+
+

दिल्लीमा नेपालको झण्डा जलेको देखेपछि….

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते १८:५६

२२ असोज, काठमाडौं । चार वर्षअघि सीए पढ्न दिल्ली पुगेका थिए जुम्लाका युवा ज्ञानेन्द्र शाही । नेपालमा संविधान निर्माणपछि दिल्लीमा भोगेको नमीठो अनुभूतिले धकेलेर उनलाई काठमाडौं ल्याइदिएको छ ।

gyanendra-Shahi
ज्ञानेन्द्र शाही

दिल्लीमा बस्दा सुरुदेखि उनका केही मधेसी साथीहरु थिए । एउटै थालमा खाने र एउटै ओछ्यानमा सुत्ने साथीहरु जब नेपालको झण्डा जलाउनतिर लागे, त्यसपछि उनीहरुको बाटो फरक भयो ।

‘हामी एउटा फ्ल्याटमा ११-१२ जना बस्थ्यौं,’ शाही भन्छन्, ‘तीमध्ये ४ जना मधेसी मूलका साथी थिए । तर, यतिका वर्षसम्म उनीहरु मधेसी हुन् र हामी पहाडी हौं भन्ने भावना कहिल्यै उत्पन्न भएन ।’

एकाएक के भयो त ? उनका मधेसी साथीहरुसित पहिल्यैदेखि राजनीतिक विषयमा गरमागरम बहस भइरहन्थ्यो । सुरुमा राष्ट्रवादी देखिने साथीहरु केही समयदेखि सिके राउतबाट प्रभावित जस्तो देखिन थाले । सिके राउतको प्रभावसँगै उनीहरु राष्ट्रियताबाट विचलित हुन थालेको शाहीले अनुभूति गरे ।

संविधान घोषणा अघिसम्म उनीहरु बहसमै सीमित थिए । संविधान घोषणाको दिन दिपावली गर्दा पनि उनीहरु सँगै थिए ।

‘दीपावली गर्ने क्रममा नै एकजना मधेसी मित्रलाई कतैबाट फोन आयो, त्यसपछि उनीहरु चारैजना बिच्किए,’ शाहीले सुनाए ।

त्यस दिनदेखि मधेसी र पहाडी मूलका साथीहरुबीच क्यान्टिनदेखि लाइब्रेरीसम्म चर्काचर्की हुन थाल्यो । चर्काचर्कीले कहिले झगडाकै रुप समेत लिन्थ्यो ।

उनीहरु एकोहोरो रुपमा संविधानले मधेसीलाई विभेद गर्‍यो भन्थे । तर, संविधानको कुन धाराले कसरी विभेद गर्‍यो देखाउ भन्दा निरुत्तर हुन्थे ।

शाहीका अनुसार जब मधेसीका मागहरुलाई लिएर भारतले नाकाबन्दी गर्‍यो, उनका साथीहरु उग्र भारतवादी भएर निस्के । उनीहरुले आफ्नो फेसबुकको कभर फोटोमा भारतको झण्डा राख्न थाले ।

‘जब उनीहरुले आफ्नो फेसबुकमा भारतीय झण्डा राखेको देख्यौं,’ उनले भने, ‘त्यसपछि सँगै बस्न सक्ने अवस्था रहेन ।’

ज्ञानेन्द्रकै साथीहरुसहितको एउटा समुहले दिल्लीस्थित नेपाली दूतावास अगाडि नेपालको झण्डा जलायो । उनीहरुले झण्डा जलाउँदा भारतीय प्रहरी रमिते बनेर बसे । जबकि त्यतिबेला नेपालमा आफ्नो देशको झण्डा जलाइएको भन्दै भारतीय राजदूत रञ्जित रायले तीव्र आक्रोश पोखिरहेका थिए ।

पछिल्ला दिनहरुमा मधेसी मित्रहरु मात्रै होइन, भारतीयहरुले पनि आफूहरुलाई हेर्ने नजर बदलिएको शाही बताउँछन् । ‘हामीकहाँ बस्छौ, हाम्रै खान्छौ, अनि चीनको गुणगान गाउँछौ भन्दै हामीलाई खोइरो खन्छन्,’ शाहीले भने, ‘नेपालमा पनि उनीहरुका कति नागरिक छन् भन्ने तथ्यचाहिँ भुल्छन् ।’

‘केही भारतीयहरुबीच नेपालको संविधान नै चीनले बनाइदिएको भन्ने किसिमको भ्रम छ । नेपालका मधेसी मूलका नागरिकको सबै अधिकार संविधानले खोसेको छ भन्ने प्रचार गरिएको छ । भारतमा नेपालविरुद्ध गतिविधि गर्नेहरुलाई राम्रै खर्चपानीसमेत उपलब्ध गराइएको चर्चा छ,’ शाही भन्छन् ।

राष्ट्रका लागि एक दिन अभियान

शाही सहितका नेपाली विद्यार्थीहरुको समुह अहिले राष्ट्रवादी अभियानमा जुटिरहेको छ । ‘हामी केवल खोक्रो राष्ट्रवाद बोकेर हिँडिरहेका छौं,’ शाही भन्छन्, ‘राष्ट्रवादलाई व्यवहारमै उतार्ने हाम्रो अभियान हो ।’

यो अभियानअन्तरगत पहिलो चरणमा विदेशी लुगा परित्याग गरेर नेपाली लुगामात्रै लगाउने उनीहरुको योजना छ । जे-जति वस्तुहरु नेपालमै उत्पादन भएका छन्, गुणस्तरमा ध्यान नदिई नेपाली नै प्रयोग गर्ने र नेपालमा उत्पादन नभएका वस्तुहरुको उत्पादनका लागि प्रोत्साहित गर्न यो अवधारणा ल्याइएको शाहीले बताए ।

आगामी ५ मंसिरमा उनले समुहले राजधानीमा ‘राष्ट्रका लागि एक दिन’ अभियानको मुहुर्त गर्दैछ । हरेक व्यक्तिले वर्षको एक दिन सामाजिक कामका लागि छुटयाउनुपर्छ भन्ने सोतले यो अभियान सुरु गरिएको शाही बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?