मात्रिका पौडेल
बालुवाटारको एउटा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच धेरैपटक कानेखुसी हुँदा कांग्रेस नेताहरुको ‘बडी ल्याङ्ग्वेज’ले भित्रभित्रै केही पाकेको जनाइसकेको थियो । यथार्थमा बालुवाटार बैठकअघि नै प्रचण्ड र अोलीलार्इ कसैले मिलाइसकेको सूचना कांग्रेस नेताहरूले पछिमात्रै पाए ।
- बायाँबाट क्रमशः बाबुराम भट्टरार्इ, रामेश्वर थापा, प्रचण्ड र केपी अोली
एक महिनाभित्रै संविधान जारी गर्ने गरी सहमति गर्न कांग्रेसले आनाकानी गर्न थालेपछि प्रचण्डले मुखै फोरेर भने-‘तपाईहरुले कुनै शंका नलिए हुन्छ, म सेरेमोनियल राष्ट्रपति हुन्न, ओलीजी र मेरोबीचमा कुनै गोप्य सहमति भएको छैन, सुशीलजी राष्ट्रपति बन्नुस् हाम्रो साथ रहनेछ ।’
त्यो बैठकमा सहभागी एमाले उपमहासचिव बिष्णु पौडेलले अनलाइनखबरसँगको एक भेटमा त्यसलाई पुष्टि गरे । उनले भने-‘कांग्रेसका कतिपय नेताहरुलाई एमाले र माओवादीले सुशीललाई हटाउने र राष्ट्रपति प्रधानमन्त्री सबै लैजाने भए कि भन्ने परेको रहेछ । प्रचण्ड कमरेडले म हुन्न, सुशीलजी अघि बढ्नुस् भनेपछि सहमति सम्भव भएको हो ।
कसले मिलायो केपी र प्रचण्डलाई ?
वैशाख १२ गते भूकम्पले धक्का दिनुअघिसम्म प्रचण्ड र ओली नदीका दुई किनाराजस्तै सम्बन्धमा थिए । आखिर भूकम्पले धक्काले नै यी दुई कटु सम्बन्धका नेतालाई कमरेडली अँगालोमा बाँधेको हो त ?
भूकम्प निहुँ मात्र थियो, ओली र प्रचण्डलाई एउटै किनारामा उतार्ने माझीहरु पहिलेदेखि नै सक्रिय थिए । प्रचण्डले आम हड्ताल फिर्ता लिनुअघि नै ओली र उनलाई एउटै सोफामा राख्ने प्रयास भइसकेको थियो ।
देश राजनीतिक मुठभेड र अनिश्चयतिर जान लागेपछि एमाले महासचिव ईश्वर पोखरेल र माओवादी महासचिव कृष्णवहादुर महराले आ-आफ्ना अध्यक्षलाई ‘वीन-वीन’को अवस्थामा ल्याउन पहल थालेका थिए ।
यसबीचमा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग हेलिकोप्टर तथा मिडिया व्यवसायी क्याप्टेन रामेश्वर थापाले ओली र प्रचण्डलाई मिलाउने उपाय सुझाए । त्यसका लागि माध्यम बन्न सिम्रिक एयरका मालिक तथा अन्नपूर्ण पोष्टका प्रकाशक थापा तत्पर भए ।
पाण्डेेेले महरासँग पटक पटक छलफल गरेर प्रचण्डलाई मनाए भने एमालेकै उपमहासचिव बिष्णु पौडेललाई ओलीलाई मनाउन सुझाए । राष्ट्रिय राजनीतिका खेलाडी पौडेलले यसअघि नै एमाओवादीका दोस्रो तहका नेताहरुसँग लगभग ८ प्रदेशमा सहमति जुटाइसकेका थिए ।

रामेश्वरको सक्रियता
रामेश्वर थापा एमाले अध्यक्ष ओलीका टेबुलटेनिस पार्टनर भएकाले उनले ओली र प्रचण्डलाई एउटै कोर्टमा ल्याउन एमाले र एमाओवादीका नेताहरुलाई उपयोग गरे । ‘पहिलोपटक प्रचण्ड र ओलीबीच कोटेश्वरस्थित थापाका नातेदार अर्जुन भण्डारीको घरमा खुलेर कुरा भयो’ एक एमाले नेताले भने ।
त्यसपछि पटक-पटक ओली र प्रचण्डले एक्लाएक्लै थापाको व्यवस्थापनमा भेट गरे । ओली र प्रचण्डको एकै खालको स्वभावका कारण पनि चाँडै उनीहरुबीच विश्वासको वातावरण बनेको अनुभव पौडेलले गरेका छन् ।
‘उहाँहरु दुबैजना आफ्नो अडानमा दृढ र सहमतिका लागि लचकताको पनि हदसम्म जाने स्वभावका भएकाले १६ बुँदे सहमति सम्भव भयो’ पौडेलले भने ‘उहाँहरुबीचको बुझाइमा एकरुपताले कांग्रेस र मधेसी दललाई समेत विश्वासमा लिन सकियो’ ।
प्रचण्ड र ओलीबीच सम्बन्ध समधूर हुनुअघि एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रचण्डलाई ओलीप्रति कन्भिन्स गराए । उनले ओलीलाई राष्ट्रय सहमतिको सरकारको प्रधानमन्त्री बनाउन प्रचण्डसँग वातावरण बनाए ।
‘ओलीसँग प्रचण्ड डराइरहेको अवस्थामा माधव नेपालले म जिम्मा लिन्छु, अब सुशीललाई बिदा गरेर ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भन्नुभएको हो’ नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने ।
प्रचण्ड र ओलीबीच पटक-पटक पौडेल र पाण्डेको पहल एवं थापाको व्यवस्थानमा छलफल भएपछि त्यसमा दुई पार्टीका नेताहरु पनि सहभागी हुन थाले । बाबुराम भट्टराई, वर्षमान पुन, झलनाथ खनाल, ईश्वर पोखरेल, माधव नेपाल लगायतका नेता पनि ती छलफलमा बस्न थाले ।
दुई दलबीच विश्वासको वातावरण बनेपछि थापाकै निवासमा बिजय गच्छदारसहितका छलफलहरु आयोजना भए । त्यसपछि मात्र गच्छदारसहितको बैठकले कांग्रेससँग छलफल गरेर मनाउने जिम्मा माधव नेपाललाई दिएको थियो ।
शुरुमा एमाले र एमाओवादीको सहमतिमा कांग्रेसको संस्थापन पक्षले बिमति राखेको थियो । तर, कांग्रेस तयार नभए अविश्वास प्रस्ताव ल्याएर कोइरालालाई हटाउनेसम्मको प्रक्रिया शुरु हुन लागेपछि सहमतिका लागि कांग्रेस दबाबमा परेको स्रोतले जनाएको छ ।
आफ्नो हेलिकोप्टरमा कांग्रेस, एमाले र एमाओवादीका नेताहरुलाई पालैपालो र संयुक्त रुपमा बिभिन्न ठाउँमा उडाएका क्याप्टेन थापाले दलका दोस्रो तहका नेतालाई हातमा लिएर शीर्ष नेतालाई दबाबमा पारे ।

‘यसअघि बालुवाटारमा सहमति हुँदा अमरेश सक्रिय हुन्थे, यसपटक रामेश्वर थापाको सक्रियता अर्थपूर्ण देखियो’ कोइरालाका एक सहयोगीले जेठ २५ गते राति नै केही संवाददाताहरुसँग भनेका थिए । थापाले चारै पक्षका नेताहरुको अनौपचारिक छलफलको थलो आफ्नो सालाको घरलाई बनाएका थिए ।
राष्ट्रिय राजनीतिमा नेताहरुलाई आपसमा मिलाउँदा एकातिर देशले संविधान पाउने र अर्कोतिर सबै नेताहरुसँगको समदूरीले व्यवसायिक फाइदा पनि लिने थापाको योजना यसपटक सफल पनि भयो ।
एमाले स्थायी कमिटी सदस्य पाण्डेले ओली र प्रचण्डलाई भेटाउनका लागि आफूहरुले एक व्यवसायीको साथ लिएको स्वीकारे । ‘उहाँको नाम मेरो मुखबाट किन बोलाउनुहुन्छ, तर हामीले नेताहरुलाई पहिलो पटक भेटाउन साथ लिएको हो’ पाण्डेले भने ।
यसअघि तीन दलका दोस्रो तहका नेताहरुले सहमतिको विन्दू पहिल्याइसकेकाले शीर्ष नेताहरु उनीहरुलाई क्रस गरेर अघि बढ्न नसकेको एमाओवादी संसदीय दलका उपनेता टोपवहादुर रायमाझीले बताए ।
प्रचण्ड ओली भरोसा
ओली र प्रचण्डको यो सम्बन्ध संविधान निर्माण, भूकम्पले तहस नहस पारेको मुलुकको पुननिर्माण, प्रादेशिक संरचनाहरुको गठन र स्थानीय निकाय निर्वाचनसम्मको लक्ष्य राखेर विकास भएको दावी निकटस्थहरुको छ
पछिल्लो समय प्रचण्डको बचाउमा ओली र ओलीको बचाउमा प्रचण्ड बोल्नेसम्मका दृष्यहरु दलहरुका बैठकमा देखिने गरेका छन् । बालुवाटारमा सुशील कोइरालाले बहुलवाद नराख्ने हो भने सही गर्दिन भन्दै उठेपछि ओली प्रचण्डको बचाउमा उभिएका थिए ।
उनले प्रचण्डले ३० दलीय गठबन्धन र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ठूलो जोखिम मोलेर सहमति गर्न खोजेको भन्दै सुशीलमाथि भाँड्न खोजेको आरोप समेत लगाएका थिए । प्रचण्डले पनि ओली नै अबको प्रधानमन्त्री भनेर बोल्न थालेका छन् ।
ओली र प्रचण्डको यो सम्बन्ध संविधान निर्माण, भूकम्पले तहस नहस पारेको मुलुकको पुननिर्माण, प्रादेशिक संरचनाहरुको गठन र स्थानीय निकाय निर्वाचनसम्मको लक्ष्य राखेर विकास भएको दावी निकटस्थहरुको छ ।
बिलम्ब गरे सरकार ढल्छ
यदि कांग्र्रेेसले बिभिन्न प्रक्रिया र शव्दमा संविधान मस्यौदाको प्रक्रिया लम्ब्याउने र सत्ता नछाड्ने ढंगले अघि बढेमा बीचमै सरकार ढल्न सक्ने कम्युनिष्ट नेताहरुको भनाइ छ ।
संविधान जारी गर्ने बेला कोइराला नेतृत्वको सरकारमा माओवादी र गच्छदार लगायत साना दल सहभागी नहुनुको कारण पनि त्यही हो ।
कांग्रेस महाधिवेशनका कारण कुनै न कुनै बहानामा सरकार लम्ब्याउनका लागि संविधानमा बिलम्ब हुने देखेरै एमाले र एमाओवादीले १६ बुँदे कार्यन्वयन र असार मसान्तभित्र संविधान जारी गर्ने कुरालाई बटमलाइन बनाएका छन् ।
राष्ट्रपतिको चलखेल
कोइराला दबाबमा परेर १६ बुँदेमा हस्ताक्षर गरेपछि शीतल निवास सक्रिय भएको एमाओवादीका एक नेताले बताए
पछिल्लो समय एमाले र एमाओवादीका नेताहरुबीच उनीहरुकै भाषामा राष्ट्रपतिको ‘अश्वभाविक र अनाबश्यक चलखेल’का बारेमा गम्भिर छलफल भइरहेको छ । राष्ट्रपतिले १६ बुँदे सहमतिको संवैधानिक हैसियतबारे आफ्नै सल्लाहकारहरुसँग पनि सोधपुछ गरेपछि यी दुई बामपन्थी झस्किएका हुन् ।
राष्ट्रपतिले साना दलका नेताहरुसँग पनि संविधान निर्माण आफ्नो पनि क्षेत्राधिकारको विषय हो भनेका थिए । यसप्रति एमाले र एमाओवादी नेताहरु असन्तुष्ट बन्दै राष्ट्रपतिले आफ्नो कार्यकाल लम्ब्याउन सहमतिप्रति शंका व्यक्त गरेको आरोप लगाएका छन् ।
एमाले स्थायी कमिटी शंकर पोखरेलले ट्विटरबाटै भने-‘सदैव संविधान निर्माणका पक्षमा पैरवी गर्नुहुने राष्ट्रपतिज्यू १६ बुँदेको विपक्षमा सक्रिय भएको चर्चा सुनिन थाले । तर, ती सबै चर्चा मिथ्या भइदिउन् ।
राष्ट्रपतिले यसअघि कांग्रेस महाधिवेशनका कारण संविधान निर्माण पछि सर्छ भन्ने सोचे पनि कोइराला दबाबमा परेर १६ बुँदेमा हस्ताक्षर गरेपछि शीतल निवास सक्रिय भएको एमाओवादीका एक नेताले टिप्पणी गरे ।
प्रतिक्रिया 4