+
+
निबन्ध :

धरती, धन र यौवन

लक्ष्मण सिटौला लक्ष्मण सिटौला
२०७८ फागुन २७ गते ११:३९

हे धरा ! तिमीले मलाई आफ्नो कोमल काखमा हुर्कायौ, बढायौ। पालनपोषण गर्‍यौ। मलाई अकाल मृत्युबाट जोगायौ। मैले फेर्ने श्वास–प्रश्वास तिमीले नै दिन्छ्यौ। मैले बोल्ने आवाज तिमीले नै भरिदिएकी हौ।

त्यसैले हे धरा ! मलाई तिमी मन पर्छ। तिम्रो अशेष काख नै मनपर्छ, जहाँ अनन्तका असीमित गुलाफी रहरहरू फक्रिरहेका छन्। रहर त आफैं सिर्जना हो। हरेक मान्छेसँग रहर छ। हरेक मान्छेसँग उद्देश्य छ। हरेक मान्छेसँग उसको आफ्नै सपनाको आकाश छ। त्यो उसलाई कहिल्यै बोझ लागेन। कहिल्यै भारी लागेन। जिन्दगीको अन्तिम घडीसम्म त्यो सपनाको भारी बोकेरै हिंडिरहनु उसको चरित्र पनि हो।

विशद व्याख्या हुन्छ तिम्रो काखको। एउटा पुराण, एउटा कुरान, एउटा बाइबल र गीतामा नभेटेका कुराहरू छन् तिम्रो कोमल काखमा। तिम्रो शरणार्थी हौं हामी। तिमीले आकाशको ओत दिएकी छौ। तिम्रो सतत छायाँमा प्रेम छ। बस्, त्यो नै सबैभन्दा ठूलो सार्वभौम सत्य हो।

आत्मा बस्ने यो पवित्र मन्दिररूपी घरलाई फेसबुक, टिकटक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा प्रदर्शनमा राखेका छौं र भनिरहेछौं कि— मलाई सबैले मन पराए। म भाइरल भएँ। मैले आजसम्म नबुझेको शरीर देखाउँदा भाइरल होइन्छ कि भाइरस ?

हरेक बिहान तिमी भएर उदाउँछ मेरो सूर्योदय। अनि हरेक साँझ तिमी छोएर अस्ताउँछ मेरो न्यानो घाम। तिम्रो अपलक हेराइबाट नै आरम्भ हुन्छ मेरो जिन्दगी !

मलाई स्थान दिएकी छौ। म तिम्रै शान्त कोमल काखमा बाँचिरहेछु। मलाई कहींकतै पुग्नु छैन। कसैलाई भेट्नु पनि छैन र कसैलाई देख्नु पनि छैन। तिमी बाहेक कोही छ जस्तो पनि लाग्दैन। तिमी देखेपछि पुग्यो मलाई।

यो परिव्याप्ति तिमीमै त समाहित भएको छ। तिमी छौ र पो म पनि छु।

मैले हेर्ने तिम्रो प्रेममय क्षितिजमा अनन्तताको अमृत छ। बस त्यहींबाट म तृप्त र शान्त हुन्छु,। म तिम्रै गोधूलिमा जिन्दगीको मुरली धुन खोज्छु। मेरो जीवन गीत तिम्रै ओठबाट गुन्जिरहेको छ।

मेरा प्राप्तिहरू तिम्रै कारण हुन् र यो सम्पूर्णता अन्ततः तिमीमै गएर विलीन हुन्छ। सबै सबै भौतिक र अभौतिक अस्तित्वको कारण र कार्य तिमी नै हौ। र, अन्ततः तिमीमै विलय हुन्छु म र मेरा यावत् प्राप्तिहरू। उनीहरूले कमाए भन्छन् खुसी हुन्छन्। दम्भ देखाउँछन्। दगुर्छन्। उफ्रन्छन्। दङ्ग पर्छन्। प्राप्ति हुँदा खुसी हुने र गुमाउनु पर्दा दुःखी हुने यो अवोध चेतना तिमीले नै हालिदियौ।

प्रकृति ! तिनले कहिल्यै बुझेनन् यो सब प्राप्तिको मुहान त तिम्रो कोमल काख त थियो नि। र, यी सब भौतिक प्रपञ्च बिलाएको पनि तिम्रै काखमा नै हो। पाएर पनि पाएँ कोही भन्दैनौं हामी।

असन्तोषको गाग्रीको पिंधमा प्वाल परेको छ। हामीहरू माथिबाट थप्तै र तलबाट चुहुँदै जान्छौं। हामी भरिएको भाँडो हेर्न वर्षौंदेखि लालायित छौं। तर हाम्रो लोभको भाँडो कहिल्यै भरिएन। त्यो भाँडो नभरिंदै हामीहरू यो दुनियाँबाट बिदा भैसकेका हुन्छौं। प्राप्ति के हो ?

संसारमा सुखी को होला ? के मिल्यो भने संसारको सारा सन्तुष्टि हामीलाई मिल्छ ? भनेर जति चिन्तन गरे पनि यसको उत्तर कसैसँग छैन।

हिमालदेखि समुद्रसम्म बगिरहेको पानीले आफ्नो गति कहिल्यै बिर्सिन्न। ऊ कहिल्यै थाक्तैन। न ऊ कहिल्यै निदायो। ऊ आफ्नो समानान्तर लयमा गीत गाउँदै निरन्तर बगिरहेकै छ। नदी थाकेको कहिल्यै देखेनौं हामीले। नदीको हरेक पानीको थोपा थोपा एकआपसमा कहिल्यै छुट्तैनन्।

त्यहाँ कहिल्यै खाली देखिन्न। धारा एकआपसी नछुट्टिने भएकोले नै धार भनिएको होला। एक लहरसँग अर्को लहर, एक बुँदसँग अर्को बुँद, एक थोपासँग अर्को थोपा नटुटी मिलिजुली सबैसबै सागर पुग्छन्। पुग्न त मनुष्य पनि अन्तत: सागर नै पुग्छन् तर मृत्यु पछि मात्रै।

ऊ सागर पुग्दासम्म उसले आफ्नो जीवन गति सक्काइसकेको हुन्छ। यो परिव्याप्तिको सघनतामा मनुष्य त्यस्तो एउटा जीव हो जसले प्रकृतिलाई बदल्छ आफ्नो खुसीको लागि। तर प्रकृति बदलिनु पर्दा दुःखी हुन्छिन् र आफ्नो रौद्र रूप प्रदर्शन गर्छिन्।

प्रकृति बदलिंदो छ र सारा मनुष्यका सपना, आकांक्षाहरू बढ्ने क्रममा छन्। हामीभित्रको लोभले अन्ततः एकदिन गम्भीर समस्यामा पुर्‍याउँछ। त्यस दिन मनुष्यले हारेको महसुस गर्नेछ।

आजको मनुष्य दुइटा कुरामा चुकिरहेको छ। पहिलो- धन र दोस्रो- यौन। धन र यौनको रागमा आजको मानिस नराम्रोसँग भौंतारिरहेको छ। यी दुई विषयको वरिपरि विश्व मनुष्य घुमिरहेको छ। जीवनलाई सहज बनाउने उपाय सोच्दा सोच्दा यो संसार यस्तो डिजिटल भैसकेको छ कि अब कोही आफन्त साथीहरू बिरामी हुँदा उसलाई भेट्न अस्पतालसम्म जानु पर्दैन। फेसबुकबाट नै ‘शीघ्र स्वास्थ्यलाभको कामना’ भने पुग्छ। कोही आफन्तको मृत्यु हुँदा घाटसम्म जानुपर्दैन फेसबुकमै ‘रिप’ लेखे पुग्यो। कसैले राम्रो काम गरेबापत प्रत्यक्ष भेटेर हातमा हात मिलाएर बधाई दिनु जरुरत छैन फेसबुकमै ‘बधाई’ भने पुग्यो। केटाकेटीलाई प्रेम गर्न डेटिङ जानुपर्दैन। एउटा एन्ड्रोइड मोबाइलबाट नै काम तमाम हुन्छ। ट्वीटर फेसबुक टिकटकबाट आजकल यौन र यौन अङ्गका सबै तमासाहरू देखाइन्छ। मायाले होइन, आजकल डिजिटल संसारले रङ्गिएको छ दुनियाँ।

हामीले शरीरलाई छोप्ने होइन, दुनियाँलाई देखाउने वस्तुका रूपमा परिभाषित गर्न थाल्यौं। देखाउनुपर्ने चिज छोपिंदै गए। छोपिनुपर्ने चिज खोलिंदै गए। लाजले पनि लाज मान्न थालेको छ आजकल। यो साइबर युग हो। यहाँ कुनै कुरा पनि लुकाउने स्थान छैन। शरीरमा लुकेको आत्मा पनि बडो धर्मसंकटमा परिरहेको छ। मनुष्यको वशमा भएको भए त्यो लुकेर रहेको आत्मालाई पनि खोलेर देखाउँथे र भन्थे- यी हेर मेरो आत्मा यस्तो छ।

त्यो आत्मालाई झिकेर टिकटकमा नचाउँथे र फेसबुकमा प्रदर्शनका लागि राख्थे। आत्मालाई भाइरल बनाउँथे।

तर अहिलेका हामी विचरो मनुष्य शरीरलाई मात्रै भाइरल बनाउन सक्छौं, आत्मालाई सक्तैनौं। आत्मा बस्ने यो पवित्र मन्दिररूपी घरलाई फेसबुक, टिकटक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा प्रदर्शनमा राखेका छौं र भनिरहेछौं कि— मलाई सबैले मन पराए। म भाइरल भए। मैले आजसम्म नबुझेको कुरा कि शरीर देखाउँदा भाइरल होइन्छ कि भाइरस ?

शरीर प्रदर्शनीमा राखिएको एउटा सप्रिएको मुला जस्तो भएको छ, जसले पनि हेर्न पाइने जे पनि भन्न र जे पनि लेख्न पाइने।

मानिसहरू सबै डिजिटल भैसकेका छन्। यस्तो लाग्छ- अब मनुष्यले मनुष्यको प्रत्यक्ष स्पर्श नै पाउँदैन। आफू रमाउने चाहनामा आफूपछि आउने पिंढीलाई हामीले कागजको फूल दिंदैछौं र मनुष्य कृत्रिम बाँच्न विवश हुनेछ एकदिन।

आजको प्रेममा कलकल कोमल मायाको मृत्यु भैसकेको छ। सौन्दर्यलाई शौचालय जस्तै बनाइरहेका छौं हामीले। मानिसको कारण पृथ्वी माताले लाज मान्नुपर्ने अवस्था भयो।

आफ्नो अङ्गलाई हरियाली रुखबिरुवाले ढाकेकी छिन् धराले। कतै निर्मल गङ्गाले छोपेकी छिन् आफ्नो चपल अस्तित्व त कतै महासमुद्रले लुकाएर बाँचेकी छिन् आफ्नो अतल लाज।

हामीले धरतीबाट सिक्नुपर्ने हो तर ठिक उल्टो भयौं। सारा लुगा खोल्दै गयौं। नाङ्गिदै गयौं। शरीर नाङ्गिनु भनेको विचार पनि नाङ्गिनु हो। नाङ्गिएको विचारमा विवेक शून्यता हुन्छ। विवेक शून्य हुनु भनेको संवेदनशीलताले हार्नु र पशुत्वले जित्नु हो। पशुहरू विवेक नभए पनि मायालु छन्। अन्जान छन्। अबोध छन्। ती हाम्रै चारु चरणमा समर्पित छन्।

हे धरा ! म तिम्रो काखको सुन्दरतामा जीवन खोजिरहेको छु। म तिम्रो चपल चाँदनीमा गीत गाइरहेको छु। म तिम्रो अस्तित्वमा उन्माद खोज्दिनँ, एउटा शान्त जिन्दगी खोज्दछु। एउटा निर्मल माया पाइरहेको छु मैले। म एउटा भर खोज्दैछु तिम्रो व्याप्तिमा। एउटा वैशाख मात्र होइन नि जीवन। यहाँ शिशिरले उप्काएका छन् पीडाका पाप्राहरूलाई। रक्ताम्य मनहरूलाई आँखाका औंलाहरूले छोएका छन्।

म प्रेमको खोजीमा भौतिक भौंतारिरहेछु तर आफ्नै निनाद अनन्त आकाश बोकेर म थाकेकै छैन। मैले मेरो आकाशको भारी बोकेर हिंडिरहेको हजारौं वर्ष भो। राम युग हुँदै कृष्णका लीलामृत बोक्तै यो माथिको आकाश खै कहिल्यै बोझ बनेन हामीलाई तर आकाश बोक्ने कलकल कला हामीमा कहिल्यै भएन।

राम र कृष्ण युगको सुल्झिन नसकेको झगडा बुद्ध युगमा आएर शान्त हुनुपर्ने हो तर यो युगका मानिसहरूले बुद्धलाई बुद्दु भने। बुद्धलाई सोझो भने र उनको सोझोलाई भजाएर हामीले खाइरह्यौं।

बुद्ध युगमा शान्ति होइन क्रान्तिले स्याबासी पायो। म पुरुष भएर जन्मेकोमा कुनै गर्व गर्दिनँ किनकि मैले फेरि बुद्धलाई तिम्रो गर्भमा गर्भधारण गराउन सकिनँ। बुद्ध किन एकफेर मात्रै जन्मिए, कृष्ण किन बारम्बार जन्मिएनन् !

हामी बुद्धलाई माया गर्छौं, हामीले पुज्नुपर्ने त प्रेमलाई हो। शान्तिलाई हो तर हामीले शरीरलाई पुज्यौं। हामीले कवितालाई होइन, कविको कायालाई सुन्यौं। हामीले नारीका निर्मलतालाई होइन, उनको बैंसलाई पुज्यौं। स्त्रीले पुरुषका शान्त स्वभावलाई होइन, उसको अहम् र अहंकारलाई पुजे। उसको बैंसलाई पुजे। र, परिणामत: दुनियाँमा प्रेम मर्दै गयो। विश्वास मर्दै गयो। कसैले पनि आफू माथिको शान्त आकाशलाई बोकेर हिंड्न चाहेनन्।

सबै सबै उन्मुक्त हुन चाहिरहे आकाश फालेर। यस्तो लाग्दैछ कि हामी आफ्नो अस्तित्वको आबरु फालेर फेरि नाङ्गै जंगली हुँदैछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?