+
+

वीरगञ्ज महानगर कार्यपालिकामा जसपा कांग्रेस गठबन्धन विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १९:५२

२० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । ५ महिला सदस्य र ३ जना दलित वा अल्पसंख्यक सदस्य गरी ८ जना कार्यापालिका सदस्यका लागि निर्वाचन भएको हो ।

शुक्रबार भएको निर्वाचनबाट ८ वटै सदस्य पदमा जसपा र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा काँग्रेसका कन्हैया प्रसाद (१०७), जसपाका खैरुदीन मिया धोबी (१०८) र निरन्जन प्रसाद सोनार (११०) निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यपालिका सदस्य निर्वाचनमा पनि एमाले लोसपाले गठबन्धन गरेका थिए । एमाले लोसपा गठबन्धनबाट उठेका एमालेका उम्मेदवार अजय कुमार गुप्ताले ४७, ओम प्रकाश साह र राजकिशोर गुप्ताले ४८÷४८ मत मात्र पाएका छन् । दलित वा अल्पसंख्यक सदस्यमा ६ जनाको उम्मेदवारी परेको थियो ।

५ जना महिला सदस्यमा काँग्रेसकी कनिका कौशीक (१०९), नितु कुमारी राम (१११) र राधादेवी कार्की (१०९) तथा जसपाबाट कलावती देवी राजपुतिन (११३) र रबुलसन खातुन (११४) विजयी भएका छन् ।

एमालेकी अमरी देवी चमारले ४५ ,कान्ति देवीले ४५ ,मन्जु देवीले ४६ र संगीता देवीले ४६ तथा लोसपाकी पतिया देवीले ४३ मत मात्रै पाईन् । महिला सदस्यमा १० जनाको उम्मेदवारी परेको थियो ।

जिल्ला समन्वय समिति पर्सा परिसरमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान भएको थियो । १६२ मतदाता मध्ये १५९ जनाले मात्रै मतदान गरेका थिए ।
दलित वा अल्पसंख्यकमा २ र महिला सदस्यमा १ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित नगर प्रमुख, उप प्रमुख, ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य मतदानमा सहभागी हुन पाउने व्यवस्था छ ।

मकवानपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी घाईते भएका कारण जसपाका ३ जना जनप्रतिनिधि चुनावमा सहभागी हुन सकेनन् ।

मकवानपुर गढी घुमेर फर्कदा शुक्रबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा दुइ जना वडा अध्यक्ष सहित ८ जना घाइते भएकोमा ३ जना जनप्रतिनीधि अस्पतालमा उपचाररत छन् ।

बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरमा जसपा र काँग्रेसले नगर प्रमुख, उपप्रमुख जितेको थियो । १३ वडा अध्यक्ष जसपाले, ९ वटा काँग्रेसले, ८ वटा एमालेले र २ वटा लोसपाले जितेको थियो ।

योसँगै पर्साका १४ वटै पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

अब जिल्ला समन्वय समितिका लागि जेठ २३ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । २७ गते जिल्ला समन्वय समितिका लागि मतदान गर्नेगरि कार्यतालिका तय गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?