शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका भनाइबाट स्पष्ट हुन्छ— ‘सम्भवत: विश्व इतिहासमै पहिलो पटक एक मृत व्यक्तिलाई राजा घोषणा गरिएको थियो । र, तीन दिनसम्म राष्ट्रप्रमुख थिए ।’
१९ जेठ, काठमाडौं । २० जेठ २०५८, शनिबार बिहान ९ बजे । राजसभा स्थायी समितिको आपतकालीन बैठक समितिका सभापति डा. केशरजंग रायमाझीको नेतृत्वमा कान्तिपथस्थित बहादुर भवनमा बस्यो, यो त्यही भवन हो जहाँ अहिले निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ ।
बैठकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय तथा प्रमुख विपक्षी दलका नेता माधवकुमार नेपाल उपस्थित थिए । तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्रीहरू, प्रधानसेनापति, महान्यायाधिवक्ता लगायत पनि बैठकमा उपस्थित थिए ।
बैठकको एजेन्डा सामान्य थिएन । यो बैठकले नेपाल अधिराज्यलाई नयाँ महाराजाधिराज दिंदै थियो । किनकि तत्कालीन महाराजाधिराज वीरेन्द्रको हत्या भइसकेको थियो । नयाँ राजा घोषणा गर्ने संवैधानिक अधिकार राजसभा स्थायी समितिलाई थियो । बैठकले तत्कालीन युवराज दीपेन्द्रलाई नयाँ राजा घोषणा गर्ने निर्णय गर्यो ।
नयाँ राजा घोषणा भएको समाचार देश–विदेशमा फैलियो, तर राजा दीपेन्द्र स्वयंले भने यो पत्तो पाएनन् । अघिल्लो राति नारायणहिटी दरबारमा भएको नरसंहारमा महाराजाधिराज वीरेन्द्र, महारानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति, शारदा, शाहजादी जयन्ती र कुमार खड्गविक्रम शाहको मृत्यु भइसकेको थियो । अचेत अवस्थामा रहेका दीपेन्द्र र उनका काका धीरेन्द्र्रको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार चलिरहेको थियो । यसरी, विश्वकै राजनीतिक इतिहासमा नेपालले यस्तो राजा पाएको थियो, जो सिंहासनमा होइन, मृत्युशय्यामा थिए ।
प्रारम्भिक सूचनामै भनिएको थियो कि युवराज दीपेन्द्रले नै राजपरिवारको नरसंहार गरेका हुन् । तर उनी यस्तो आरोपित व्यक्ति भए जसलाई न अदालतले सुन्न पायो, न जनताले देख्न पाए । अझ, नरसंहार गरेको भनी प्रारम्भिक रूपमै आरोपित व्यक्तिलाई राष्ट्रप्रमुखको जिम्मेवारीमा किन राखियो ? यो संवैधानिक बाध्यता थियो कि राजनीतिक व्यवस्थापन ? जब–जब दरबार हत्याकाण्डको चर्चा हुन्छ, यही प्रश्न दोहोरिन्छ ।
दीपेन्द्र गम्भीर घाइते रहेको र उनको उपचार जारी रहेको भनिएको थियो । तीन दिनसम्म यही भनियो । तर नेपाल अधिराज्यका नयाँ महाराजाधिराज अचेत मात्रै थिए कि निर्जीव भइसकेका थिए ? के उनी जीवित त थिए ? कि नेपालले एक मृत व्यक्तिलाई गद्दी सुम्पिएको थियो ? अर्को जटिल प्रश्न यही हो ।
उनलाई कन्पट्टीमा गोली लागेको र गोली टाउको वारपार भएको भनिएको थियो । त्यसपछि पनि उनी तीन दिनसम्म जीवित रहने सम्भावना कति थियो ? अनि उनी मृत थिए भने के उद्देश्यले उनलाई राजा घोषणा गरिएको थियो ? यो प्रश्नले अर्को प्रतिप्रश्न जन्माउँछ– खासमा दीपेन्द्र पीडक थिए कि पीडित ? यो फिचरमा यो विषयमा तथ्यगत विश्लेषण गरिनेछ ।
‘नयाँ राजा घोषणा गरियो, तर राज्यारोहण गर्न सकिएन । परम्परा अनुसार राजाको स्वर्गारोहण हुँदा पहिला नयाँ राजाको राज्यारोहण गर्ने अनि मात्र स्वर्गीय राजाको दाहसंस्कार गर्ने अभ्यास थियो । यस पटक त्यसो गर्न सकिएन । यस्तो भएको पनि नेपालको इतिहासमा पहिलो पटक नै थियो ।’

यो भनाइ हो तत्कालीन दरबारका सैनिक सचिव विवेककुमार शाहको । तत्कालीन दरबारका सैनिक सचिव शाहले आफ्नो पुस्तक ‘मैले देखेको दरबार’ मा यो लेखेका छन् । सैनिक सचिव दरबारमा खटिने सेनाको सबैभन्दा माथिल्लो दर्जाको अधिकारी हो । दरबार र सेना बीच संवाद र समन्वय सैनिक सचिव मार्फत हुन्थ्यो ।
पहिला नयाँ राजाको राज्यारोहण गर्ने अनि मात्र स्वर्गीय राजाको दाहसंस्कार गर्ने अभ्यास विपरीत काम गर्नुपर्ने अवस्थामा कसरी आइपुगियो ? यसका लागि घटना विवरण फेरि एकपटक स्मरण गर्नुपर्ने हुन्छ । घटना विवरण सम्झन एकपटक दरबारको फन्को लगाउनुपर्ने हुन्छ । किनकि यी संरचनाको प्रसंग १९ जेठको त्यो कालरात्रिसँग कुनै न कुनै हिसाबले जोडिन्छ ।
नारायणहिटी दरबार भन्नेबित्तिकै परम्परागत प्यागोडा शैलीको छाना भएको ‘सिग्नेचर बिल्डिङ’ को सम्झना आउँछ । हो, वि.सं. २०२० को दशकमा तत्कालीन राजा महेन्द्रको योजना अनुसार अमेरिकी आर्किटेक्ट बेन्जामिन पोल्कको डिजाइनमा नेपाली आर्किटेक्ट शंकरनाथ रिमालको नेतृत्वमा यो भवन बनेको थियो ।
धेरैजसो औपचारिक कार्यक्रम यही ‘सिग्नेचर बिल्डिङ’ भित्र हुने भए पनि दरबार परिसरभित्र एक दर्जनभन्दा बढी संरचना छन् । राजतन्त्र भएको बेला मात्र होइन, आज पनि धेरैजसो क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध छ । तर राजसंस्थाको शक्ति, कूटनीति र प्रशासन सञ्चालनका लागि डिजाइन गरिएको मुख्य भवन भने नारायणहिटी संग्रहालयका रूपमा सर्वसाधारणका लागि अहिले खुला छ ।
यो भवनभित्र सबैभन्दा महत्वपूर्ण गोरखा बैठक हो, जहाँ राजसिंहासन राखिएको थियो र अहिले पनि छ । राजाद्वारा राष्ट्रिय घोषणा, महत्वपूर्ण राज्य सम्बोधन तथा उच्चस्तरीय औपचारिक समारोह गोरखा बैठकबाट हुने गर्थे । त्यसैगरी कास्की सदन अर्को प्रमुख हल हो, जहाँ विदेशी राष्ट्रप्रमुखहरूको स्वागत हुन्थ्यो भने राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गर्थे । प्रधानमन्त्रीहरूको शपथग्रहण तथा राजासँग औपचारिक भेटघाट पनि यही सदनमा हुन्थ्यो ।
अर्को महत्वपूर्ण स्थान डोल्पा सदन हो, जुन विशिष्ट अतिथिहरूका लागि अवलोकन कक्षका रूपमा प्रयोग हुन्थ्यो । त्यहाँबाट उनीहरूले सीमित रूपमा औपचारिक कार्यक्रमहरू हेर्न सक्थे । यसका साथै दरबारभित्र नेपालका विभिन्न जिल्लाका नाममा नामकरण गरिएका धेरै कक्ष छन् । ती कक्षहरूको प्रयोग मन्त्री तथा उच्च अधिकारीहरूसँग बैठक, प्रतीक्षा कक्ष, औपचारिक भेटघाट तथा चाडपर्व र विशेष समारोहका लागि गरिन्थ्यो ।
समग्रमा नारायणहिटी दरबारको संरचना शक्ति–स्तर अनुसार स्थान विभाजन गरिएको प्रणालीमा आधारित थियो । जहाँ प्रवेशद्वारदेखि सिंहासन कक्षसम्म पुग्दा राजनीतिक शक्तिको स्तर क्रमश: बढ्दै जान्थ्यो ।
अब क्रमश: दरबारको पूर्वतर्फबाट अघि बढौं । मूल भवनको दायाँ अर्थात् पूर्वतिर महेन्द्र मञ्जिल छ, यो तत्कालीन राजा महेन्द्रको निवास थियो । करिब–करिब जयनेपाल सिनेमाको पारिपट्टि पर्खालभित्रको यो भवनमा अहिले पनि महेन्द्रकी रानी रत्नको निवास छ । त्यस्तै अझै अगाडि उत्तरतिर श्रीनिवास छ, यो तत्कालीन राजा वीरेन्द्रको निवास थियो । यहाँ राजा–रानी बाहेक उनीहरूका सन्तान दीपेन्द्र, श्रुति र निराजनका पनि खोपी थिए ।

उत्तरतिर सेनाको ब्यारक थियो र छ । खास यो ब्यारेकको प्रमुख जिम्मेवारी राजदरबारको सुरक्षा हो । दरबारभित्र दुई बाहिनी थिए । दरबारको बाहिरी सुरक्षा शाही रक्षा बाहिनीले हेर्थ्यो । जसअन्तर्गतका दुई बटालियनमा १६ सयदेखि २००० सैनिक हुन्थे । त्यस्तै, दरबारको भित्री सुरक्षा शाही रक्षक सैनिक प्रहरीले गर्दथ्यो । अहिले यसलाई विशेष सुरक्षा दल भनिन्छ । र यो फौज नारायणहिटीभित्रै छ ।
त्यो बेला शाही रक्षक सैनिक प्रहरीमा ३०० देखि ४०० सैनिक खटिएका हुन्थे । उनीहरूले भीआईपी सुरक्षाको विशेष तालिम प्राप्त गरेका हुन्थे । अझ, भीआईपी विशेषको सुरक्षाका लागि एडीसी अर्थात् शाही पाश्र्ववर्ती खटिएका हुन्थे । तर दुर्भाग्य, दुई हजारभन्दा बढी सैनिकको सुरक्षा घेरामा रहेको राजपरिवार जोगिएन ।
ब्यारेक र दरबारको मुख्य भवनको बीचमा मङ्गल सदन थियो । यो तत्कालीन महाराजाधिराज वीरेन्द्रको कार्यालय भवन हो । सबैभन्दा पश्चिममा केशर महलतर्फको गेटैमा एउटा भवन छ । यो दरबारको सचिवालय हो । जहाँ दरबारका कर्मचारीहरू काम गर्थे । यो भवनबाट केही उत्तरतिर झण्डै लैनचौरतर्फको पर्खालभित्र त्रिभुवन सदन थियो । दरबार हत्याकाण्डको ग्राउण्ड जिरो यही हो । दरबार हत्याकाण्डपछि भत्काइएको यो सदन पुन:निर्माण गरिएको छ ।
त्रिभुवन सदनको भुइँतल्लामा बिलियार्ड हल थियो जहाँ जमघट आयोजना हुन्थ्यो । माथिल्लो तलामा भने दीपेन्द्रको खोपी थियो । यसरी दीपेन्द्रका दुई खोपी थिए, एउटा वीरेन्द्रको निवास श्रीनिवासमा, अर्को त्रिभुवन सदनमा पनि ।
हरेक महिनाको तेस्रो शुक्रबार नारायणहिटी दरबारमा पारिवारिक जमघट आयोजना गर्ने परम्परा थियो । त्यसैको निरन्तरतामा १९ जेठको शुक्रबार भोज हुँदैथियो । यस्तो जमघट त्रिभुवन सदनमा हुन थालेको करिब दुई वर्षजति भएको थियो । त्यसअघि यस्तो भोजका लागि नारायणहिटी दरबारकै पूर्व भागतर्फ महेन्द्र मञ्जिलसँगैको त्रिशूल सदन रोजिन्थ्यो ।
अब एकछिन टाइम ट्राभल गरौं ।
मिति: २०५८ जेठ १९, शुक्रबार
स्थान: नारायणहिटी दरबार, त्रिभुवन सदन
आमन्त्रित थिए, राजा वीरेन्द्र, रानी ऐश्वर्य, मुमाबडामहारानी रत्न, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, श्रुतिका श्रीमान् कुमार गोरखशमशेर राणा ।
त्यस्तै राजाका माइला भाइ ज्ञानेन्द्रकी श्रीमती कोमल, छोरी प्रेरणा, छोरा तथा शाहजदा पारस र पारसकी श्रीमती हिमानी ।
राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, उनका छोरीहरू शीताष्मा, पूजा, दिलाशा र ज्वाइँ राजीव शाही ।
राजाका दिदीबहिनीहरू शान्ति, शारदा र शोभा, शारदाका श्रीमान् कुमार खड्गविक्रम शाह । त्यस्तै वीरेन्द्रका काका बसुन्धराकी श्रीमती हेलेन, उनकी छोरीहरू जयन्ती शाह र केतकी चेस्टर तथा आफन्तहरू रविशमशेर राणा, महेश्वरकुमार सिंह पनि जमघटमा आमन्त्रित थिए ।
राजपरिवारका सदस्य र शाही नातेदारलाई आमन्त्रण गर्ने शुक्रबारे जमघटका पाहुना प्राय: यिनै हुन्थे ।
तर यो जमघटमा धीरेन्द्रकी श्रीमती प्रेक्षा र अधिराजकुमार ज्ञानेन्द्र उपस्थित थिएनन् । दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र राजा भए । प्रेक्षाको अवसान भने एउटा दुर्घटनामा कसरी भयो ? त्यो प्रसङ्ग फेरि जोडिनेछ ।
नारायणहिटीको त्यो कालरात्रिमा अधिराजकुमार ज्ञानेन्द्र शाह भने पोखरामा थिए । उनी आफू अध्यक्ष रहेको तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषको कामको सिलसिलामा पोखरा गएका थिए ।
समय:
साँझ ७:३० बजे युवराज दीपेन्द्र साढे सात बज्नुअघि नै जमघटस्थल पुग्छन् । किनकि उनी यो जमघटका मुख्य आयोजक थिए । त्यसपछि क्रमश: अतिथिहरू आउन थाल्छन् ।
युवराज दीपेन्द्रले त्रिभुवन सदनको बिलियार्ड कक्षमा केही समय बिलियार्ड खेलेको र ह्विस्की पिएको उनका शाही पाश्र्ववर्ती गजेन्द्र बोहराले बताएका छन् ।
‘सरकार एक्लै बिलियार्ड खेलिबक्स्यो । म बल मिलाइदिन्थें । आफैं एक्लै खेलिबक्स्यो । माथिबाट एउटा ड्रिङ्स झिकाउन हुकुम भयो र मैले अर्दलीलाई झिकाएँ र एक पेग राख्न हुकुम भए अनुसार एक पेग फेमस ग्राउस ह्विस्की राखेर म निस्कें र म आएर आफ्नो अफिसमा बसें’, बोहराले छानबिन समितिलाई दिएको बयानमा भनेका छन् ।

८:०० बजे दीपेन्द्र आफैं मोटर चलाएर हजुरआमा रत्नलाई लिन महेन्द्र–मञ्जिल पुग्छन् । ‘करिब ८ बजेतिर युवराजाधिराज सरकार त्यहाँ सवार होइबक्स्यो, मुमा बडामहारानी सरकारको सवारी लिन जान्छु, को जाने हो भनेर हुकुम भयो, म जानुपर्ने हुँदा म उठें र मुमा बडामहारानी सरकारको सवारी लिन सरकार र म गाडीबाट मुमा बडामहारानी सरकार राज हुने महेन्द्र मञ्जिल गयौं’ बोहराले भनेका छन्, ‘त्यसपछि मुमा बडामहारानी सरकारको सवारी चलाएर फिर्ती सवारी होइबक्स्यो । ड्राइभर र म, युवराज सरकारको मोटरमा पछिपछि लागेर फर्क्यौं ।’
रानी रत्नलाई बिलियार्ड कोठाको पूर्वतर्फ रहेको सानो बैठक कोठामा पुर्याइन्छ । उनी त्यहाँ देउरानी हेलेन शाहसँग कुरा गरेर बस्छिन् । उता, बिलियार्ड खेलिरहेका दीपेन्द्रले ८:१२ बजे देवयानी राणालाई फोन गर्छन् । दीपेन्द्र र देवयानी बीचको सम्बन्धबारे निकटस्थहरू समेत जानकार थिए । फोनमा १ मिनेट १४ सेकेन्ड संवाद हुन्छ ।
८:१९ बजे दीपेन्द्रले बिलियार्ड कोठाबाटै बडीगार्ड गजेन्द्र बोहरालाई मोबाइलमा फोन गरेर चुरोट ल्याउन निर्देशन दिन्छन् । गजेन्द्र बोहराले दीपेन्द्रका शाही अर्दली रामकृष्ण केसीलाई चुरोट ल्याउन पठाउँछन् । आदेश पालना गर्दै अर्दली केसीले ‘विशेष प्रकारको’ चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गएर पारसलाई दिन्छन् ।
विशेष प्रकारको भनेको ?
‘गाँजा भरेको चुरोट ल्याऊ भन्नुभएको रहेछ । अनि म बिलियार्ड हलको त्यो मेन ढोकामा पुगेपछि पारस सरकारलाई टक्र्याएँ । भित्रचाहिं म छिरिनँ’ शाही अर्दली रामकृष्ण केसीले भनेका छन् । चुरोट शाहजादा पारसले दीपेन्द्रलाई लगिदिन्छन् ।
तर, एकैछिनमा शरीर थाम्न नसकेर ढलपलाउँदै गरेका दीपेन्द्रलाई अधिराजकुमार निराजन, शाहजादा पारस, कुमार गोरख र डा. राजीव शाहीले त्रिभुवन सदनभित्र रहेको युवराजको खोपीमा लगेर राख्छन् । यहाँ प्रश्न उठ्छ, एक–दुई पेग ह्विस्कीले नै दीपेन्द्र शरीर थाम्न नसक्ने गरी ढलपलाएका थिए ?
सम्भावना अनेक छन्,
दीपेन्द्रले त्योभन्दा बढी नै पिइसकेका थिए ?
उनले मदिरा लागेको अभिनय गरिरहेका थिए ?
वा भाष्य त्यस्तो बनाइएको हो ?
८:२५ बजे दीपेन्द्र र देवयानी बीच मोबाइलमा फेरि कुराकानी हुन्छ । अघिल्लो कुराकानीको ठीक १३ मिनेटपछि । अघिल्लो पटक सवा मिनेट मात्र कुरा भएको थियो । यसपालि भने ४ मिनेट १४ सेकेन्ड । आफूसँग कुरा हुँदा दीपेन्द्रको स्वर लर्बराइरहेको र संवाद पूरा नहुँदै दीपेन्द्रले फोन राखेको देवयानीको भनाइ छ ।
‘त्यसपछि… मैले सरकारको मोबाइलमा फोन लगाएँ, घण्टी गयो । गयो, गयो, गयो, सरकारले फोन उठाइबक्सेन । जब सरकारले फोन उठाइबक्सदैनथ्यो, अटोमेटिकल्ली ड्युटीको एडीसीलाई कल ट्रान्सफर हुन्थ्यो । त्यो दिन पनि ट्रान्सफर भयो’ देवयानी राणाले छानबिन समितिसँग भनेकी थिइन्, ‘ट्रान्सफर हुने बेलामा ड्युटी एडीसीले फोन उठायो । अनि मैले उहाँलाई भने सरकारको स्वर अलिकति लर्बराइरहेको छ, गाथमा आराम छैन कि ? … मैले उहाँलाई एकचोटि माथि खोपीमा गएर हेर्नुहुन्छ कि भनेर रिक्वेस्ट गरें ।’
दीपेन्द्रसँग संवाद भएको रात देवयानी नेपालमै थिइन् । दरबार हत्याकाण्डपछि उनी भारत गएकी थिइन् । छानबिन समितिले नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत देवयानीको बयान लिएको थियो ।
देवयानीको आग्रह अनुसार एडीसी गजेन्द्र बोहराले दीपेन्द्रका अर्दली रामकृष्ण केसी र द्वारेआमा जमुना अधिकारीलाई खोपीमा पठाउँछन् । त्यहाँ पुग्दा युवराज दीपेन्द्र भुइँमा पल्टिराखेका हुन्छन् । उनले शरीरको माथिल्लो कपडा फुकाल्न खोजेका हुन्छन् । केसी र अधिकारीले लुगा फुकाल्न सहयोग गर्छन् ।
कपडा फुकालिसकेपछि दीपेन्द्र बाथरूम जान्छन् । बाथरूमबाट उनले वाक्–वाक् गरेको आवाज बाहिरसम्म आउँछ । ‘बाथरुम बाहिर बस्यौं । के गरिबक्सन्छ भनेर बस्दा बाथरुममा वा–वा गरिबक्सियो । ढोका लक लगाइबक्सेको थियो भित्रबाट । के गरिबक्सन्छ भनेर हेर्दा बाथरुमबाट निस्किबक्सेपछि तिमीहरू सुत्न जाओ भन्नुभयो’, द्वारेआमा अधिकारीको भनाइ छ ।
त्यतिन्जेलसम्म पनि राजा वीरेन्द्र भने जमघटमा आइपुगेका थिएनन् । ८:३५ बजे मात्र राजा वीरेन्द्र मङ्गल सदनस्थित आफ्नो कार्यालयबाट पैदल हिंड्दै त्रिभुवन सदनतर्फ लाग्छन् । मङ्गल सदन र त्रिभुवन सदन बीचको दूरी करीब १५० मिटर छ । ‘हिंड्दै गर्दा महाराजाधिराजका पाइला अचानक रोकिए । म पनि पछाडि थामिएँ । सरकारले मास्तिर बिजुलीको खम्बातिर नजर फर्काइबक्स्यो । अनि मर्जी भयो, यहाँको बत्ती किन बलेन ? दीपेन्द्रको एडीसीलाई तुरुन्त खबर गर’ राजा वीरेन्द्रका शाही पाश्र्ववर्ती सुन्दरप्रताप राना आफ्नो पुस्तक ‘दरबारको दु:खान्त’मा लेख्छन् ।
त्यसपछि राजा वीरेन्द्र त्रिभुवन सदनमा पुगेर मुमाबडामहारानी रत्नसँग ढोग्दै भलाकुसारी गरेर बिलियार्ड कोठामा प्रवेश गर्छन् । रत्न बिलियार्ड हल अगाडिको कोठामा थिइन् ।
८:३९ बजे दीपेन्द्रले मोबाइलबाट देवयानीलाई फेरि फोन गर्छन् । यसपटक ३२ सेकेन्ड कुरा हुन्छ । ‘सरकारको फोन आयो । अनि हुकुम भयो मलाई, भोलि बिहान मात्र तिमीलाई फोन गर्छु । गुडनाइट भनेर हुकुम भो । अनि मैले पनि गुडनाइट भनें । त्यसपछि फेरि हुकुमभयो । अब म सुत्न लागेको छु है । म भोलि बिहान फोन गर्छु, गुडनाइट भनी फेरि राखिबक्सियो’, देवयानीको भनाइ छ ।
८:४० बजे देवयानीलाई ‘गुडनाइट’ भनेको क्षणभरमै दीपेन्द्र सैनिक कम्ब्याट पोशाक लगाएर हातहतियार बोकेर खोपी बाहिर निस्किंदै थिए । बाहिर निस्कन लागेका युवराजलाई अर्दली रामकृष्ण सोध्छन्, ‘इमर्जेन्सी ब्याग टक्राउँ, सरकार ?’
‘पर्दैन अहिले’ दीपेन्द्रले जवाफ दिन्छन् ।
वेदरप्रुफ ज्याकेट, स्प्रे, एक्स्ट्रा ब्याट्री जस्ता सामान हुने इमर्जेन्सी ब्याग सधैं तयारी अवस्थामा राखिएको हुन्थ्यो । तर, उनलाई त्यो चाहिएको थिएन । कम्ब्याट सैनिक पोशाक लगाएका दीपेन्द्रले दुईतर्फ राइफल र १२ बोर भिरेका थिए । उनी खोपीबाट तल झरेर बिलियार्ड कोठातर्फ प्रवेश गर्छन् ।
दीपेन्द्रले देवयानीसँग फोन गर्दाको क्षण ब्वाइज भनिने दरबारका सेवक बच्चुराम केसी दीपेन्द्रको खोपीमा पुगेका थिए । केसीको भनाइ छ, ‘घटना घट्नुभन्दा दुई मिनेट अगाडि म कोल्ड ड्रिङ्क्स लिएर गएको थिएँ । त्यहाँबाट फर्केर अलि वर बैठकको ढोकाको १० मिटर जति उत्तर साइडमा पुग्दा युवराज सरकार आर्मीको चुस्ता (ड्रेस) मा सवारी होइबक्स्यो । अगाडि गन भिरिबक्सेको थियो । त्यसबेलासम्म मैले उभिएर हेरिरहेको थिएँ । कतै सवारी हुन लाग्यो भन्ठानें मैले । त्यसपछि ढोकाबाट छिर्नेबित्तिकै फायरिङ गर्न शुरु गरिबक्स्यो, त्यसपछि मलाई डर लाग्यो; मेरो मुटु काम्यो । म दौडेर भागें ।’
दीपेन्द्रले हतियार बोकेर खोपीबाट बाहिर निस्कँदा पनि शुरुमा उनकै सहयोगीलाई पनि अनौठो लागेन । किनकि दीपेन्द्र सेनाका कर्णेल कमान्डेन्ट थिए । यो मानार्थ पद भए पनि जङ्गी पोशाक लगाउने र हतियार बोक्ने सुविधा उनलाई थियो । उनीसँग अटोमेटिक सब–मेसिनगन, एम–१६ राइफल, १२ बोर र पिस्तोल गरी कम्तीमा चार हतियार थिए ।

सैनिक कम्ब्याट पोशाकमा बिलियार्ड कोठामा प्रवेश गरेका दीपेन्द्रले कालो रङको मेसिनगनबाट कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गर्छन् । बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर राजा वीरेन्द्र आफन्तहरूसँग कुरा गरिरहेका थिए । युवराज दीपेन्द्र मेसिनगनले राजा वीरेन्द्रमाथि फायर गर्छन् । वीरेन्द्र ढलेपछि दीपेन्द्र पछाडि सर्दै बिलियार्ड कोठाबाट बाहिर निस्कन्छन् । बिलियार्ड कोठाको पूर्वतर्फ भित्री बगैंचाको छेउकै उत्तरतर्फ झ्याङ थियो । त्यहाँनजिक १२ बोरको बन्दुक फ्याँकेर उनी लगत्तै भित्र बिलियार्ड कोठामा प्रवेश गर्छन् । लाइट र टेलिस्कोप सहितको राइफल सोझ्याउँदै आएर पुन: राजा वीरेन्द्र, कुमार गोरखशमशेर राणा, धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाह समेतलाई फायरिङ गरी पछाडि सर्दै ढोकामा पुग्छन् ।
शाहजादा पारसको बयान यही छ । पारसको बयान छ, शुुरुमा तीन राउन्ड फायर भएको आवाज सुनियो । महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो, ड्याङ–ड्याङ, एउटा यस्तोमा गोली लाग्यो । महाराजाधिराज ढलिबक्स्यो । म र राजीव सँगसँगै कुदेर गयौं । डा. राजीव महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो । मलाई चाहिं अधिराजकुमारी शोभाले जान दिइबक्सेन, “तिमी त्यही बस, हिंड्ने होइन” हुकुम भयो ।’
बाहिर गएका दीपेन्द्र फर्किएर आएर वीरेन्द्रमाथि फेरि गोली चलाएको पारसको भनाइ छ । उनले बयानमा भनेका छन्, ‘युवराजाधिराज सरकार फेरि फर्केर सवारी भयो । महाराजाधिराजलाई हानिबक्सेको देखें । धीरेन्द्र सरकारलाई हानिबक्सेको देखें । धीरेन्द्र सरकार ढलिबक्सेबित्तिकै त एकपछि अर्को को ढल्यो, त्यसपछि राम्रोसँग भन्न सक्दिनँ ।’
राजालाई गोली कसरी लाग्यो ? यो विषयमा राजा वीरेन्द्रका काका बसुन्धराकी छोरी केतकी चेस्टरले अलिक विस्तृतमा बयान दिएकी छन् । ‘हामी गफ गर्दै थियौं । त्यसपछि मैले देखेको चाहिं मेन ढोकाबाट दीपेन्द्र शाह सेल्फ कम्ब्याट युनिफर्ममा दुई वटा बाहुलीमा एउटा–एउटा मेसिनगन बोकेर सवारी भयो । महाराजाधिराजभन्दा करिब १० फिट यता राज भइकन त्यसपछि डङ्ग गोलीको आवाज सुनें । तर मलाई गोली भने लागेको थिएन । हामी हेर्दाहेर्दै जिल्ल परेर एकदम दायाँ बाहुलीमा भएको बन्दुक माथितिर रहेछ र माथितिर ताकिरहेको थियो । त्यसपछि मलाई गन्ध आयो । मैले मेरो दिज्यूलाई ‘यो त बारुद हो कि गन ?’ भनेर बिन्ती गरें । त्यति गर्दा पनि के भएको हो भन्ने बुझिएन ।’
दीपेन्द्र फरक्क फर्किएर बाहिरतिर गएपछि आफूहरूले वीरेन्द्रतर्फ थप ध्यान दिएको केतकीको भनाइ छ । ‘महाराजाधिराजको शरीरबाट रगत आएको थियो र विस्तारै उहाँ लड्दै होइबक्सन्थ्यो । उहाँको वरिपरि मैले चिनेका कुमार गोरख थिए, उनको शरीरमा पनि २–३ ठाउँमा रगत देखें । अनि त्यहाँबाट सबै जना ‘ए, के भयो ?’ भन्नेमा नै गए’ केतकी भन्छिन्, ‘त्यसपछि फेरि युवराजाधिराजको सवारी भयो । त्यो बेलामा उहाँको बाहुलीमा एउटा मात्र बन्दुक देखें । धीरेन्द्रले अगाडि आएर “बाबा, विध्वंस निकै भइसक्यो” भनिकन सर्दाखेरि बन्दुक उठाएर हानिबक्सेको देख्यौं । धीरेन्द्र चाहिं एकदम पछाडि गएर लडिबक्सेको देखें ।’
धीरेन्द्रका ज्वाइँ डा. राजीव शाही पनि त्यहीं थिए । उनको भनाइ छ, ‘युवराजाधिराज सरकार सवारी भएको पनि मैले देखिनँ । किनभने एल–सेपमा देखिन्न । एकैचोटि परर्र आवाज आयो । हल्लाखल्ला भयो । एकैचोटि महाराजाधिराज सरकारलाई गोली लाग्यो भन्ने मैले सुनें । भन्नेबित्तिकै महाराजाधिराज सरकार त्यतिबेलासम्म भुइँमा पल्टिसकिबक्सेको थियो । मैले कोट झिकेर दाहिने घाँटीतर्फ प्रेस गरें । सरकारले ‘राजीव, मेरो पेटमा पनि लागेको छ’ भन्ने हुकुम भयो ।’
दीपेन्द्र ढोकाबाट पुन: अगाडि बढेर तेस्रो पटक श्रुति, शारदा, शान्ति र जयन्ती शाह लगायत अन्यलाई लाग्ने गरी फायरिङ गर्छन् । त्यसपछि बिलियार्ड कोठाबाट बाहिर पूर्वतर्फको भित्री बगैंचातर्फ पछाडि सर्दै जान्छन् । त्यतिबेला अधिराजकुमारी शोभा, शाहजादा पारस, कुमार गोरख, केतकी चेस्टर, रवि शमशेर, डा. राजीव शाही, महेश्वरकुमार सिंह घटनास्थलमा थिए ।
बिलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्ध फायरिङ गरेपछि पछाडि सर्दै सर्दै पूर्वतर्फको भित्री बगैंचातिर जाँदा दीपेन्द्रलाई रातो सारी पहिरिएकी महिलाको आकृतिले पछ्याएको देखिन्छ । ‘पछाडि पछाडि रातो लुगा, ब्याकसाइडबाट खोपी फर्केर जान लाग्दा दुवैपट्टि हातमा यस्तो गन, ब्याक यस्तो साइडबाट देख्यौं र पछाडिबाट एउटा रातो लुगा लगाउने आइमाई त्यसको त ढाड मात्र देखे मैले’ ब्वाइज शान्तबहादुर खड्काको भनाइ छ ।
रातो सारी पहिरिएकी ती महिला को थिइन् ?
उनी रानी ऐश्वर्य थिइन् ।
‘म धीरेन्द्रलाई मद्दत गर्न कोशिश गरिराखेको थिएँ । त्यो बेलामा बाहिर सवारी भएको देखें । लमकलमक बगैंचातिर दुईचोटि मैले भाउजू भाउजू, हुन्न भाउजू भनिकन बिन्ती गरें’ केतकी चेष्टर भन्छिन्, ‘तर उहाँको मुहारबाटै थाहा पाएँ कि “म बन्दूकै लिन्छु कि म मर्छु” भन्ने मेरो मनमा लागेको, त्यत्ति हो । निराजन चाहिं उहाँको पछिपछि सुरक्षा गर्न गएको भन्ने मलाई लाग्यो ।’
बिलियार्ड कोठाबाट पूर्व भित्री बगैंचामा जाने बाटो हुँदै सो बगैंचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड) मा जाने सानो बाटोको सङ्गम जस्तो ठाउँमा रानी ऐश्वर्यको पछाडि पछाडि निराजन गएका थिए भन्ने केतकी चेस्टरको भनाइले देखाउँछ । तर त्यसपछि उनलाई कतिबेला गोली लाग्यो ? कसैले देखेन ।
निराजन जहाँ गएका थिए, त्यतैपट्टि पूर्वतर्फ टाउको परेर अचेत भएर ढलेको अवस्थामा भेटिए । ‘बिलियार्ड रुमको ढोकापट्टिबाटै पूर्वपट्टि ढोकाबाट म बाहिर निस्कें । त्यहाँबाट बगैंचातर्फ जाँदै गरें । अनि जाँदै गर्दाखेरि बीचमा नै मैले अधिराजकुमार निराजन सरकारलाई घाइते अवस्थामा देखें’ सेनानी विष्णु खड्काको भनाइ छ ।
रानी ऐश्वर्य भने युवराज दीपेन्द्रको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्याङमा ढलेकी थिइन् । भर्याङको माथिल्लो भागमा रहेको ल्यान्डिङ एरियाबाट तल खुड्किलातर्फ फायरिङ हुँदा उनी बीचैमा ढलेकी थिइन् । रानीलाई यति धेरै गोली लागेको थियो, शरीर क्षत–विक्षत भएको थियो । एक किसिमको रगतको खोला नै बगेको छानबिन समितिको अवलोकन छ ।
त्रिभुवन सदनभित्र रक्तपात भइरहेको थियो । यही भवनको मूल ढोकाको दाहिनेपट्टिको कक्षमा राजा वीरेन्द्रका एडीसी सुन्दरप्रताप राना र दीपेन्द्रका एडीसी गजेन्द्र बोहरा लगायत थिए । तर उनीहरूले भवितव्य भइसकेपछि मात्र थाहा पाए । फायरिङको आवाज र ‘डाक्टर चाँडो बोलाऊँ’ भन्ने आवाज सुनेको उनीहरूको भनाइ छ ।
बिलियार्ड कोठाबाट चाँडो उद्धार गर्न सो कोठाको दक्षिणतर्फको सधैं बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पाश्र्ववर्ती सुन्दरप्रताप राणा लगायत भित्र प्रवेश गरे । त्यहाँ पुग्दा घाइते अवस्थामा रहेका राजा वीरेन्द्रलाई बोकेर मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको सुन्दरप्रतापले आफ्नो पुस्तक ‘दरबारको दु:खान्त’मा उल्लेख गरेका छन् ।
‘करिब ९:०५ बजेको हुँदो हो, सिसाको ढोका हल्लिएजस्तो थर्थराहटले मेरो ध्यान भङ्ग भयो । मैले गजेन्द्र बोहरालाई के आवाज आयो यस्तो, हेर त भनें । गजेन्द्र बाहिर निस्किए । सिसाको झ्यालबाट बिलियार्ड हलभित्र हेर्दा त धीरेन्द्र सरकार ढलिरहेको देखेछन् । …गजेन्द्रले ढोका खोल्नासाथ स्वचालित बन्दुक चलेको गोलीको परर्र आवाज स्पष्टै सुनियो’, सुन्दरप्रतापले लेखेका छन् ।
दगुर्दै जाँदा झ्यालबाट हलभित्र मान्छे पूरै सोत्तर भएर लडेको देखेको सुन्दरप्रतापले आफ्नो पुस्तकमा लेखेका छन् । उनले भनेका छन्, ‘बिलियार्ड टेबल नजिक वीरेन्द्र सरकारको शरीर समातेर डा. राजीव शाही बसिरहनुभएको थियो । लडेका मान्छेलाई नाघ्दै म सरकार भएको ठाउँमा पुगें । सरकारलाई एकातिरबाट मैले, अर्कोतिरबाट सहसेनानी प्रफुल्ल शाह र शाही पाश्र्ववर्ती पवन खत्रीले उठायौं । त्यसपछि छाउनी अस्पताल पुर्यायौं ।’
यो सब घटना गराएका भनिएका दीपेन्द्र कतिबेला घाइते भए ? त्यो देख्ने कोही भएन । त्रिभुवन सदन अगाडिको बगैंचाका स–साना पोखरीमाथिको पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वार–घ्वार आवाज निकालिरहेको अवस्थामा दीपेन्द्र भेटिएका थिए । उनलाई सेनानी विष्णु खड्का र शाहजादा पारस सहितले अस्पताल पुर्याएका थिए ।
दीपेन्द्र आफ्नै खोपी नजिक रहेको पोखरी नजिक भेटिएका थिए ।
‘…म युवराजाधिराज सरकारको खोपीतर्फ लागें । लाग्दाखेरी त्यो सानो पोखरी जस्तोको माथि, एउटा सानो पुल जस्तोमा, म जाँदाजाँदै मतर्फ शिर, भनेपछि दक्षिणतर्फ शिर पारेर त्यही पुलमा ढलेको अवस्थामा मैले फेला पारेको हुँ’ सेनाका मेजर विष्णु खड्काले भनेका छन् ।
त्यसपछि तुरुन्त आफूले बाँकी फौजको मद्दतले युवराजलाई बाहिर रेस्क्यू गरेर लगेको खड्काको भनाइ छ । ‘त्यतिबेला मैले बाहिर उहाँलाई बोकेर ल्याउँदा गजेन्द्र बोहरा मेजर साहेबले युवराजाधिराज सरकारकै मोटर स्टार्ट गरिबक्सेको रहेछ । पारस सरकार अगाडि सिटमा बस्नुभयो । अनि युवराजाधिराज सरकारलाई पछाडि सिटमा राखें’ खड्का भन्छन्, ‘राख्दाखेरी अनि पछाडि फेरि त्यो फौजले निराजन सरकारलाई पनि ल्याइसक्यो । दुई जना सरकारहरूलाई त्यही युवराजाधिराज सरकारको ठूलो जीपमा राखेर अनि ढोका बन्द गरें । त्यसपछि मैले आफू चढ्ने कुनै पनि गाडी खोज्न थालें । यसो खोज्न थालेपछि त्यो पुरानो, हरियो रङको टोयोटा ल्याण्ड क्रुजर एउटा गाडी थियो, त्यसमा म बसेर त्यो गाडीको पछि पछि अस्पतालसम्म पुगें ।’
सैनिक अस्पताल छाउनी पुर्याइएका राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा, शाहजादी जयन्ती र कुमार खड्गविक्रम शाहलाई जेठ १९ राति ९:१५ देखि ९:५५ को बीचमा मृत घोषणा गरिन्छ ।
साँझ ८:४० सम्म दीपेन्द्रले देवयानीसँग फोनमा कुरा गर्दै थिए । त्यसको ३५ मिनेटमा राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार निराजन छाउनी अस्पतालमा मृत घोषणा भइसकेका थिए । हो, ९:१५ मा उनीहरू तीन जना, ९:३० मा शारदा र जयन्ती, ९:३५ मा शान्ति र कुमार खड्गविक्रम तथा ९:५५ मा श्रुतिलाई मृत घोषणा गरियो । दीपेन्द्रलाई भने त्यसको तीन दिनपछि जेठ २२ गते बिहान ३:४५ बजे निधन भएको घोषणा गरियो । त्यतिन्जेल उनी तीन दिनका राजा भइसकेका थिए ।
जेठ २२ गते बेलुकी ५:५७ बजे धीरेन्द्रलाई पनि मृत घोषित गरिन्छ । अघि हामीले धीरेन्द्रकी श्रीमती प्रेक्षाको अवसानको प्रसंग ल्याएका थियौं । हो, १९ जेठको त्यो राति उनी त्यहाँ थिइनन् । हत्याकाण्डको पाँच महिनापछि कात्तिक २३ मा प्रेक्षा शाह सहितको टोली राराताल पुगेको थियो । उनी चढेको हेलिकोप्टर बिहानै रारातालसँगै जोडिएको सैनिक ब्यारेकमा ओर्लिएको थियो । राराताल घुमेर काठमाडौं उडेको हेलिकोप्टर तालमै खस्यो र डुब्यो । प्रेक्षा सहित पाँच जनाको ज्यान गयो ।
राराभन्दा गहिरो रहस्य नारायणहिटी दरबारको त्रिभुवन सदनभित्रै थियो । छानबिन समितिले दीपेन्द्रले नै गोली चलाएर परिवारका सदस्यहरूको हत्या गरेको र आफूले आत्महत्या गरेको निष्कर्ष निकाल्यो । त्यतिबेला विवाहको विषयलाई लिएर दरबारभित्र असन्तुष्टि थियो भन्ने आफन्तहरूको भनाइ छ ।
दरबारकाण्डको छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल रहेको समिति गठन गरिएको थियो । माधवकुमार नेपालले समितिमा बस्न इन्कार गरे । दुई सदस्यीय समितिले आफ्नो काम पूरा गर्यो ।

नारायणहिटी दरबारमा भएको दु:खद् घटनाको तथ्य पत्ता लगाउन जेठ २२ गते गठन भएको छानबिन समितिले जेठ २६ गते कार्यप्रारम्भ गर्यो । शुरुमा तीन दिन पाएको समितिको म्याद एक साता थपेर जेठ ३२ पुर्याइएको थियो । यसरी समितिले सात दिनमै आफ्नो पूर्ण प्रतिवेदन बुझाउँदै दीपेन्द्रलाई हत्याकाण्डको एक मात्र दोषी ठहर गर्यो ।
तर, जम्मा दुई पेग ह्विस्की खाएका भनिएका दीपेन्द्र उभिनै नसक्ने कसरी भए ?
उभिनै नसकेपछि चार जनाले खोपीमा पुर्याएपछि दीपेन्द्र एकैछिनमा कसरी दुई–दुई वटा बन्दूक बोकेर प्रकट भए ?
अघि लुगा खोल्न समेत नसकेका दीपेन्द्र केही मिनेटमा आर्मीको कम्ब्याट ड्रेसमा कसरी फिट भए ?
अनि दीपेन्द्रका भाइ निराजनलाई कतिबेला कसरी गोली लाग्यो ?
दीपेन्द्र आफैंलाई गोली कसरी लाग्यो ?
वीरेन्द्रका परिवारका सदस्य सबै मारिनु संयोग मात्र थियो ?
घाइतेलाई नारायणहिटीबाट नजिक रहेका वीर, टिचिङ जस्ता अस्पतालमा किन लगिएन ?
यी प्रश्नलाई छानबिन समितिले सम्बोधन गर्न खोजेन, त्यसैले प्रतिवेदनले विश्वास आर्जन गर्न सकेन ।
गोली चलाएर मान्छेको ज्यान जानु आपराधिक घटना हो । कुनै पनि अस्वाभाविक घटनामा कसैको मृत्यु भएमा पोस्टमार्टम अनिवार्य हुन्छ । तर गोली प्रहारबाट राजारानी, युवराज, अधिराजकुमारी सहितको मृत्यु भएको घटनामा पोस्टमार्टम गरिएन ।
पोस्टमार्टम भएको भए, दीपेन्द्रले मदिरा कति पिएका थिए ? कालो पदार्थ भनिएको नशालु पदार्थ के थियो ? त्यसको मात्रा र प्रभाव कति थियो भन्ने खुलस्त हुन्थ्यो । यो भनाइ सर्वसाधारणको मात्र होइन, फरेन्सिक विज्ञ डा. हरिहर वस्तीको पनि हो ।
‘अल्कोहलको मात्रा मृतक सबैको हेरिनुपर्दथ्यो । कालो पदार्थ भनिएको हुनाले युवराज दीपेन्द्रको हाइड्रोक्सी क्यानाबिनल समेत हेरिनुपर्दथ्यो । यस्तो घटनामा प्रयोग हुने ड्रग्सहरूको परीक्षण हुनुपर्दथ्यो’ फरेन्सिक विज्ञ डा. हरिहर वस्ती भन्छन् ।
डा. वस्ती नेपालका प्रतिष्ठित फरेन्सिक अनुसन्धान विज्ञ हुन् । राजपरिवारका सदस्यको पनि पोस्टमार्टम गर्न वस्तीलाई सैनिक अस्पताल बोलाइएको थियो । तर, दिनभर छाउनी अस्पताल बसेर फर्केका डा. वस्तीको थप भनाइ यस्तो छ, ‘अनुसन्धान नगरेको हुनाले पहिल्यै मरिसकेका मान्छेलाई तीन दिन राजा बनाइयो भन्ने अविश्वास छ नि, त्यो कुरा शव परीक्षण गर्न पाएको भए थाहा हुन्थ्यो । किनभने तीन–चार दिनमा त धेरै परिवर्तन आइसकेको हुन्छ । एक–दुई घण्टा फरक पर्ला तर ८–१० घण्टा भइसकेको भए थाहा हुन्छ । फ्रिज बाहेक जस्तोसुकै ठाउँमा राखे पनि शरीर कक्रिन्छ, लठ्ठी जस्तै ठडिन्छ, रगत थिग्रिन्छ । यति कुरा थाहा पाउन छालामा जेन्टल प्रेसर र अवलोकनबाटै हुन सक्थ्यो । शव चिरफार पनि पर्दैनथ्यो ।’

दीपेन्द्रले साँच्चै आत्महत्या गरेका थिए ? त्यो कसैले देखेन, तर उनलाई गोली लागेकाले उनले आत्महत्या गरेका होलान् भन्ने आधारमा नै छानबिन समितिले निष्कर्ष दिएको छ । ‘आत्महत्या गर्ने निश्चित साइड हुन्छ । जुन हात चल्छ, त्यतैपट्टि गोली लागेको हुन्छ । दाहिने हात चल्ने मान्छेले देब्रे हाततर्फ गोली हान्दैन । आफैंले हानेको छ भने टाढाको दूरी हुँदैन, तर त्यसको परीक्षण नै हुन पाएन’ डा. वस्ती भन्छन् ।
वीरेन्द्र सैनिक अस्पतालका डाक्टर तथा प्रमुख सेनानी भैरवकुमार हमालले छाउनी अस्पताल आइपुग्दा दीपेन्द्रको नाकबाट घ्यार–घ्यार आवाज आइरहेको र सफा गरेपछि त्यो आवाज कम भएको बताएका छन् । डाक्टर हमालकै भनाइमा पनि दीपेन्द्रको बायाँ कन्चटबाट पसेको गोली दायाँ कन्चटबाट निस्केको थियो, र निस्केको प्वाल ठूलो थियो ।
‘उहाँको बायाँपट्टि कन्चटमा टेम्पोरल रिजनमा एउटा प्वाल थियो । दायाँपट्टि धेरै ठूलो प्वाल थियो । दुवैबाट रगत आइरहेको थियो । मेरो सहयोगका लागि एनस्थेसियोलोजिस्ट डा. गौतमरत्न शाक्य आउनुभयो । सबैभन्दा पहिला हामीले युवराजको नेक एक्सटेन्डेड गरिदियौं । एक्सटेन्डेड गर्ने बित्तिकै त्यो घ्यार–घ्यार आवाज बन्द भयो’ प्रमुख सेनानी डा. हमाल भन्छन् ।
प्रश्न दुई वटा छन् । दीपेन्द्र दाहिने हात चलाउने व्यक्ति थिए, तर उनलाई गोली भने बायाँपट्टि लागेको थियो । त्यो कसरी भयो ? अनि बायाँ कन्चटबाट पसेको गोली झन् ठूलो भ्वाङ बनाएर दायाँ कन्चटबाट निस्केको छ, गोली वारपार भएको अवस्थामा पनि कुनै व्यक्ति तीन दिनसम्म जीवित हुन सक्छ ? त्यसो भए दीपेन्द्र राजा घोषणा हुँदा र त्यसपछिका तीन दिनसम्म जीवित थिए कि मृत ?
शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठले सात वर्ष पहिले नेपाल आज सँगको अन्तर्वार्तामा स्वर्गे भइसकेको भनेर घोषणा गर्न नमिलेर युवराज दीपेन्द्रलाई राजा घोषणा गर्नु परेको बताएका छन् । ‘राजगद्दी खाली राख्न नहुने भन्ने नियम रहेछ । क्राउन प्रिन्स त्यसबेलाको अवस्थामा बाँच्दैन भन्ने सबैलाई थाहा थियो । मर्यो भनेर अर्कोलाई घोषणा गर्न त मिलेन’, डा. श्रेष्ठले भनेका छन् ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजा घोषणा गर्नुअघि नै दीपेन्द्रको मृत्यु भइसकेको खुलासा गरेका छन् । पत्रकार डा. जगत नेपालद्वारा सम्पादित गिरिजाप्रसाद कोइरालाको आत्मकथा ‘आफ्नै कुरा’ २०६७ मा प्रकाशित भएको थियो । यो पुस्तकमा कोइरालाले स्पष्ट भनेका छन्, ‘२०५८ जेठ २० गते राजा, रानी र युवराजको लास एउटै ठाउँमा राखिएको थियो । युवराज दीपेन्द्रलाई राजा घोषणा गरिए पनि उनको मृत्यु भइसकेको थियो ।’
शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका भनाइबाट बुझिन्छ– सम्भवत: विश्व इतिहासमै पहिलो पटक एक मृत व्यक्तिलाई तीन दिनसम्म राजा बनाइएको थियो । र, राज्य सहायकको रूपमा नायवी शासनको जिम्मेवारीमा ज्ञानेन्द्रलाई तोकिएको थियो ।
राजसभा स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीको भनाइ थियो, ‘राजाको स्वर्गे भइसकेकाले उत्तराधिकारी को ? भन्दा अन्तत: युवराजाधिराज तर उहाँ पूर्ण रूपमा अक्षम भएकाले राज्य सहायक श्री ५ अधिराजकुमार ज्ञानेन्द्र तय गर्यौं ।’

२० जेठमा राज्य सहायकको जिम्मेवारी पाएका ज्ञानेन्द्रलाई तीन दिनपछि महाराजाधिराज घोषणा गरियो । त्यो नाजुक घडीमा नागरिकलाई शान्त बनाउन ७२ घण्टाको संक्रमण पनि निकै महत्वपूर्ण थियो । शायद प्राण गुमाइसकेका दीपेन्द्रले राजा बनेर यो संक्रमणलाई सहज बनाइदिए । तर उनको वास्तविक छवि भने यसरी अमिट बनेको छ जसले जस्तो अर्थ लगाए पनि हुने भएको छ । किनकि दीपेन्द्रमाथि आफ्नै परिवारको नरसंहारको भयानक आरोप लाग्यो– तर उनले न स्वीकार गर्न पाए न इन्कार ।
छानबिन समितिका सदस्य तारानाथ रानाभाटले अनलाइनखबरसँग भनेका छन्— ‘अहिले सम्झिंदा त्यो समिति सत्यतथ्य पत्ता लगाउनभन्दा पनि सरकारले अभिलेख राख्नुपर्छ भन्ने हिसाबले गठन भएको जस्तो लाग्छ । यो विषयमा धेरै नबोलौं होला, केही नपाएर तारानाथले फेरि जेठ १९ बारे बोल्दै हिंड्न थालेछ भन्छन् ।’
दीपेन्द्र निर्दोष थिए भने पनि त्यसको वैज्ञानिक पुष्टि हुने सम्भावना न्यून छ । किनकि पोस्टमार्टम र भिसेरा संकलन जस्ता आधारभूत प्रक्रिया पनि पूरा भएनन् । बयानका आधारमा आ–आफ्ना थ्योरी बनाउन भने सहज नै छ, सबैलाई, सधैंलाई ।
दीपेन्द्र दोषी थिए भने पनि उनी केवल एक व्यक्ति थिएनन्– उनी त्यो दरबारको बन्द संस्कृतिका उत्पादन थिए; जहाँ सत्ता, शक्ति, आसक्ति, हतियार, परिवार, प्रेम र गोपनीयता एउटै कोठामा थुनिएका थिए । त्यसैले यो घटनाको सत्यतथ्य पनि त्यसैगरी बन्दी बनिरहनेछ ।
नयाँ राजा घोषणा गरियो, तर राज्यारोहण गर्न सकिएन । परम्परा अनुसार राजाको स्वर्गारोहण हुँदा पहिला नयाँ राजाको राज्यारोहण गर्ने अनि मात्र स्वर्गीय राजाको दाहसंस्कार गर्ने अभ्यास थियो । यस पटक त्यसो गर्न सकिएन । यस्तो भएको पनि नेपालको इतिहासमा पहिलो पटक नै थियो । –विवेककुमार शाह, तत्कालिन सैनिक सचिव
अल्कोहलको मात्रा मृतक सबैको हेरिनुपर्दथ्यो । कालो पदार्थ भनिएको हुनाले युवराज दीपेन्द्रको हाइड्रोक्सी क्यानाबिनल समेत हेरिनुपर्दथ्यो । यस्तो घटनामा प्रयोग हुने ड्रग्सहरूको परीक्षण हुनुपर्दथ्यो –डा. हरिहर वस्ती, फरेन्सिक विज्ञ
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
प्रतिक्रिया 4