+
+

राजनको ‘ह्याट्रिक’ योजनामा अञ्जना चुनौती

दिपेश शाही दिपेश शाही
२०७९ कात्तिक २३ गते १९:१०
नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) ।

२३ कात्तिक, काठमाडौं । कीर्तिपुरको पाँगा चोकबाट अलिकति भित्रपट्टीको एउटा गल्लीमा उभिएर नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) भाषण गरिरहेका छन् ।

‘तपाईंहरूले ०७० सालको चुनावमा प्रचण्डलाई हराउनु भयो । ०७४ सालको चुनावमा सबै कम्युनिस्टहरू एक ठाउँमा हुँदा पनि अभूतपूर्व ढंगले कांग्रेसलाई नै जिताउनु भयो । अस्ती भर्खरै स्थानीय निर्वाचनमा पनि कम्युनिस्टको लालकिल्ला भन्ने कीर्तिपुरमा कांग्रेसलाई जिताइदिनु भएको छ,’ उनी भन्दै थिए, ‘अब एकपटक रुख चिह्नमा मतदान गरेर कांग्रेस नेतृत्वको गठबन्धलाई पुनः जिताई दिनुहोस् । अनि कम्युनिस्टहरू कहाँ हुन्छन्, खोज्न जानुपर्छ ।’

निर्वाचन सम्पर्क कार्यालयको उदघाटनमा राजनले यो भाषण गरिरहँदा दर्शकदिर्घाबाट आधाभन्दा बढीले ताली बजाए । तर आधाभन्दा कमले मुखामुख गरे । ताली बजाएर समर्थन गर्नेमा कांग्रेसका कार्यकर्ता थिए भने मुखामुख गर्नेमा गठबन्धनको दल नेकपा एकीकृत समाजवादीका कार्यकर्ता ।

यो दृश्यले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा वाम–लोकतान्त्रिक गठबन्धनमा रहेको जटिलतालाई देखाउँछ । अरु क्षेत्रमा कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रले यहाँ छुट्टै उम्मेदवार उठाएको छ । प्रतिनिधिसभा सदस्यका लागि राजनसँगै माओवादी केन्द्रकी अञ्जना विशंखे उम्मेदवार छिन् । प्रदेशसभा (१) दिलिप महर्जनलाई नछाडेपछि प्रदेशसभा (२) मा गणेश कुँवर र प्रतिनिधिसभामा स्थायी कमिटी सदस्य अञ्जना उम्मेदवार बनेकी हुन् ।

कांग्रेस उम्मेदवार राजनको टिमबाट भने प्रदेशसभातर्फ १ मा कांग्रेसका पुकार महर्जन उम्मेदवार छन् भने २ मा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर छिन् ।

माओवादीले छुट्टै उम्मेदवार उठाएपछि राजन कम्युनिस्टविरुद्ध आक्रामक देखिएका छन् । तर कम्युनिस्ट घटक एकीकृत समाजवादीका कार्यकर्ता भने न ताली बजाएर समर्थन गर्न सक्छन्, न विरोधमा बोल्न । किनकी पार्टीले निर्णय गरेर गठबन्धन गरेको छ र कांग्रेसकै बलमा सकेसम्म प्रदेशसभामा चुनाव जित्नु पर्नेछ ।

लगातार तेस्रो जितका लागि मैदानमा उत्रिएका राजनले ‘कम्युनिस्टको लालकिल्ला भत्काउने’ भनेर दिएको अभिव्यक्तिसँग एउटा सम्बन्ध छ । देशकै पुरानो र ठूलो विश्वविद्यालय रहेको कीर्तिपुर नेपालका ठूलठूला आन्दोलनमा सहभागी योद्धाहरूको ‘सेल्टर’ लिने ठाउँ हो । वैचारिक हिसाबले पनि कीर्तिपुर र त्यस आसपासको क्षेत्रबाट नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याउने बुद्धिजिवीदेखि नेता कार्यकर्तासम्मको ठूलो संख्या छ ।

पञ्चायत विरोधी आन्दोलनमा कम्युनिस्टहरूलाई संगठन बनाउन अहिलेको चन्द्रागिरि नगरपालिका क्षेत्रदेखि कीर्तिपुर, चाल्नाखेल लगायतको काँठ क्षेत्र, दक्षिणकाली, छैमले, फर्पिङ आदि ठाउँहरू वामपन्थी विचारधारा जन्माउने र बचाउने भूगोल हुन् ।

अञ्जना विशंखे

माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्ध र त्यसअघिका कम्युनिस्ट विचारधार बोक्ने पार्टी संगठनका आन्दोलनमा पनि यो क्षेत्रले ठूलो योगदान पुर्‍यायो । विद्यार्थी, कोही विद्यार्थीका आफन्त वा वैचारिक सम्बन्धका आधारमा कडा सुरक्षा घेराभित्र रहेको राजधानीमा आएर गतिविधि गर्ने ठाउँ हो यो ।

०६३/६३ को जनआन्दोलनपछि पनि यो क्षेत्रमा कम्युनिस्टहरूको उल्लेख्य उपस्थिति रह्यो । अहिले पनि त्यो क्षेत्रमा कम्युनिस्ट विचारधारा बोक्ने पार्टी राजनीतिभित्र र बाहिर आवद्ध ठूलो जमात यो क्षेत्रमा छ ।

माओवादीको उपत्यकामा भएका संगठन र तुलनात्मक हिसाबमा बढी मत भएको क्षेत्र पनि यही हो । त्यही कारण ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डले माओवादीको युद्धकालिन आधार क्षेत्र रोल्पा र यही क्षेत्रबाट चुनाव जितेका थिए । त्यसपछि सहरमा ओरालो लाग्दै गएको माओवादीको संगठन र जनमतले त्यसैको ६ वर्षपछि सम्पन्न दोस्रो संविधानसभा चुनावमा प्रचण्ड यही क्षेत्रबाट पराजित भए । प्रचण्डले ०७० सालमा सम्पन्न उक्त दोस्रो संविधानसभा चुनावमा सर्लाही र काठमाडौं १० बाट उम्मेदवारी दिएका थिए । उनलाई कांग्रेसका उम्मेदवार राजनले पराजित गरिदिए ।

०७४ सालमा सम्पन्न एमाले र माओवादीले वाम गठबन्धन बनाएर चुनाव लड्दा पनि राजनले दोस्रो जित निकाले । त्यतिबेला एमालेको समेत समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्य पराजित भएका थिए ।

अहिले देशका अधिकांश क्षेत्रमा चुनावी गठबन्धन भइरहँदा यहाँ भइरहेको छैन, त्यो पनि गठबन्धनमा भएका दलमध्ये माओवादी केन्द्रसँग मात्रै । माओवादी केन्द्रसँग आफू एकपटक पराजित भएको, त्यसपछि निकटतम प्रतिद्वन्द्वी हुँदै आएको र अहिले देशभर गठबन्धन हुँदा पनि प्रतिस्पर्धीको रूपमा माओवादी केन्द्र मात्रै आफ्नो क्षेत्रमा सँगै नहुनुले राजन आक्रोशित छन् ।

किन कायम रहेन गठबन्धन ?

सत्ता गठबन्धनमा रहेका सबै दल एकै ठाउँमा हुन नसकेका सीमित क्षेत्रमध्ये काठमाडौं–१० पनि एक हो ।

गठबन्धनका शीर्ष नेताहरुले गरेको भागबण्डामा प्रतिनिधिसभाको सिट कांग्रेस तथा प्रदेशसभामा एक–एक सिट माओवादी र एकीकृत समाजवादीले लिने सहमति पनि भएको थियो । तर अघिल्लो पटक कांग्रेसले जितेको भन्दै प्रदेशसभा १ कांग्रेस, कीर्तिपुरले छाड्न मानेन । निवर्तमान सांसद एवं प्रतिनिधिसभाका उम्मेदवार केसीको समर्थनमा पुकार महर्जनले प्रदेशसभा १ मा उम्मेदवारी दिए ।

बदलामा माओवादीले प्रदेशसभा (१) मा मात्र होइन, प्रतिनिधिसभा र प्रदेशसभा (२) मा पनि उम्मेदवारी दियो । ‘राजनजीको दम्भका कारण गठबन्धन कायम रहन सकेन । अब उम्मेदवारी नै दर्ता गरेर अघि बढिसकेको अवस्थामा हामीले स्वच्छ प्रतिस्पर्धा गर्ने भनेका छौं,’ माओवादीका उम्मेदवार अञ्जना भन्छिन्, ‘पार्टीले पनि यही निर्णय गरेकाले हामीलाई सहज भएको छ ।’

कांग्रेस उम्मेदवार राजन भने प्रदेशसभाका दुवै क्षेत्रमा आफ्नो पार्टीको मत बलियो भएकाले पराजित हुने गरी अरूलाई दिन सकिने अवस्था नबनेको बताउँछन् । ‘स्थानीय तह निर्वाचनमा कीर्तिपुर, दक्षिणकाली लगायतका महत्वपूर्ण पालिका र क्षेत्रमा हाम्रा उम्मेदवार विजयी भएका छन् । त्यसले हाम्रो जनमत राम्रो छ भन्ने देखाउँछ,’ उनले भने, ‘यसमा गठबन्धनमा रहेको दल माओवादी केन्द्रलाई चित्त नबुझेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति बनेको छ ।’

पछिल्ला दुई चुनावमा एक्लै कम्युनिस्टलाई पराजित गरेका राजन यसपटक देशभर गठबन्धन हुँदा पनि माओवादीले आफूलाई नछाडेकोमा आक्रोशित छन् । एकीकृत समाजवादीसँग गठबन्धन भएकाले केही कम्युनिस्टको मत लिनु पनि छ ।

हिमेश केसी

यो क्षेत्रमा राम्रो मत भएको अर्को दल नेकपा एमालेबाट हिमेश केसी चुनावी मैदानमा छन् । कांग्रेस र एमालेका केसीद्वय तथा माओवादी केन्द्रकी विशंखेसहित १८ जना उम्मेदवार काठमाडौं–१० को चुनावी मैदानमा छन् ।

यो क्षेत्रबाट राप्रपाका बलराम थापा, नेमकिपाका नारायण महर्जन, नागरिक उन्मुक्ति पार्टीका कुमार लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पूर्णलाल श्रेष्ठ, नेपाली कांग्रेस (बीपी)का सन्तप्रसाद श्रेष्ठ, विवेकशील साझा पार्टीका सनन श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टगायत उम्मेदवारहरू छन् । त्यस्तै राजकुमार थापा, रामबाबु ठाकुर र तिलकबहादुर रिजालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेस एक्लै बलियो, एमालेमा असन्तुष्टि बढ्दा माओवादी उत्साहित

विगतका निर्वाचन र तिनका परिणामहरूको विश्लेषण गर्दा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा मुख्य प्रतिस्पर्धा हुने कांग्रेस, एमाले र माओवादी केन्द्रबीचमा नै हो । त्यसमा पनि जनमतका हिसाबले कांग्रेस अन्य पार्टीभन्दा बलियो देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका केही वडामा स्वतन्त्र उम्मेदवारहरूले पनि जितेका छन् ।

यो क्षेत्रमा गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचमा कांग्रेसका वडा अध्यक्षले २४ हजार ६७५ मत प्राप्त गरेका छन् । एमालेका वडाध्यक्षले १८ हजार ८३८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका वडा अध्यक्षले चार हजार ९४२ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षले प्राप्त गरेको मतमा राप्रपाले दुई हजार ४९६ छ भने एकीकृत समाजवादीले एक हजार ३४२ मत प्राप्त गरेको छ ।

स्वतन्त्रको मत एकीकृत समाजवादीको भन्दा बढी छ । यहाँबाट स्वतन्त्रका वडा अध्यक्षको मत एक हजार ६९८ छ ।

अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन हुँदा पनि कांग्रेसका केसी करिब दुई हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए । केसीले २४ हजार १९० मत प्राप्त गर्दा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हितमान शाक्यले २१ हजार ९०७ प्राप्त गरेका थिए । विगतको यो मत तथ्यांकअनुसार कांग्रेसलाई एकीकृत समाजवादीको मत थपिँदा अझैं थप सहज हुनेछ भने एमालेभन्दा माओवादी धेरै पछाडि देखिन्छ ।

केसीले कुनै पार्टीभित्रको असन्तुष्ट भोट बाहिर नजाने भने पनि कांग्रेसबाटै विद्रोह गरेर उम्मेदवारी परेका छन् ।

तर टिकट वितरणका कारण एमालेभित्र बढेको असन्तुष्टिका कारण माओवादी उत्साहित छ । वाम लोकतान्त्रिक गठबन्धनको चर्चा चलेदेखि नै कांग्रेस र माओवादी दुवैले एमालेका आकांक्षी सुरेन्द्र मानन्धरलाई मुख्य चुनौतीका रूपमा लिएका थिए । एमालेका तल्ला कमिटीबाट मानन्धरसहित विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन र शम्भुराम महर्जन सिफारिस भएका थिए । तर पार्टी अध्यक्ष केपी ओलीले आफूसँग निकट, तर तलबाट सिफारिस नै नभएका केसीलाई प्रतिनिधिसभा सदस्यको टिकट दिए । त्यसले एमालेभित्र असन्तुष्टि चर्कियो ।

अहिले एमालेभित्र असन्तुष्ट रहेका केही नेताहरूले माओवादीकी विशंखेलाई सहयोग गर्ने प्रतिवद्धता गरेको स्रोतको दाबी छ । असन्तुष्ट एक नेताले यस विषयमा वामपन्थी विचार बोक्नेलाई समर्थन हुने प्रतिक्रिया दिएपनि थप खुल्न चाहेनन् ।

माओवादी उम्मेदवार विशंखे भने पार्टीको मात्रै भोटको हिसाब गर्दा दलहरूमा केही अन्तर रहेपनि स्वतन्त्र मतदाताका कारण आफू बलियो भएको तर्क गर्छिन् । यद्यपि, उनले एमालेको असन्तुष्ट पक्षबाट पाउने सहयोगबारे खुल्न चाहिनन् । ‘पार्टीको मतअनुसार कांग्रेस र एमालेभन्दा हामी केही पछाडि छौं । संगठनका हिसाबले हामी पनि बलियो छौं,’ उनले भनिन्, ‘यससँगै अन्य पार्टीमा रहेको असन्तुष्टि, हाम्रो पार्टी संगठनको पुरानै ताकत, पुराना नेताहरूसँगको असन्तुष्टि र मेरो नयाँ एजेण्डाका आधारमा हामी बलियो छौं ।’

कांग्रेस उम्मेदवार केसी भने कुनै पनि पार्टीभित्र देखिएको असन्तुष्टिको भोट अर्को दलको उम्मेदवारलाई नजाने बताउँछन् । ‘पार्टीभित्र असन्तुष्टि भन्ने कुरा सबैमा हुन्छ, तर एउटा पार्टीको भोट अर्को पार्टीलाई भन्ने हुँदैन,’ उनले भने, ‘एमालेको असन्तुष्टिले माओवादी वा माओवादीको असन्तुष्टिले एमालेलाई भन्ने हुँदैन । पार्टीभित्रको भोट हाम्रो बढी छ । त्यसैमा हामीले गएका दुईटा कार्यकालमा गरेका कामहरूलाई हेरेर स्वतन्त्र मतदाताले हामीलाई भोट दिन्छन् ।’

केसीले कुनै पार्टीभित्रको असन्तुष्ट भोट बाहिर नजाने भने पनि कांग्रेसबाटै विद्रोह गरेर उम्मेदवारी परेका छन् । स्थानीय चुनाव अगाडि कांग्रेस छाडेका बलराम थापा राप्रपाबाट उम्मेदवार छन् भने सन्तप्रसाद श्रेष्ठ कांग्रेस बीपीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनीहरुले प्रदेशसभातर्फ पनि उम्मेदवार उठाएका छन्, जसले काट्ने धेरै भोट कांग्रेसकै हुनेछ । कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले भने पार्टीभित्र सबै मिलिसकेको भन्दै आफूलाई असहयोग हुने कुरालाई अस्वीकार गरे ।

फरक–फरक एजेण्डा

प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धी मानिएका तीन उम्मेदवारका आ–आफ्ना एजेन्डा छन् ।

चुनावको बेलामा राजनीतिक दल र तिनका उम्मेदवारले उठाउने विषय र जनताका अपेक्षामा कहिँ न कहिँ तादम्यता मिल्दैन । यहाँ पनि अवस्था त्यो भन्दा फरक छैन । कीर्तिपुर मात्रै होइन, अधिकांश क्षेत्रमा सहरीकरणका अनेक समस्या छन् । काँठ र त्यसभन्दा बाहिरका क्षेत्रमा सार्वजनिक यातायातको समस्या छ । तर सबै उम्मेदवारले यस्ता विषयमा भन्दा आफूलाई राष्ट्रिय राजनीति र सस्तो प्रचारमुखी एजेन्डाहरूमा केन्द्रित गरेका छन् ।

कांग्रेस उम्मेदवार राजन आफ्नो चुनावी एजेण्डा राजनीतिक स्थिरता, आर्थिक समृद्धि, विकास भएको बताउँछन् । ‘अबको मुख्य एजेन्डा भनेको आर्थिक समृद्धि हो । राजनीतिक परिवर्तन गरिसकेपछि हामीलाई चाहिएको विकास र समृद्धि नै हो,’ केसीले भने, ‘स्थीर सरकार, आर्थिक समृद्धि, रोजगार, उद्योग कलाकारखानाको स्थापना आदी विषय नै मेरो प्राथमिकताका विषयहरू हुन् । यसका साथै मैले अघिल्ला दुई कार्यकालमा सुरू गरेका कामहरूको निरन्तरताका लागि पनि जनताले मलाई जिताउँछन् ।’ उनले आफ्नो समयमा यो क्षेत्रमा विकास निर्माणका धेरै योजनाहरू सुरु भएको भन्दै त्यसलाई सम्पन्न गर्न पनि कांग्रेसले जित्नुपर्ने बताए ।

माओवादी केन्द्रकी उम्मेदवार अञ्जनाले स्थानीय कला संस्कृति र सम्पदालाई उत्पादन जोड्ने तथा राजधानी नजिकको पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना सुनाइन् । ‘हामीले स्थानीय जनजीवनसँग जोडिने गरी सहरी विकास र समृद्ध मानवजीवन बनाउने खालका योजनामा काम गर्ने भनेका छौं,’ उनले भनिन्, ‘यहाँ सम्पदा र प्राकृतिक स्रोत साधन प्रसस्त छन् । ऐतिहासिक महत्वका सम्पदा क्षेत्रहरू छन् । यही क्षेत्रमा १५ सय वर्षअघिका लिपीहरू समेत छन् । यहाँ तीन सय प्रकृतिका चरा थिए, जो मासिँदै गइरहेका छन् । तीसवटा मरुहिटी थिए, हराउँदै गइरहेका छन् । महिलाहरूको हाकुपटासीलगायत परम्परागत सिप भएको कृषि उत्पादन भएको क्षेत्र हो । त्यसलाई शिक्षा र व्यापारसँग जोड्न सकिएको छैन । मैले यी सबै सम्भावनाहरूलाई अगाडि बढाउने योजना बनाएकी छु ।’

उपत्यका नजिकको शान्त र पर्यटकीय क्षेत्रका रूपमा चन्द्रागिरिलगायत क्षेत्रको विकास गर्ने योजना पनि उनले सुनाइन् । अहिले पनि हाइकिङ र ट्रेकिङका रुटका लागि प्रख्यात मानिने चन्द्रागिरि रुटको व्यवस्थापन गर्ने अञ्जनाले बताइन् । दलित समुदायको पुर्ख्यौली छाला जुत्ता उद्योगलाई व्यवस्थित गर्ने प्रतिबद्धता उनको छ ।

एमाले उम्मेदवार केसीले भने आफूलाई युवा भएकाले मत दिनुपर्ने तर्क गरेका छन् ।  ‘हामी कसैलाई हराउनभन्दा पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई कार्यन्वयन गर्न र युवा भएकाले नयाँ ऊर्जासहित काम गर्नका लागि जनताले विश्वास गर्छन् भन्ने पक्षमा छौं,’ उनले भने, ‘यसअघि दुईवटा कार्यकाल एउटै व्यक्तिले चुनाव जित्दा पनि यो क्षेत्रमा भएको विकासबारे जनता सचेत छन् । यसपटक आफ्नो भोट जनताले खेर फाल्दैनन् भन्नेमा हामी विश्वस्त छौं ।’

उनले विशेष गरी आफूलाई युवाका रूपमा प्रचार गरिरहेका छन् । ३९ वर्षीय एमालेका केसी ६५ वर्षीय कांग्रेसका केसीले केही गर्न नसकेको देखिएको भन्दै आफूलाई जिताउन भन्दै भोट मागिरहेका छन् । ‘३९ वर्षका युवा कि दुई कार्यकालमा विकास नै जनताको दुःख भन्ने नेता ?’ उनले आफ्नो प्रचार सामग्रीमा उल्लेख गरेका छन्, ‘पार्टी होइन, सोच विचार अनि युवाको परिपाटी नै उक्त हो ।’ उनले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभइ काठमाडौं क्षेत्र नम्बर १० को रुपान्तरण र विकासका लागि भएको बताएका छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?