
२४ चैत, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को जहाजबाट भोजपुर उड्ने यात्रुले उडान हुनुभन्दा ७ दिन अगाडि कार्यालयमै उपस्थित भएर टिकट काट्नु पर्ने भएको छ ।
नेपाल एयरलाइन्स भोजपुर कार्यालयका प्रमुख प्रकाश खड्काले एक सूचना निकाल्दै यस्तो जानकारी गराएका हुन् ।
नेपालमा निजी कम्पनीहरुले आफूले चाहेकै समयमा विभिन्न भुक्तानी सेवा प्रदायक संस्थाबाट सहजै टिकट लिन सकिने व्यवस्था मिलाएका छन् । तर, नेपाल एयरलाइन्सले भने अहिले पनि परम्परागत ढर्राबाटै टिकट काट्ने गरेको छ ।
खड्काका अनुसार निगमले निकालेको नयाँ तालिका अनुसार निगमको जहाज काठमाडौं–भोजपुर–काठमाडौं रुटमा बुधबार, बिहीबार र शनिबार उड्नेछ ।
उडान संख्यामा व्यापक कटौती भएपछि यात्रुको चाप बढेको र सोहीकारण ७ दिन अगाडि नै टिकट काट्न भनिएको उनको भनाइ छ । उनका अनुसार फोनबाट टिकट बुकिङ गरिने छैन । निगमसँग अहिले आन्तरिक उडानमा ट्वीनअटर जहाज मात्र छन् ।
प्रतिक्रिया 4