२० कात्तिक काठमाडौं । मासुजन्य पशुपालनका लागि साना किसान विकास बैंकले २ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
बैंकले प्रवाह गरेको उक्त ऋण परिचालन गरी साना किसानहरुले वाषिर्क ५ अर्ब ८६ करोड रुपैयाँ बराबरको मासु र दुध उत्पादन गरेको बैंकले जनाएको छ ।
वितेका ३ वर्षमा साना किसान सहकारीमार्फत ३८ हजार ३ सय ७३ परिवारलाई उक्त कर्जा प्रवाह गरिएको थियो । सो कर्जाबाट भैसी, बाख्रा, बुङ्गुर र पाडापाडी गरी करीब २ लाख पशु पालन गरेका छन ।
सरकारको सहयोगमा साना किसान विकास बैंकले सो कार्यक्रम सञ्चालन गरेको थियो ।
भारतबाट मासु र दुधको बढ्दो आयात रोक्ने र स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०६७/६८ मा सरकारले १ प्रतिशत ब्याजदरमा एक अर्ब रुपैयाँ बजेट छुट्टयाएको थियो ।
उक्त कार्यक्रम साना किसान बैंकले सञ्चालन गरेको थियो । पछि सरकारले आव २०६८/६९ र २०७०/७१ मा ५०/५० करोड रुपैयाँ थप गरेको थियो ।
यो वर्ष पनि सरकारले यो कार्यक्रमका लागि एक अर्ब रुपैयाँ छुट्टयाएको छ । जसमध्ये हालसम्म १५ करोड रुपैयाँ लगानी भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले जानकारी दिए ।
हाल ५५ जिल्लाका २ सय १४ ओटा सानाकिसान सहकारी संस्थामार्फत यो कार्यक्रम सञ्चालन भएको उनले बताए ।
प्रतिक्रिया 4