+
+

वर्षाले राजमार्गहरूमा पहिरो, दशैंमा यात्रुलाई सास्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते १९:५५

२० असोज, काठमाडौं । अबिरल वर्षाका कारण देशभरका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् । कतिपय अवरुद्ध सडक खुले पनि पानी नरोकिएका कारण पटक–पटक खुल्ने/बन्द हुने अवस्था रहेको सडक विभागले जानकारी दिएको छ ।

विभिन्न राजमार्ग र सडक खण्डहरु अवरुद्ध हुँदा दशैंको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा हिंडेका र विभिन्न गन्तब्यमा पुग्न हिंडेका सर्वसाधारणले घन्टौं जाममा बिताउनु परेको छ । दशैंको झरीले यात्रा थप जोखिमपूर्ण पनि भएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार मुग्लिन–नारायणगढ खण्डको २ स्थानमा पहिरो खसेर पटक–पटक सास्ती भएको छ । उनका अनुसार १७ किलो र केराबारीमा खसेको पहिरोहरु पन्छाएर अहिले सडक सञ्चालनमा छ ।

‘तर, पानी नरोकिएकाले कतिबेला फेरि समस्या हुन्छ भन्न सकिन्न,’ महानिर्देशक थापाले भने ।

विहान मुग्लिन–नागढुंगा सडक खण्डको खत्रीपौवामा पनि पहिरो खसेर केहीबेर सडक अवरुद्ध भएको थियो ।

विभागका अनुसार गल्छी–त्रिशूली खण्डमा पनि पहिरो खसेर समस्या भएको छ । अहिले सो खण्ड सञ्चालनमा रहेपनि रातको समयमा सवारी सञ्चालन गर्न सहज नहुने महानिर्देशक थापाले जानकारी दिए ।

विभागका अनुसार सिद्धार्थ राजमार्गको हिँउदे खोलामा खसेको पहिरोले सडक अवरुद्ध छ । तानसेन–रिडी सडकको तम्घासको जोर्तेमा खसेको पहिरोले समस्या गरेको छ ।

अमिलया–तुल्सीपुर खण्डको भञ्जाङमा पनि पहिरोले राजमार्ग अवरुद्ध गरेको छ । साँफेबगर–मार्तडी सडक खण्डमा पनि सवारी चलेका छैनन् ।

डुम्रे–बेसीसरहर खण्डको उदिपुरमा पनि पहिरोले समस्या खडा गरेको छ । बेसी सहर चामे खण्डको रामबजार र खोत्रोमा पहिरो सकेर सडकमार्गमा समस्या भएको छ ।

यसबाहेक मध्यपहाडी लोकमार्गअन्र्तगतका विभिन्न खण्डहरु पनि अवरुद्ध छन् । कालीगण्डकीसहितका उत्तर–दक्षिण करिडोरका सडकमार्गहरुमा पनि विभिन्न खण्ड पनि अवरुद्ध छन् । कतिपय स्थानका सडक भासिएका छन् भने कतिपय ठाउँमा खोल्सामा पानीको सतह बढेर सवारी तर्न समस्या भएको छ ।

अत्यधिक वर्षाले विभिन्न खण्डमा सडक अवरुद्ध गरेपनि तुरुन्तै डोजरसहितको जनशक्ति परिचालन गरिएको सडक विभागका महानिर्देशक थापाले बताए ।

‘दशैं भएपनि मेसिन र अपरेटर स्ट्यान्ड–बाइ राखेका छौं,’ उनले भने,‘राजमार्गका प्रहरी चौकीमा अपरेटरको फोन नम्बर दिएका छौं, समस्या पर्नासाथ अपरेटर ल्याएर बाटो खुला थालिहाल्ने गरी प्रवन्ध गरेका छौं ।’

कतिपय स्थानमा पहिरो खसिरहने र पानीको सतह नघट्ने समस्याले छिो सडक खुलाउन समस्या भएको महानिर्देशक थापाले बताए ।

‘हामी दशैं, भेल बाढी र झरी केही नभनी खटिएका छौं, अपरेटेरहरुले पनि ठूलो मिहिनेत गर्नु भएको छ,’ उनले भने,‘समस्या देखिनासाथ हल गर्ने हाम्रो प्रयास निरन्तर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?