२९ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सुशील कोइराला र केपी ओली नआएपछि आफू रोल्पातिर लाग्नुपरेको बताएका छन् ।
(भोलि) आइतबार काठमाडौं फर्किएपछि सातदिनसम्म सहमतिको प्रयास गर्ने तर, कांग्रेस र एमाले सहमतिमा नआए २२ दलले आफ्नो सरकार आफैं बनाउने प्रचण्डले घोषणा गरेका छन् ।
कैलालीको धनगढीमा शनिबार आयोजित २२ दलको सभालाई सम्बोधन गर्दै प्रचण्डले भने-‘उच्चस्तरीय समितिको बैठकमा बोलाउँदा सुशील र ओली दुबैले हुन्छ भनेका थिए, भोलिपल्ट त आउँदैनौं भने, त्यसपछि म रोल्पा नगएर कहाँ जाने ?’
प्रचण्डले थप आक्रोश पोख्दै भने- ‘के म सिंगापुर गएको हो ? म अमेरिका पनि गएको हैन, लण्डन गएर एक महिना बसेको पनि होइन, आफ्नै देशको रोल्पामा आउँदा काठमाडौंमा किन यत्रो कोकोहोलो ?’
कांग्रेस र एमालेले विगतका सहमति र अन्तरिम संविधानको भावना कुल्चेको आरोेप दोहोर्याउँदै गल्ती नसच्याइए २२ दलले आफ्नो सरकार आफैं बनाउने अधिकार प्राप्त हुने प्रचण्डले बताए । त्यसपछि भारत, चीन, अमेरिका, राष्ट्र संघ सबैले २२ दललाई समर्थन गर्नुपर्ने पुरानो भनाइ प्रचण्डले दोहोर्याए ।
सात प्रदेशको प्रस्ताव : गधाको टाउकोमा मान्छे !
कांग्रेस र एमालेले अघि सारेको सात प्रदेशको प्रस्तावलाई प्रचण्डले ‘गधाको टाउकोमा मान्छे लेखेर टाँसिएको’ भन्दै व्यंग्यसमेत गरे । ‘गधाको टाउकोमा मान्छे लेखेर टाँस्दैमा त्यो मान्छे हुँदैन,’ उनले भने- कांग्रेस एमालेको सात प्रदेशमा संघीयताको मर्म छैन ।’
भाषणको प्रारम्भमा प्रचण्डले १२ बुँदे समझदारी, शान्ति सम्झौता, मधेसी दल र जनजातिसँग भएका सम्झौताहरुको लामो पृष्ठभूमि कोट्याएका थिए । कांग्रेस र एमालेले ती सबै सहमति र सम्झौता कुल्चेको प्रचण्डको आरोप थियो ।
‘दोस्रो संविधानसभा बनेको १० महिनासम्म कांग्रेस एमालेका नेताहरु कहिले बैठकमा नआउने, १० महिना बिताउने, अनि अहिले आएर हाम्रो त यही हो भन्ने ?’ प्रचण्डले सत्तापक्षका नेतालाई प्रश्न गरे,’ कि गिरिजाले गरेको सम्झौता उनी मरेपछि मान्दैनौं ? भन्न खोजिएको हो ?’
गिरिजाले गरेको सम्झौता वा प्रचण्डको एजेन्डा भनेर नमान्ने हो भने कांग्रेस र एमाले राजतन्त्र, हिन्दु राष्ट्र र एकात्मक व्यवस्थामा र्फकने प्रचण्डले बताए । ‘कांग्रेस एमालेले समानुपातिक समावेशी छाडेर ०४८ सालको जस्तै धनीले जित्ने निर्वाचन प्रणाली अघि सारे, संवैधानिक अदालत हटाइयो, पहिले सहमति भइसकेको मिश्रति प्रणाली उल्टाएर वेष्ट मिनिस्टर प्रणाली अपनाइयो,’ सभामा प्रचण्डले भने-‘ यो बस गर्ने अधिकार कांग्रेस र एमालेलाई कसले दियो ।’
शनिबार अपरान्ह २२ अन्य नेताले बोलेपछि भाषण सुरु गरेका प्रचण्डले भने-‘विभिन्न बात लागेका कांग्रेसका नेताहरु खबरदार हिन्दु राष्ट्र चाहिन्छ भन्दै हिँड्न थालेका छन्, हिजोका सम्झौता तोड्नेहरु राजतन्त्रमा र्फकन चाहन्छन् । यिनीहरु हिजो हाम्रो टाउको काट्न चाहन्थे ।’
डा बाबुराम भट्टराईको बचाऊ गर्दै प्रचण्डले सक्ने भए भट्टराईलाई राजनीतिक सम्वाद तथा सहमति समितिबाट हटाएर अर्कोलाई सभापति बनाएर देखाउन मञ्चबाटै चुनौती दिएका छन् ।
सात दिनमा सहमति, नत्र…
एमाओवादी अध्यक्षले आइतबार काठमाडौं फर्केर सात दिनसम्म सहमतिको प्रयास गर्ने बताएका छन् ।
‘अझै सहमतिको सम्भावना सकिएको छैन, हामी भोलि काठमाडौं जाँदैछौं’ प्रचण्डले भने, रोल्पामा हुँदा प्रधानमन्त्री र सभामुखले छिटो आउनुपर्यो भनेर फोन गरेका थिए, सहमति हुन्छ भने म हेलिकोप्टर चढेर भए पनि आउँछु भन्ने जवाफ दिएको छु ।’
तर, सहमति भएन भने थारु, मधेसी, तमुवानलगायत २२ दलले आफ्नो सरकार आफैं घोषणा गर्ने योजना प्रचण्डले सुनाए । ‘अब सात दिन पर्खौं’ उनले भने- ‘मैले हतियार उठाउने कुरा गरेको छैन, कांग्रेस र एमालेले देशमा के.ही भएकै थिएन, युद्ध भएकै थिएन, आन्दालने भएकै थिएन भनेर पेलेर जान खोज्छन् भने ताली पड्काएका भरमा संघीयतालाई संस्थागत गरेर देखाइने छ ।’
कांग्रेस र एमाले सहमतिमा नआए आफूले देशैभरिका जनतालाई जनआन्दोलनका लागि जुरुक्क उठ्न आग्रह गर्ने उनले बताए ।
राजधानीदेखि कैलालीसम्म
प्रचण्डको नेतृत्वमा रहेको २२ दलीय मोर्चाले काठमाडौंको खुल्लामञ्चबाट शुरु गरेको विरोधसभा पाँचथर, जनकपुर र कैलाली हुँदै समाप्त भएको छ । यसक्रममा काठमाडौंमा न्यून उपस्थिति देखिए पनि अन्यत्रको उपस्थितिले २२ दलका नेताहरु उत्साही बनेका छन् ।
तस्वीरः पत्रकार गोविन्द रोस्याराको फेसबुक पेजबाट
प्रतिक्रिया 4