
६ पुस, काठमाडौं । आदीवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने पाँच वटा संस्थाहरुले सुनकोशी–३ जलविद्युत आयोजनाप्रति आपत्ति जनाएका छन् । नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउन लागिएको यो आयोजनाले काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक क्षेत्रका आदीवासी जनता प्रभावित हुने भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान, माझी राष्ट्रिय परिषद्, डोने राष्ट्रिय परिषद्, माझी राष्ट्रिय मुक्ति मोर्चा र मझसेवा सिन्धुपाल्चोकले बुधबार एक संयुक्त विज्ञप्ति जारी गरेर सुनकोशी–३ जलविद्युत आयोजना निर्माणको विरोध गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यो आयोजनाका लागि तयार पारिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहका ४५ वडा प्रभावित हुनेछन् ।
रामेछाप र काभ्रेको सीमानामा १ सय ८० मिटर अग्लो बाँध बनाएर ४५ किलोमिटर लामो जलाशय बनाएर विद्युत उत्पादन गर्ने योजना सरकारले बनाएको छ ।
यो बाँधका कारण यस क्षेत्रमा रहेका माझी, डोने, तामाङ लगायतका आदीवासीको थातथलो गुम्ने भन्दै यी संस्थाहरुले आयोजनाप्रति आपत्ति जनाएका हुन् । उनीहरुले आफ्नो विरोधका बावजुद आयोजना बनाउन खोजिए प्रतिकारमा उत्रिने चेतावनी समेत दिएका छन् । ‘हाम्रो विरोधका बावजुद बलजफ्ती आयोजना अगाडि बढाउने काम भएमा त्यसको सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौ’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले तयार पारेको प्रतिवेदन अनुसार यो आयोजनका कारण १ लाख २० हजार ६२ जना प्रभावित हुनेछन् । आयोजनाका कारण प्रभावित हुनेहरुमा २४ प्रतिशत तामाङ, १८ प्रतिशत माझी र बाँकी अन्य समुदायका मानिस छन् ।
सरकारले आदीवासी जनजातीसँग सल्लाह र स्वीकृति नै नलिकन उनीहरुलाई विस्थापित गर्नेगरी योजना बनाएको भन्दै माझी राष्ट्रिय परिषद्का संयोजक जीवन माझीले आपत्ति जनाए । उनले भने, ‘हामीलाई विस्थापित गर्नेगरी आयोजना बनाउँदा हामीसंग सल्लाह लिइएन । यस्ता आयोजनाले हाम्रो पेशा समेत खोस्छ ।’
सरकारले २८ कात्तिकमा सुनकोशी – ३ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेर योजना अगाडि बढाइसकेको छ ।
हेर्नुहोस् विज्ञप्तिः
प्रतिक्रिया 4