सम्मान गर्नुपर्ने र संयुक्त राष्ट्रसंघको बडापत्र एवं उद्देश्यलाई प्रबर्द्धन गर्नुपर्ने बताएका थिए । मिन्स्क सम्झौताको प्रभावकारी कार्यान्वयनमा ढिलाइ हुँदा युक्रेनमा जारी संकट लम्बिन पुगेर पछिल्लो परिस्थिति आएको समेत उनले प्रस्ट पारे ।
‘चीनले पुन: सबै पक्षलाई संयम अपनाउन अपिल गर्छ’, यीलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनले सबै पक्षलाई सुरक्षाका अविभाज्य सिद्धान्त पालना गर्नुको महत्व आत्मसात् गर्न, अवस्थालाई सहज बनाउन र वार्ता एवं छलफलमार्फत् मतान्तर कम गर्न अपिल गर्न चाहन्छ ।’
यसैबीच, युक्रेनलाई लिएर आजै बसेको राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा राष्ट्रसंघका लागि चिनियाँ राजदूत झाङ जुङले सबै पक्षलाई वार्ता एवं छलफल जारी राख्दै समानता र आपसी सम्मानमा आधारित भइ एकअर्काका चासो सम्बोधन गर्न अनुरोध गरेका छन् ।
प्रतिक्रिया 4