सञ्जीव झा
नयाँ संविधान प्राप्तिका लागि नेपाली जनताले लामो संघर्ष र बलिदान गरे । संविधानसभाले झण्डै एक दशक लामो प्रयासपछि जसोतसो नयाँ संविधान त हात लाग्यो तर, सबैको चित्तबुझ्दो भने भएन ।
जसका कारण असन्तुष्ट पक्षको आवाज आज पनि उत्तिकै उठिरहेको छ । सबै भन्दा बढी असन्तुष्टि जनाउँदै मधेसी दलहरु लामो समयदेखि हड्तालमा उत्रिएका छन् । नयाँ संविधानमा मधेसको माग सम्बोधन नभएको भन्दै मधेसी दलहरु आन्दोलनमा होमिएको अवस्थामा छिमेकी मुलुक भारतले समेत अप्रत्यक्ष समर्थन जनाउँदै नेपालमाथि दबाब बढाउँदै गएको छ । जसको पछिल्लो उदाहरण भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी हो ।
मधेसी दलले लामो समयदेखि गरेको आन्दोलनका कारण मुलुकले यति बेला ठूलो संकटको सामना गरिरहेको छ ।
पेट्रोलियम पदार्थमा भएको अभावका कारण नेपालीहरुको महान चाड बडा दशैँ खल्लो बनेको छ । यस्तो अवस्थामा, मुलुकमा नयाँ सरकार गठनले समेत जनताको समस्या समाधानमा वेवास्ता गरिएको छ ।
राष्ट्रियता र स्वाधिनताको आवाज मुलुक भित्र चर्को रुपमा उठेपनि बाहृय हस्तक्षेप अझ बढ्दै गएको देखिन्छ । मधेसमा जारी आन्दोलनलाई मुख्य बहाना बनाएर गरिएको नाकाबन्दीले नेपालीको चुल्हो बल्न छाडिसकेको छ । तर, मधेसी दलहरुले यसलाई बार्गेनिङको माध्यम बनाउँदै जनतालाई सास्ती दिन छाडेका छैनन् । जनताको मर्कालाई उनीहरुले बुझ्न सकेका छैन । आˆनो अधिकारका लागि लड्दा अरुको अधिकार हनन् हुन्छ र त्यसो गर्नु हुँदैन भन्ने भावना कसैमा जागृत भएको पाइँदैन ।
मधेसका जनताले अधिकारका लागि यति लामो समयदेखि आन्दोलन चर्काइ रहँदा स्वयं मधेसका जनता पनि यो पीडाबाट पिल्सिरहेका छन् ।
भारतले अघोषित नाकाबन्दी गरेको भन्ने गरिएपनि मधेसी नेताहरु स्वयंले यो नाकाबन्दी आफुहरुले गरेको दावी पनि गर्दै आएका छन् ।
मधेसी नेताहरुसँगको मैले गरेको साक्षात्कारमा उनीहरुले यस्तो दावी गरेका हुन् । तर, आफ्नो स्वार्थका लागि मुलुकलाई नै दुःख दिने उनीहरुको नियत त्यति राम्रो देखिँदैन । किन भने उनीहरु पनि नेपाली नै हुन् ।
मधेस आन्दोलनका क्रममा कयौँ सर्वसाधारणका साथै सुरक्षाकर्मीको समेत ज्यान गयो । यसको जिम्मेवारी कस्ले लिने ? यो प्रश्न अझै नाजवाफ छ ।
यस्तै, केही नेताहरुले हिजोका दिनमा भएको थिचोमिचो विरुद्ध आवाज उठे पनि यसलाई वार्ता र छलफलको माध्यमबाट पुरा गर्न सकिने बताएका छन् । त्यसो हो भने मेरो गोरुको बाह्रै टक्का गर्न नहुने देखिन्छ । यो विषयमा सरकार र नेतृत्वमा रहेका जिम्मेवार पक्षले गम्भीर रुपमा सोच्नु पर्ने हुन्छ । त्यसो भएमा मुलुकले निकास पाउने निश्चित छ ।
अर्को तर्फ, नेपालले संविधानसभामार्फत नयाँ संविधान निर्माणका लागि झण्डै एक दशक समय लगायो । यति लामो समय खर्चेर जारी गरिएको संविधान नेपालीका लागि ठूलो उपलब्धि हो । तर, सबै पक्ष र वर्गको चित्त नबुझ्नु ठूलो समस्या पनि होइन । संविधानमा नै यो संशोधनीय दस्तावेज भएकाले यसलाई समयसापेक्ष परिवर्तन गर्दै लैजान सकिने प्रावधान भएकाले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै नयाँ बाटोमा हिड्न सक्नु पर्ने थियो । तर, बच्चा जन्मने बित्तिकै भविष्यमा यो बनाउँछु, उ बनाउँछु अथवा भविष्यमा यो बन्छ वा उ भन्छ भनेर जन्मदै विवाद गर्नु भन्दा त्यसलाई कसरी हुर्काउने, बढाउने र कसरी राम्रो बनाउने भन्ने विषयमा सहमतिका साथ अगाडि बढ्यो भने नै भोलिको दिन पनि राम्रो होला । अहिले जन्मने बित्तिकै शिशुको रुपमा रहेको संविधानको घाँटी थिच्ने काम नगरी सबै पक्ष र वर्गले मिलेर संविधानले प्रदान गरेका व्यवस्थाहरुलाई कडाइका साथ लागू गर्न तर्फ ध्यान दिन आवश्यक छ ।
पछिल्लो समयमा नेपालमा भएको आन्दोलन आफ्नो घरमा आगो लगाएर उज्यालो बनाउने काम भइरहेको छ । हामीले घरमा द्वीप बालेर देशलाई उज्यालो बनाउनुपर्छ ।
म यो जात, यो धर्म, यो समुदाय, यो प्रदेशको मान्छे हुँ भन्दा पनि, पहिले म नेपाली हुँ र नेपालको समृद्धिका लागि लड्न तयार छु भन्ने भावनाको विकास गरे, भोलिको नेपाल समृद्ध र विकासित हुनेमा कुनै दुई मत नहोला । जय नेपाल, जय देश ।
(झा सामाजिक अभियन्ता हुन्)
प्रतिक्रिया 4