१ असोज, काठमाण्डौ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफूहरुलाई बाईपास गरेर गरिने संविधानसभाको निर्वाचनमा उमेदवारी दिन खोज्नेलाई कब्जामा लिएर मनोनयन नै दर्ता गर्न नदिने स्पष्ट पार्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो,’मनोनयन दर्ता गर्न नदिएपछि निर्वाचन नै हुँदैन । हामी मनोनयन दर्ता गर्न खोज्नेहरुलाई नियन्त्रणमा बन्द कोठामा दालभात खुवाउँदै राजनीतिक गफ गरेर राँख्छौ । मनोनयनको समय सकिएपछि फुलमाला लगाएर सम्मानपूर्वक विदाई गर्छौ । ‘
गजुरेलले यथास्थितिमा संविधान लेख्न भन्दा पनि मुलुकलाई सिक्किमीकरण गर्न निर्वाचन गर्न लागिएको दावी गर्दै अहिलेको निर्वाचनमा उमेदवार बन्नेहरु सबै लेण्डुप दोर्जे हुने बताउनुभयो । उहाँले भन्नुभयो,’सिक्किमीकरण गर्न लागिएको निर्वाचनमा उमेदवार दिनु भनेको लेण्डुप दोर्जे बन्नु हो । त्यसैले अब घरमा छोराले बुबालाई, बुबाले छोरा छोरीलाई, श्रीमतीले श्रीमानलाई लेण्डुप दोर्जे बन्न नजानु भनेर भन्नु पर्छ । बहिस्कारमा सबैले शान्तिपूर्ण रुपमा साथ दिनु पर्छ । ‘
मन्त्री परिषदका अध्यक्षले भन्दैमा नेपाली सेना परिचालन नहुने दावी गर्दै यूद्ध र संकटकालको अवस्थामा सेना परिचालन गर्न अलग्गै अन्तर्राष्ट्रिय र राष्ट्रिय परम्परा हुने बताए । गजुरेलले भने-सेनाले त्यसै ब्यारेक छाड्न पाउँदैन । त्यसै सेना परिचालन हुन सक्दैन । भए पनि नेपाली जनतालाई जवाफ दिनु पर्छ । मुलुकको अहिलेको समस्या राजनीति हो । राजनीतिक विवादमा सेना प्रहरी चार दलको पक्षबाट ३३ दलको विपक्षमा परिचालन हुन पाउँदैन ।
साक्षात्कार एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले चुनावी सरकार गठन गर्ने सहमति गरेकाले अहिले आएर प्रधानन्यायाधीशवाट राजीनामा माग्ने नैतिक आधार नभएको भन्दै सबै दल त्यसमा सहमत भए भने स्विकार्य हुने स्पष्ट पार्नु भयो । उहाँले मंसिरमा निर्वाचन हुन नसके संविधानसभाको एजेण्डा नै तुहिने भएकोले आफूहरुले प्रतिकुलताका बाबजुद संविधानसभाको निर्वाचन रोजेको भन्दै अहिले जनताले नै निर्वाचन चाहेकोले जसरी पनि निर्वाचन सम्पन्न हुने कुनै पनि हालतमा नरोकिने ठोकुवा गर्नु भयो ।
प्रतिक्रिया 4