+
+

घरखर्च जोहो गर्न काखेछोरी च्यापेर म्यादीको लाइनमा

राजनीतिक दलहरुले हरेक चुनावमा सार्वजनिक गर्ने घोषणापत्रहरुमा हरेक वर्ष केही लाख रोजगारी सृजना गर्ने बताउँछन् । जब सरकारमा पुग्छन्, त्यसलाई भुल्छन् । म्यादी प्रहरीका लागि फारम भर्न लागेको लाइनले यही भन्छ ।

अंगद सिंह अंगद सिंह
२०७८ चैत ६ गते २०:३७

६ चैत, काठमाडौं । महानगरीय प्रहरी परिसर, टेकुमा युवाको लामो लाइन छ । सबैको हातमा रेकर्ड फाइल छ । लाइनमा नभएकाहरु एकछेउ लागेर फारम भर्न व्यस्त छन् । लाइन भएकाहरु चाहिं कहिले पालो आउँछ भन्ने प्रर्खाइमा छन् ।

चर्को घामको परवाह नगरी लागेको त्यही लाइनमा थिइन्, धादिङकी सपना तामाङ गुरुङ । काखमा थियो, एक वर्षे छोरी शिवानी । बेबी क्यारियरमा छोरी बोकेकी उनले फारम भरिन् । त्यसपछि केही घण्टा छोरी बोक्दै लाइन बसेर फारम बुझाएकी सपना भन्छिन्, ‘घरको आर्थिक अवस्था कमजोर भएकाले एकदुई महिनाका लागि भएपनि म्यादी प्रहरी भइन्छ कि भन्ने आशले आएकी हुँ ।’

भर्खर २२ वर्षमा लागेकी सपना श्रीमान र छोरीसँगै काठमाडौंको गोकर्णमा बस्छिन् । ६ हजारमा दुई कोठा भाडामा लिएका छन् । सपनाका श्रीमान गोकर्णकै फर्निचर पसलमा काम गर्छन् । तर उनको कमाइले मात्र घर खर्च चलाउन पुग्दैन । भन्छिन्, ‘नेपालमा काम पाइँदैन, विदेश जाउ भने छोरी सानी छे । बेरोजगारीले निकै सतायो, म्यादीमा भर्ना हुन पाए थोरै भएपनि खर्च आउथ्यो ।’

कक्षा १२ पढ्दापढ्दै पढाई छाडेकी उनी एक महिनाकै लागि भएपनि काम गर्न चाहन्छिन् । तर नाम निस्किन्छ निस्किँदैन थाहा छैन । भन्छिन्, ‘फारम त भरेँ, तर छनोट हुन्छ कि हुन्न ? भर्ना भए त घर खर्च चलाउन केही राहत हुन्थ्यो ।’

सपना जस्तै, इटहरीकी शुष्मा माझी पनि म्यादी प्रहरीका फारम भर्न आइतबार बिहानै टेकु पुगेकी थिइन् । करिब एक घण्टा लाइनमा बसेपछि उनको पालो आयो । उनी पेशाले खेलाडी हुन् । विदेशमा समेत नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । माझीले बताएअनुसार भारतको पश्चिम बंगालस्थित मणिपुरमा भएको उसु खेलमा स्वर्ण पदक समेत जितिसकेकी छिन् ।

२८ वर्षीया शुस्मा स्वयम्भुमा बस्छिन् । खेतीपाती गरेर गुजारा गर्दै आएका आमाबुवाले नियमित खर्च पठाउन सम्भव छैन । आर्थिक अवस्था कमजोर भएका कारण नियमित खेल्न पाएकी छैनन् । ‘रंगशाला टाढा पर्ने भएकाले आफैं अभ्यास गर्ने गरेकी छु । म्यादीमा जागिर पाइयो भने सजिलो हुन्थ्यो,’ उनले सुनाइन्, ‘म्यादीमै भए पनि एक–दुई महिना काम पाइन्छ कि भनेर आएकी हुँ ।’

बेरोजगार भएकै कारण अछामका टंक बजगाई पनि म्यादी प्रहरीमा भर्ना हुने फारम भर्न टेकु पुगेका छन् ।

‘नेपालमा न काम गर्ने वातावरण छ, न सरकारले कुनै काम दिन्छ,’ एक घण्टाबढी लाइन बस्दा पनि पालो नआएकोमा आक्रोशित उनले अनलाइनखबरसँग भने, ‘युवासँग काम गर्ने क्षमता छ सर्टिफिकेट छ, तर काम छैन ।’

आफू म्यादीमा भर्ना हुने आशा लिएर टेकु आएको उनले सुनाए । ‘म म्यादी भएँ भने केही महिना काठमाडौंमा बाच्न सक्छु, गाउँमा आमाबालाई पनि सहज हुन्छ’ उनी भन्छन् ।

राजनीतिक दलहरुले हरेक चुनावमा सार्वजनिक गर्ने घोषणापत्रहरुमा हरेक वर्ष केही लाख रोजगारी सिर्जना गर्ने बताउँछन् । जब सरकारमा पुग्छन्, त्यसलाई भुल्छन् । रोजगारी सिर्जना चुनावका बेला बेरोजगारहरुलाई देखाउने सपना मात्र भएको छ । युवाहरु भने कि त वैदेशिक रोजगारीको खोजीमा देश छाड्न बाध्य छन् या यस्तै एकाध महिनाको जागिरका लागि घन्टौं लाइनमा बस्नुपर्छ । म्यादी प्रहरीका लागि फारम भर्न लागेको लाइनले यही भन्छ ।

तारकेश्वर नगरपालिका काठमाडौं–५ का मनोज फुयाल सरकारले युवा रोजगारीलाई नसुनेको नदेखेको गुनासो गर्छन् । ‘सरकारले युवा वर्गमा व्याप्त बेरोजगारीको समस्यालाई नदेखेको हो कि देखेर पनि वास्ता नगरेको हो ? उनी प्रश्न गर्छन् ।

२९ वर्षका भए फुयाल । लकडाउनअघि याक एण्ड यति होटलमा कुकको काम गर्थे । होटल बन्द भएपछि उनको रोजगारी खोसियो । उनी घरमै थन्किए । घरमा बसेर गुजरा नचल्ने हुँदा म्यादी प्रहरीमा भर्ना हुन फारम भर्न आएका हुन् ।

‘म्यादी प्रहरीमा मात्रै युवा आएका होइनन्, हरेक क्षेत्रमा उत्तिकै युवाले आवेदन दिने गरेका छन्,’ फुयाल भन्छन्,‘ नेताले रोजगारीलाई जहिल्यै भोट माग्ने बेला मात्रै सम्झिए, चुनाव सकिएपछि वास्ता नै गरेनन् ।’

स्नातक पढिरहेका २९ वर्षका फुयालले यसअघि दुई चुनावमा म्यादी प्रहरीको रुपमा काम गर्नुका साथै राष्ट्रिय जनगणना २०७८ मा गणकको रुपमा काम गरिसकेका छन् । ‘कामका लागि कति भौतारिने ?’ उनी भन्छन्, ‘घर खर्च चलाउन समस्या भएकाले खाली बस्नुभन्दा म्यादीमा भर्ना हुन आएको हुँ ।’

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?