२१ कात्तिक, काठमाडौं । शुक्रबार अपरान्ह बस्ने भनिएको उच्च स्तरीय राजनीतिक समितिको बैठक अकस्मात् स्थगित भएको छ । कांग्रेस र एमालेले बैठकमा नबस्ने जानकारी दिएपछि संयन्त्रका संयोजक प्रचण्डले स्थगित गरेको स्रोतले जनाएको छ ।
‘उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ,’ एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने, ‘कांग्रेस र एमालेका नेताहरुले सहभागी नहुने भनेपछि बैठक स्थगित भएको हो ।’
एमाले अध्यक्ष केपी ओलीले संयन्त्रलाई असंवैधानिक भन्दै बैठकमा नजाने बताएका छन् । ‘अन्य संवैधानिक संयन्त्रहरु हुँदा हुँदै असंवैधानिक ठाउँमा नजाने उहाँको नीति हो,’ ओलीका स्वकीय सचिव रमेश आचार्यले भने, ‘एमाले आजको बैठकमा नजाने कुरा छ’ ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजक प्रचण्डको अध्यक्षतामा सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा शुक्रबार ४ बजे बैठक बस्ने बताइएको थियो । बालुवाटार बैठकमा दलहरुवीच सहमति नभएपछि एमाओवादीको प्रस्तावमा संयन्त्र बैठक बोलाइएको थियो ।
यसैबीच दलहरुबीच विश्वासको वातावरण बनाउन प्रचण्डले पहल थालेका छन् । प्रचण्ड र ओलीबीच शुक्रवार अपरान्ह एमाले संसदीय दलको कार्यालयमा भेटवार्ता हुने भएको छ ।
प्रतिक्रिया 4