+
+

थरीथरी सिरक, १५ सयदेखि २० हजारसम्म मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १२:५०

काठमाडौं । जाडो बढेसँगै सिरकको बजार उत्कर्षमा छ । यतिबेला बजारमा थरीथरी सिरक उपलब्ध छन् । व्यवसायी पवित्रा श्रेष्ठ भन्छिन्, ‘जाडो बढेपछि सिरक खोज्नेहरु ह्वात्तै बढ्छन् ।’

काठमाडौंको सीटीसी मलमा उनी सिरक-ब्ल्याङकेटको व्यवसाय गर्दै आएकी छन् । अहिले बजारमा कपास, फाइबर, सिलिक आदिको सिरक पाइन्छ । यी सिरक विभिन्न तीन साइजको पाइन्छन्- सिंगल, मिडियम र डबल ।

‘अहिले हामीसँग धेरैथरी सिरक छ,’ श्रेष्ठ भन्छिन्, ‘१५ सय रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका सिरक छन् ।’ उनीकहाँ भएको सबैभन्दा महंगो सिरक हो, सिलिकको । यो हल्का, न्यानो, टिकाउयुक्त भएकाले महंगो परेको उनी बताउँछिन् ।

सिलिक र फाइबरका सिरक मात्रै नभई कपासका सिरक समेत निकै गुणस्तरीय र महंगा हुन्छन् । कपास धेरै किसिमको हुन्छ । कपासको स्तर हेरेर नै सिरकको मूल्य निर्धारण हुन्छ । श्रेष्ठकहाँ कपासबाट बनेको गुणस्तरीय सिरकको मूल्य २० हजार रुपैयाँसम्म छ ।

सीटीसी मलमै रहेको अर्को पसल हो, हजुरको ब्ल्याङ्केट एण्ड सिरक स्टोर । त्यहाँ १८ सयदेखि आठ हजार रुपैयाँसम्मका सिरक उपलब्ध छन् ।

कसरी चिन्ने गुणस्तरीय सिरक ?

‘बाहिरको कपडा, भित्रको फाइबर, कपास र सिलिक हेरेर सिरकको गुणस्तर थाहा हुन्छ,’ श्रेष्ठ भन्छिन्, ‘सिरकको बाहिरी खोल सकेसम्म कटनको भए राम्रो मानिन्छ ।’

चाइना टाउनस्थित प्रगति स्टोरकी मधु अग्रवालका अनुसार राम्रो र गुणस्तरीय सिरक छान्ने प्रमुख आधार कपडा, फेदर र मूल्य नै हो । ‘गुणस्तर छनोट गर्ने एउटा आधार त मूल्य पनि हो,’ उनी भन्छिन्, ‘जति महंगो हुन्छ, उत्ति नै गुणस्तरीय हुन्छ ।’

ब्राण्डको आधारमा पनि कतिपयले सिरकको गुणस्तर पहिल्याउने गर्छन् । यद्यपि नेपाली बजारमा उपलब्ध सिलिक र फाइबरका सिरक कुनै खास ब्राण्डको नभएको अग्रवाल बताउँछिन् । ‘यी चीनबाट आयात हुने सिरक हुन्,’ उनी भन्छिन्, ‘यसको खास ब्राण्ड छैन ।’ सिरकको गुणस्तर र साइज अनुरुप मूल्य फरक पर्ने उनी बताउँछिन् ।

सीटीसी मलकै ए वान कलेक्सनकी सञ्चालक शान्ति श्रेष्ठ भन्छिन्, ‘नरम र भित्रको फेदर कोमल भएको सिरक राम्रो हुन्छ ।’ उनीकहाँ सिलिक र फाइबरका सिरक छन्, १५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका ।

सिरकको साइनो

सिरक कस्तो छनोट गर्ने भन्ने कुरा यसकारण पनि महत्वपूर्ण छ कि यसले हाम्रो सुताइलाई प्रभावित बनाउन सक्छ । गह्रौं सिरक, पातलो सिरक वा आवश्यकताभन्दा सानो सिरक ओढेर हामी निदाउन सक्दैनौं । कुनै सिरक भारी लाग्नसक्छ, कुनै सिरकले जाडो नछल्न सक्छ । स्तरीय सिरक छनोट गर्न सकिएन भने गहिरो निद्रा पाउन पनि समस्या हुन सक्छ । त्यसैले गहिरो निद्राका लागि न्यानो र सहज सिरक आवश्यक हुन्छ ।

सिरकको फेरिएको शैली

विगतमा हाम्रा पूर्खाहरुले पुरानो कपडा टालटुल गरेर ओढ्ने बनाउँथे । पछि कपास राखेर सिरक बनाउने प्रचलनले व्यापकता पायो । यो ओढ्नका लागि आरामदायक र सहज हुन्थ्यो । अहिले सिरकको रुपरंग अरु परिवर्तन भएको छ ।

यसलाई तयार गर्ने कच्चा पदार्थ, खोल, सिलाइ र डिजाइनमा विविधता आएको छ । पहिला-पहिला सिरकको माथिल्लो भागलाई आकर्षक देखाउन विभिन्न डिजाइन गरिन्थ्यो । तर अहिले जतिसक्दो हलुका, न्यानो र चिटिक्क बनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?