+
+

संसदीय चुनावमा तेस्रो हारपछि दसौंदी बने राष्ट्रिय सभा सदस्य

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ माघ २५ गते २०:०९

२५ माघ, दाङ ।  लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

बुधवार भएको उपनिर्वाचनमा ४ हजार २६ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३२६ मतभारले पराजित गरे । योसँगै उनले साढे तीन दशक लामो राजनीतिक जीवनमा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् ।

प्रतिनिधि सभा तथा संविधान सभामा गरी तीन पटक चुनाव हारेका  उनी थुप्रै उतारचढावबीच राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शिक्षक हुँदै सांसद 

२०२३ सालमा रोल्पाको तत्कालीन सैवाङ गाविसको डुबिडाडामा जन्मिएका दसौंदीले २०३६ सालबाट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए । ०४१ सालमा नेकपा कम्यूनिष्ट पार्टीमा आवद्ध भएका उनी ०४३ सालपछि शिक्षण पेशा लागे ।

उनले गाउँकै सैवाङ माविबाट अध्यापनमा सुरु गरे । त्यसपछि ०४८/०४९ सालको शिक्षक/कर्मचारी आन्दोलनको नेतृत्व गरे । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले उनलाई शिक्षकबाट निम्बन गर्‍यो ।

०५१ सालपछि उनी शिक्षण छोडेर पूर्णरुपमा राजनीतिमा होमिए । ‘शिक्षकबाट निम्बनमा परेपछि उहाँ पूर्णकालीन राजनीतिमा लाग्नुभयो’, कुनै समय रोल्पाको पार्टीमा सँगै रहेर काम गरेका नेकपा एमालेका नेता एवं तुलसीपुर मेयर टीकाराम खड्काले भने ।

दसौंदी ०४६ सालमा बहुदल आएपछि पार्टीसँग जोडिएका थिए । २०५१ सालमा उनी रोल्पाको होलेरीमा भएको प्रथम अधिवेशनमा पार्टीको जिल्ला उपसचिव भए । २०५४ सालमा भएको पार्टी विभाजनपछि उनले सचिव भएर १० वर्ष जिम्मेवारी सम्हाले । द्वन्द्वका बेला तत्कालीन एमालेका इन्चार्ज शंकर पोखरेलले सुरु गरेको शान्ति पदयात्रा अभियानमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

लगातार हार

राजनीतिमा चुनावी हार/जीत स्वभाविक मानिन्छ । तर उनले आफ्नो राजनीतिक जीवनमा भने सबैजसो चुनावमा लगातार हार व्यहोर्नु पर्‍यो । २०५१ सालमा उनी पहिलो पटक रोल्पा २ नम्बर क्षेत्रबाट सांसदमा चुनाव लडेका थिए । त्यसपछि ०५६ साल र ०७० सालको संविधान सभाको चुनाव लडे ।

तर उनी यी तीनवटै चुनावमा पराजीत भए । त्यहीकारण उनले संसदीय राजनीतिक यात्रा तय गर्न सकेनन् । ०७४ सालमा भने प्रदेश सभा सदस्यको समानुपातिकमा थिए, तर सांसद हुन पाएनन् । गएको ०७९ सालको चुनावमा पनि उनी प्रतिनिधि सभा सदस्यको समानुपातिकमा सिफारिसमा परे तर सांसदको सूचिमा परेनन् ।

महिनादिन अघिमात्र एमालेले माओवादीसँग गरेको गठबन्धन लाभ भने यो पटक दसौंदीले लिन पाए । र, लुम्बिनीको भुगोलबाट भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ दलहरुको समर्थनमा उनी बुधवार राष्ट्रिय सभा सदस्य बने ।

दसौंदी रोल्पाको राजनीतिक र सामाजिक आन्दोलनसँग जोडिएको कुशल पात्र भएको उनका समकालीन टिकाराम खड्का बताउँछन् । ‘उहाँ पार्टी आन्दोलनमा लामो समय लागेको व्यक्ति हो’, उनले भने, ‘ढिल्लै भ एपनि पार्टीले उहाँको मुल्याकन गरेको छ, उहाँमाथि न्याय भएको छ ।’

लामो राजनीतिक जीवन बिताए पनि कहिल्लै संसदीय राजनीतिमा प्रवेश गर्न नपाएका उनी भने आफ्नो जितलाई रोल्पावासीमाथि न्याय भएको बताउँछन् ।

‘लामो राजनीतिक जीवनमा जिल्लावासीका लागि काम गर्ने मौका पाएको थिइनँ, अब ठाउँमा पुगेको छु’ बुधवार विजयीपछि अनलाइनखबरसँग खुसी साट्दै उनले भने, ‘आफ्नो कार्यकाल जिल्लाको विकासमा सर्मपित हुनेछु ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?