+
+

चारु हराएको चरिकोट

अहिलेको चरिकोट चारु (सौन्दर्य) हराएको जस्तो भएको छ, निरश निरश ! चरिकोटको सभ्यता र सुन्दरतालाई युग अनुसार व्यवस्थापन गर्ने इच्छाशक्ति अहँ कसैसँग रहेनछ । उतिबेला चरिकोटमा थोरै घर थिए, चौर, चोथ्रा, ऐंसेलु, घँगारुहरू थिए, सानो खुला बाटो थियो तर सुन्दर थियो । अहिले गगनचुम्बी घरहरू छन्, चिल्लो सडक र सहरी वातावरण छ तर सुन्दरता हराउँदै गएको छ ।

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ असार ३२ गते १९:२१

असार-साउनको महिना, वर्षाको उद्वेग थेगिनसक्नु छ । क्षणमा हुस्सुले छपक्क छोपिदिन्छ बजारलाई । विस्तारै हुस्सु फाट्दै गएपछि बजार खुल्दै जान्छ । बरण्डामा बसेर पर-पर बारीका गराहरू नियाल्दै पानीको तप्केनीमा हात भिजाएर म अतीत नियालिरहेको छु । मेरो आनीबानी, जीवनस्तर, उठबस सबै उस्तै छ । फेरिएको छ त चरिकोटको बस्ती र वनावट, छिमेकी अनि मेरो उमेर ।

दुई तले, तीन तले ढुङ्गा-माटोको घर, ऋतु अनुसार मौसमको सुगन्ध, रूख, बुट्यान र पोथ्राहरूमा ऐंसेलु, काफल, चोथ्रो, घँगारु, आरुबखडा, आल्चा, आरू जस्ता फलफूल र सानो सुन्दर बस्ती । चरिकोटको विशेषता थियो, त्यो ।

लामाचौर (हाल कालिञ्चोक माध्यमिक विद्यालय भएको ठाउँ) मा हरेक हप्ता शनिबार लाग्ने हाटमा सेतो फुरुर्र परेको सेरगेम, कुराउनी जस्ता चौरीको दूधको परिकार खान खल्तीमा सुका-मोहर बोकेर दौडिन्थ्यौं हामी । लस्करै बेच्न राखिएका गाउँका अर्गानिक तरकारीले चरिकोटका भान्साहरू झ्वाईं गर्थे ।

शरद ऋतुमा चरिकोटहुँदै जिरी उक्लिएर सगरमाथाको आधारशिविर पुग्ने विदेशी पर्यटक एक रात चरिकोटको लामाचौरमा पाल हालेर बास बस्थे । हामी चरिकोटका केटाकेटी साँझपख विदेशीहरूको पालआश्रम लामाचौरमा भेला हुन्थ्यौं । अनि विदेशी पर्यटक हामीलाई चक्लेट, पेन जस्ता उपहार दिने गर्थे । उनीहरूसँग टुटेफुटेका अंग्रेजी छाड्दै कुरा गर्दा आफूलाई सर्वश्रेष्ठ विद्यार्थी भएको गौरवानुभूतिले छाती निकै चौडा भएको भ्रम हुनेगर्थ्यो ।

अनि शिशिर ऋतुको त कुरै नगरौं । निरन्तर झरिरहने भुवादार हिउँका तप्केनीले चरिकोटका प्रायः सबै घरका करेसाहरू सेताम्य हुन्थे । सबै घरमा फल्याकको छाना भएकोले एक पटक हिउँ पर्दा हप्तौंसम्म हरेकको घरको छाना सूर्यको किरणसँगै चम्कने गथ्र्यो । रातभरि हिउँ पर्दा भोलिपल्ट बिहान घरको ढोका खोलेर बाहिर निस्कन समेत कठिन, हिउँले घरको करेसा र आँगन समेत भरिने भएकोले ।

विस्तारै चरिकोटका घरहरूमा जस्ता र ढुङ्गाको छानो हाल्न थालिएपछि हिउँ पग्लने समय छोटिंदै गयो । हुँदाहुँदा चरिकोटको बस्ती विस्तारले हिउँ पर्नै मुश्किल । एकाध वर्षको अन्तरालमा हिउँ परिहाले पनि बढ्दो सहरीकरणले निमेषभरमै हिउँ त पानी बनेर बग्न थालेको छ ।

चरिकोटको मुख्य बस्ती त पहिले टुटेपानी (अहिलेको पुरानो बजार) मा पो थियो । अहिले त टुटेपानीको अस्तित्व कता हो कता । अहिले त सातदोबाटोमा मात्र केन्दि्रत छ चहलपहल । चरिकोटको पुरानो परिवेश अब किंवदन्तीबाट समेत हराउने त्रास छ । त्यसैले पनि म यो संस्मरण कोरिरहेको छु । मेरा अग्रजहरूबाट सुनेको किंवदन्ती र मैले झण्डै ४०/४५ वर्ष अघिबाट देखेको, भोगेको र महसुस गरेको चरिकोटको परिवेश शब्दमा उधिनेर ।

मैले भोगेको परिवेशबाटै धेरै अघि बढेको छ चरिकोट । कति सकारात्मक परिवर्तन भएका छन् । अनि कति राम्रो कुराहरू विस्थापित पनि भएका छन् । कमसेकम मैले मेरा बाजे, बजै, बाबु, आमा, मामा, माइजूले भोगेको, देखेको र सुनेको चरिकोटलाई शब्दमा लयबद्ध गर्न खोजेको छु यहाँ ।

चरिकोटको सेरोफेरोमा हुर्किएको उतिबेलाको त्यो सत्य किंवदन्ती अहिले पौराणिक कालको कथा-कहानी महाभारत, रामायण, स्वस्थानी व्रत कथाहरूमा उल्लेख भएको जस्तै बन्न लागिसक्यो

दोलखा बजार निकै पुरानो हो । किराँतकालअघिदेखि नै दोलखामा बस्ती थियो भनिन्छ । नेपाल, भारत र चीनबीचको व्यापारिक मार्ग सिल्करोड दोलखा बजार हुँदै अघि बढेको किंवदन्ती रहेको छ । यही किंवदन्तीसँग प्रसिद्ध भीमेश्वर मन्दिरको किंवदन्ती समेत जोडिएको छ । झण्डै चार सय वर्ष पुरानो घर त अहिले पनि छ दोलखा बजारमा ।

नेपालमा बाईसे-चौबीसे राज्य भएको बेला दोलखा पनि छुट्टै राज्य थियो रे ! सायद हायहाय राजाले राज्य गर्थे त्यतिबेला । दोलखाबाटै नेपालमा पहिलो मुद्रा प्रचलनमा आएको हो ।

सदरमुकाम चरिकोटमा भने निकै पछि बस्ती बसेको रहेछ । नारायणकृष्ण श्रेष्ठ, रामदास जस्ता ज्येष्ठजनको संस्मरण अनुसार चरिकोट बजारमा १९३०/३२ सालबाट घरहरू बन्न थालेका हुन्, झण्डै १५० वर्ष अघिबाट । चरिघ्याङको इतिहास भने दोलखा राज्यसँगै जोडिएको छ ।

रामदास मामा भन्दै हुनुहुन्थ्यो, उहाँले आफ्ना अग्रज बाबुबाजेबाट सुनेको किंवदन्ती- चरिघ्याङमा एकजना लामा थिए रे, गुम्बामा तपस्या गरेर बस्ने । एकाग्र कतिसम्म भने बढेका दाह्रीमा चराले गँुड लगाउँदासम्म पनि वास्ता छैन । लामाको दाह्रीमा चराले गँुड लगाएकैले उनलाई चरी लामा भन्न लागियो । अनि सायद त्यो ठाउँको नाम चरिघ्याङ र यो ठाउँ चरिकोट भएको हुनुपर्छ ।

चरिघ्याङमा चरी लामाको आगमनको पनि रोचक किंवदन्ती छ । दोलखा राज्यमा असिना रोक्न उनलाई बोलाइएको थियो, तर उनले दोलखा बजारमा बस्न मन गरेनन् । ढपक्क जङ्गल भएको र उचाइमा समेत रहेकोले उनले चरिघ्याङमा बस्ने मन गरे । हायहाय राजाले पनि ढुङ्गामा कुँदेको दोलखा भीमेश्वर र भीमेश्वर माताको प्रतिमासहित चरिघ्याङ डाँडामा बस्ने अनुमति दिए ।

चरिघ्याङ गुम्बामा अहिले पनि ढुङ्गामा कुँदेको भीमेश्वर र माताको प्रतिमा देख्न सकिन्छ । तर उचित संरक्षण भने हुनसकेको छैन ।

चरिकोट पुरानो बजारमा पहिले ७/८ वटा घर रहेछन् । बबुरमानको दुई वटा, हरिकृष्णको माझघर दुई वटा र काजीवीर, भक्तबहादुर, धननारायण, बुद्धिमानको एक/एक वटा घर थिए रे ! त्यसपछि क्रमशः पुरानो बजारमा अरू घरहरू थपिंदै गए । अनि बजार विस्तार भएर बीच बजारतिर ठाकुरदास लगायतले घर बनाउनुभयो ।

चरिकोटमा सुरुको ताका, झण्डै डेढ-दुई सय वर्षअघि हुलाक अफिस रहेछ । त्यसपछि सेनाको जंगी परेड मिलिसिया र अदालत थपिएको नारायणकृष्ण मामाले सुनाउनुभयो ।

२०१९ सालमा स्थानीय विकास अफिस, २०२४ सालमा सिडियो अफिस अस्तित्वमा आएको थियो रे ! उहाँले सम्झेसम्म दोलखाको पहिलो सिडियो दानबहादुर जोशी (काठमाडौंको ठमेल घर भएका), पहिलो स्थानीय विकासको हाकिम माधवप्रसाद नेपाल र मालपोत कार्यालयको पहिलो हाकिम जगतबहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।

२०२०/२१ सालबाट चरिकोटमा अस्पताल पनि बस्यो । अहिले पशुपति कन्या मन्दिर मावि रहेको ठाउँमा २०१६ सालबाट महेन्द्र प्राइमरी स्कूल सुरु भएको रहेछ । कन्या मन्दिर स्कुलमा हमाल सर, पण्डित लक्ष्मीप्रसादहरूले पढाउनुहुन्थ्यो रे !

चरिकोटमा सुरुवातताका नेवार समुदायको बाहुल्य थियो । त्यसैले विभिन्न चाडपर्वको रौनकसँगै जात्राहरू पनि सुरु भए । यो २०१५/१६ सालतिरको कुरा हो । घण्टाकर्णको दिन नाट्यस्वरीको पूजा गरेर लाखे नाच प्रदर्शन गर्न थालियो । गाईजात्रामा विभिन्न व्यङ्ग्यात्मक प्रदर्शनहरू गरिए ।

सुरुमा डम्बरबहादुर श्रेष्ठले लाखे नाच्नुभयो । त्यसपछि भक्तबहादुर श्रेष्ठ, हीरालाल श्रेष्ठ, देवकुमार श्रेष्ठ, दानबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, रामदास श्रेष्ठ, नारायणलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ लगायत धेरै अग्रजले यसलाई निरन्तरता दिनुभयो । अहिले लालीगुराँस युवा क्लबको अगुवाइमा नयाँ पुस्ताका युवाहरूले लाखेनाचलाई निरन्तरता दिइरहेका छन् ।

म अझै सम्झन्छु त्यो समय, लाखेनाचको अवधिमा हामी दुई/तीन बजेपछि पुरानो बजारतिर दौडन्थ्यौं । अनि साँझसम्मै ढोलक र झ्याम्टाको तालमा लाखे र झुम्रेको पछि लाग्थ्यौं । अझ राजेन्द्र र म त आफैं लाखे तथा झुम्रेको मुकुट बनाएर बीच बजारको केही घरहरूमा नाच्न समेत भ्याउँथ्यौं ।

कृष्णाष्टमी, गाईजात्रा जस्ता पर्वहरूमा त लाखे नाच हेर्ने मानिसको लर्को पुरानो बजारबाट सातदोबाटो चोकसम्मै तन्किएको हुन्थ्यो । गाईजात्रामा पुरानो बजार र चरिघ्याङका अग्रजहरूले विभिन्न व्यङ्ग्यात्मक प्रदर्शन गरेर जात्रामा सहभागी जिल्लाको विभिन्न भेगबाट आएका मानिसलाई गज्जबको मनोरञ्जन दिने गर्थे ।

गाईजात्रामा पुरानो बजारबाट रत्नबहादुर श्रेष्ठ, हर्कसुन्दर श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, रत्ननारायण श्रेष्ठ, अमृतबहादुर श्रेष्ठ, अर्जनबहादुर श्रेष्ठहरू र चरिघ्याङबाट झ्याम्बर लामा, सुन्दोर्जे लामा, शम्भु लामा, रामकोटका भीमप्रसाद न्यौपाने लगायतले विभिन्न व्यङ्ग्यात्मक प्रदर्शनहरू गर्नुहुन्थ्यो रे !

२०१६ सालतिरबाटै चरिकोटमा एकाङ्की र पूर्णाङ्की नाटकहरू समेत प्रदर्शन गरिन्थ्यो । मेरा गुरु कृष्णबहादुर गौतम भन्दै हुनुहुन्थ्यो- छिमेकी, परालको आगो मात्र हैन आफैंले तयार गरेको सहनशीला सुशीला, कलंक जस्ता नाटक प्रदर्शन गर्दा चरिकोटको रौनक नै फेरिएको थियो रे !

चरिकोटको सेरोफेरोमा हुर्किएको उतिबेलाको त्यो सत्य किंवदन्ती अहिले पौराणिक कालको कथा-कहानी महाभारत, रामायण, स्वस्थानी व्रत कथाहरूमा उल्लेख भएको जस्तै बन्न लागिसक्यो ।

खै ती आत्मीयता, मौलिकता र प्राकृतिक सुन्दरता ! अब त आधुनिकताले प्राकृतिक सुन्दरता मात्र हैन मौलिकता र आत्मीयतालाई समेत स्खलित गरिदिएको छ ।

पुस, माघमा पशुपति डाँडामै टाँसिएको जस्तो लाग्ने गौरीशङ्कर हिमाल त कालो-कालो हुँदै गएको छ भने अब चरिकोटमा हप्तौं नबिलाउने हिमपातको परिकल्पना गर्नु फगत सपनाको क्षणिक खुुसी मात्र होला । चरिकोटमा अब त न सगरमाथा आरोहीको लर्कोलाई साँझपख लामाचौरमा भेट्न सकिन्छ, न लस्करै गाउँको अर्गानिक तरकारी र फुरुर्र परेको सेरगेम फिजाएर ग्राहक कुरिरहेका व्यापारीलाई देख्न सकिन्छ !

उतिबेला चरिकोटमा थोरै घर थिए, चौर, चोथ्रा, ऐंसेलु, घँगारुहरू थिए, सानो खुला बाटो थियो तर सुन्दर थियो । अहिले गगनचुम्बी घरहरू छन्, चिल्लो सडक र सहरी वातावरण छ तर सुन्दरता हराउँदै गएको छ । भनौं भने अहिलेको चरिकोट चारु (सौन्दर्य) हराएको जस्तो भएको छ, निरश निरश ! चरिकोटको सभ्यता र सुन्दरतालाई युग अनुसार व्यवस्थापन गर्ने इच्छाशक्ति अहँ कसैसँग रहेनछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?